Logo
१२ श्रावण २०८१, शनिबार
(June 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिनाथको सम्पती : ९ किलो सुन, ३१६ किलो चाँँदी, १ अर्व ३० करोड नगद र १८ हजार रोपनी जग्गा

काठमाडौं : पशुपतिनाथ मन्दिरमा नौं किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको विवरण प्राप्त भएको छ। इतिहासमै पहिलोपटक पशुपतिनाथ मन्दिरको नाममा रहेको चल-अचल सम्पत्तीको विवरण बुधबार सार्वजनिक गरिएको हो ।

सरकारले गठन गरेको पशुपतिनाथको सम्पत्ती संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दश महिना लामो अध्ययनपछि प्रतिवेदन सार्वजनिक गरेको हो ।

तर, यो प्रतिवेदनमा मन्दिरको मुल ढुकुटीमा रहेको सुन, चाँदी तथा जवाहरतको पूर्ण विवरण छैन । सर्वोच्च अदालतले मुल ढुकुटी खोल्न रोक लगाएकाले अध्ययन समितिले २०१९ सालदेखि ७५ सालसम्म अभिलेखित विवरणलाई नै आधार बनाएको छ ।

प्रतिवेदनअनुसार हिन्दु धर्मालम्बीहरुको आस्थाको मुख्य धरोहरमा पर्ने पशुपति मन्दिरसँग ९ किलो सुन तथा ३१६ किलो चाँँदी तथा एक अर्व ३० करोड नगद एवं करिब १८ हजार रोपनी जमिन छ ।

पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवम् छानबिन समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा सो परिमाणको सुन जम्मा भएको उल्लेख गरिएको हो।

त्यसैगरी ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी पनि पशुपतिनाथ मन्दिरमा रहेको पाइएको छानविन समितिका संयोजक डा. मिलनकुमार थापाले जानकारी दिए। समितिका अनुसार सो विवरण विक्रम संवत २०१९ सालदेखि २०७५ सालसम्मको हो।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष समेत रहेका थापाले विक्रम संवत २०१९ सालभन्दा अघिको विवरण भने प्राप्त हुन नसकेको पनि स्पष्ट पारे।

पशुपतिनाथ मन्दिरमा हालसम्म १ अरव २९ करोड ३८ लाख ३१ हजार नगद जम्मा गरिएको छ। छानविन समितिका अनुसार त्यसमध्ये एक अरवको अक्षय कोष स्थापना गरी सामाजिक सेवाको क्षेत्र तथा विपद् व्यवस्थापनमा खर्च गर्ने गरिएको छ।

समितिका संयोजक थापाले हाल मन्दिरको दर्ता प्रमाणित भएका जग्गा ३ हजार ६ सय ६७ रोपनी ४ आना ३ पैसा रहेको पनि जानकारी दिए।

प्रतिवेदनमा पशुपतिनाथ मन्दिरको दर्ता प्रमाणित हुन बाँकि रहेका जग्गा २ सय ३१ रोपनी १० आना १ दाम रहेको पनि सो छानवीन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: Jun 5, 2019

प्रतिक्रिया दिनुहोस्