Logo
६ बैशाख २०८१, बिहीबार
(June 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज र भोलि कोरियन भाषा परीक्षा : ९२ हजार परिक्षार्थी सहभागी हुँदै, काठमाडौं र पोखरामा केन्द्र

काठमाडौं : नेपाल र दक्षिण कोरिया सरकारबीच भएको सम्झौता अनुसार रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरियाका लागि आज र भोलि भाषा परीक्षा हुने भएको छ। परीक्षार्थीले काठमाडौं र पोखराबाट भाषा परीक्षा दिने छन्।

भाषा परीक्षाका लागि यसपटक ९२ हजार ३ सय ५६ युवाले फर्म भरेका थिए। यो संख्या २००८ पछिकै सबैभन्दा बढी परिक्षार्थीको आवेदन हो। चैत ८ देखि दश दिनसम्म खुलेको आवदेनमा युवाहरूले अनलाइन प्रणालीबाट फर्म भरेका थिए।

आगामी वर्ष अर्थात् सन् २०२० का लागि सञ्चालन भएको परीक्षाबाट कोरियाले १० हजार ५० युवालाई छनोट गर्नेछ। यस मध्ये उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० छानिने छन् भने कृषि क्षेत्रमा ३ हजार युवाको नाम प्रकाशित हुनेछ।

दुई दिनका लागि तोकिएको परीक्षा दुई सिफ्टमा हुनेछ। पहिलो सिफ्टको परीक्षा १० बजे हुनेछ। दोश्रो सिफ्टको लागि दिउँसो १ः३० बजेको समय निर्धारण गरिएको छ।

परीक्षार्थीलाई एक घण्टा अभिमुखीकरण तालिम दिने भएकाले इपिएस कार्यालयले निर्धारित समय भन्दा दुई घण्टा अघि नै परीक्षा केन्द्रमा प्रवेश गर्न आह्वान गरेको छ।

परीक्षार्थीका लागि २८ केन्द्र काठमाडौंमा तोकिएको छ भने ४ केन्द्र पोखरा तोकिएको छ। आर्थिक कमाइको उत्कृष्ट गन्तव्य रहेको कोरियामा ५५ हजार बढी नेपाली युवाहरू रोजगारीमा रहेका छन्।

दुई देशका सरकार बीच सम्झौता भई सरकारी तबरमा २००८ देखि नेपालले दक्षिण कोरियामा कामदार पठाउँदै आएको छ। परीक्षाको नतिजा असार १३ मा प्रकाशित हुनेछ।

प्रकाशित मिति: Jun 8, 2019

प्रतिक्रिया दिनुहोस्