Logo
१५ चैत्र २०८०, बिहीबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कञ्चनपुरमा ११ करोड बढीको केरा खेतीमा क्षति

कञ्चनपुर : कञ्चनपुरमा चार दिनअघि आएको हावाहुरीका कारण रु ११ करोड बढीको केरा खेतीमा क्षति भएको छ । सबैभन्दा बढी कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गुलरीमा केरा खेती गरेका किसानले हावाहुरीका कारण क्षति व्यहोर्नु परेको छ । केराको फल लागेको र फल लाग्न तयार भएका विरुवामा नस्ट भएका छन् ।

केरा खेतीमा संलग्न किसान सुरेन्द्र चौधरीले २१ विघा खेतमा लगाएको ९० प्रतिशत केराका बोट ढलेको बताए । खेतमा रोपेका २४ हजार केराका बोट ढलेका छन् उनले भने, ‘केराका बोट ढलेपछि रु ८४ लाख बढीको क्षति पुगेको छ ।’ टिस्यूकल्चर प्रविधिबाट तयार गरिएको केराको नर्शरीमा समेत क्षति पुगेको उनको भनाइ छ । कृष्णपुर नगरपालिका २ वाणिका कालिका कृषि समूहका अध्यक्ष इश्वर थापाले तीन विघामा लगाईएको केरामा हावाहुरीले क्षति पुर्‍याउँदा रु ३६ लाखको घाटा व्यहोर्नु परेको बताए ।

समूहको जम्मा गरेको पैसा र बैंकबाट ऋण लिएर केराखेती गरेका थियौँ उनले भने, ‘हावाहुरीले सबै सखाप पार्‍यो । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाको तीलकेनी, बेदकोटको बैतडा, कुष्णपुरको गुलरीयाका किसानको केरा खेतीमा क्षति पुगेको हो । जिल्लाको ५०० हेक्टर क्षेत्रफलमा लगाइएको केरामा मध्ये ९५ प्रतिशत बढीमा क्षति पुगेको छ ।

केरा खेतीसँगै हावाहुरीका कारण आँप, लिची, वसन्ते तरकारी खेती, सूर्यमुखीमा समेत करोडौँको क्षति भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख गोकुल बोहराले बताए । उनका अनुसार कैलाली र कञ्चनपुरमा गरी तरकारी खेतीका लागि बनाइएका प्लाष्टिकका तीन सय टनेलमा समेत हावाहुरीले क्षति गरेको छ । केरा खेतीसम्बन्धी कार्य गर्दै आएको संस्था इलम हेल्भीटासका टेक बहादुर सिंहका अनुसार कैलाली र कञ्चनपुरमा गरी तीन सय विघा खेतमा लगाइएको केरा खेतीमा नोक्सानी भएको छ। जस बाट  २१ करोड बढीको नोक्सानी भएको छ ।

केरा खेती गर्ने ७५ प्रतिशत किसानले लागत मूल्यका आधारमा बाली बीमा गराएका भए पनि बाली लागेको र लाग्नै लागेको केरामा क्षति भएकाले किसानले लागत खर्चको आधारमा मात्रै बीमा दावी गर्न सक्छन् उनले भने, ‘केरा हुर्काउन लागेको खर्च र बजारमा लगेर बेच्ने खर्च भने नपाउने हुँदा निकै घाटा व्यहोर्नु परेको छ ।

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्