Logo
१२ श्रावण २०८१, शनिबार
(June 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अटेरी गरे अवहेलना मुद्दामा कारबाही गर्ने अख्तियार सचिवलाई सर्वोच्चको अदालतको चेतावनी

पुर्वमन्त्री गोविन्दराज जोशीका साला ताराराज पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने सक्कल निर्णय उपलब्ध नगराएपछि सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवलाई अदालतको अवहेलना मुद्दामा कारबाही गर्ने चेतावनी दिएको छ ।

बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सपनाप्रधान मल्लको संयुक्त इजलाशले मुद्दा चलाउने निर्णय गरेको सक्कल फाइलसहित उपस्थित हुन निर्देशन दिएको हो ।

आयोगले २०६० वैशाख २५ गते पाण्डेविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाउने गरेको निर्णय पटक पटक उपलब्ध गराउन निर्देशन दिए पनि नभेटिएको र भेटिएपछि उपलब्ध गराउने जवाफ दिएपछि सर्वोच्चले १५ दिनभित्र आफैं उपस्थित भएर कारण पेश गर्न अख्तियारका सचिवलाई आदेश दिएको हो ।

सर्वोच्चले अब पनि आदेश बमोजिम सक्कल फाइल पेश नगरे न्याय प्रशासन ऐन २०७३ को दफा १७ र ३४ अनुसार अदालतको अवहेलना मुद्दा चलाउने चेतावनी दिएको हो ।

अदालते अवहेलना गरेको दोषी ठहर गरेमा प्रत्येक पटकको लागि एकदेखि दशहजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । आदेशमा सर्वोच्चले न्याय सम्पादनमा आयोग आफैंले असहयोग गरेको ठहर गरको छ ।

आयोगले पूर्वमन्त्री जोशीसहित उनका शाला पाण्डेविरुद्ध पनि मुद्दा चलाउने निर्णय गरेको थियो । आयोगले जोशीविरुद्ध २८ माघ ०६० मा विशेष अदालतमा ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित १३ वर्ष कैद सजाय र जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो ।

घट्नाक्रम :   

विशेष अदालतले ०६३ कात्तिक ३० मा तत्कालीन विशेष अदालतका न्यायाधीशहरू भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले अख्तियारले म्याद गुजारेर आएको भन्दै मुद्दाको विषयवस्तुमा प्रवेश गर्दै नगरीसफाइ दिएको थियो ।

विशेष अदालतको आदेशविरुद्ध अख्तियारले सर्वोच्चमा रिट हाल्यो । भ्रष्टाचार मुद्दामा हदम्याद नलाग्ने आदेश सर्वोच्चबाट भएपछि विशेष आदालतमा जोशीविरुद्ध मुद्दा चल्यो ।

विशेषले ०६६ साउन १० मा विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले जोशीलाई भ्रष्टाचारी ठहर गरेको थियो ।

जोशीसँग २ करोड १६ लाख मात्रै स्रोत नपुगेको भन्दै बिगोसहित असुल गर्न र १ वर्ष ६ महिना मात्र कैद सजाय सुनायो ।

विशेष अदालतको फैसलाविरुद्ध जोशी सर्वोच्च गए पनि अहिलेसम्म मुद्दाको फैसला हुन सकेको छैन । नौ वर्षको अवधिमा जोशीको मुद्दा ४४ पटक पेशी चढे पनि सुनुवाइ भएको छैन ।

प्रकाशित मिति: Jun 6, 2019

प्रतिक्रिया दिनुहोस्