Logo
१२ श्रावण २०८१, शनिबार
(June 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्रवारको रेकर्ड तोड्दै अदालतको आदेशपछि सलमानको ‘भारत’ आजदेखि नै नेपालमा पनि रिलिज

काठमाडौं : जिल्ला अदालत काठमाडौंले बुधबार नै नेपालमा रिलिज गर्न दिन अन्तरिम आदेश जारी गरेपछि सलमान खानको फिल्म ‘भारत’ आजदेखि नै नेपालमा रिलिज भएको छ ।

नेपालमा विभिन्न संघसंस्थाको सहमतिमा शुक्रबार मात्रै फिल्म रिलिज गर्ने सहमति भएकोमा अदालतको यस्तो आदेशपछि फिल्म रिलिज गर्ने दिनका विषयमा फेरी विवाद बढेको छ ।

विदेशी तथा नेपाली सबै फिल्म सहमतिमा शुक्रबार रिलिज हुँदै आएका थिए तर अदालतको पछिल्लो आदेशले विदेशी फिल्म जुनसुकै बार रिलिज गर्न पाउने बाटो खुला भएको हो ।

शुक्रबार मात्र फिल्म रिलिज गर्न दिने बोर्डको निर्णयविरुद्ध जिल्ला अदालतमा वितरण कम्पनी ब्यांकटेस् इन्टरटेनमेन्टका तर्फबाट मनोज राठीको रिटमाथि सुनुवाई गर्दै अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्नसमेत चलचित्र विकास बोर्डलाई सचेत गराएको छ ।

यसअघि हिन्दी फिल्म ‘कलंक’ पनि बुधबार नै रिलिज गर्न खोज्दा विकास बोर्डको पहलमा शुक्रबार मात्रै रिलिज गर्न दिइएको थियो ।अदालतको आदेशपछि सलमान खान स्टारर हिन्दी फिल्म ‘भारत’ बुधबारदेखि अर्थात आजदेखि नेपालमा पनि रिलिज भएको छ ।

यसको असर रिलिज भएका नेपाली फिल्ममा पर्नेछ । नेपाली फिल्म ‘जात्रै जात्रा’ र ‘कुम्भ करण’का शोहरू मल्टिप्लेक्सबाट कटौती हुने देखिएको छ ।

यसैबीच चलचित्र निर्माता संघले विज्ञप्ति जारी गर्दै वितरकले जुनसुकै बार विदेशी चलचित्र रिलिज गर्न दिएको आदेशप्रति असन्तुष्टि जनाएको छ ।

संघका महासचिव रोज राणाले जारी गरेको विज्ञप्तिमा नेपालका चारवटा ठूला चाडपर्व (दसैं, तिहार, तीज र नयाँ वर्ष)का निश्चित बिदाका दिनबाहेक अन्य मितिमा अनिवार्य रूपमा शुक्रबार मात्र फिल्म प्रदर्शन गरिनुपर्ने नियम र पद्धति रहेकोमा शुक्रबारअगावै विदेशी फिल्म प्रदर्शन हुन लागेकोमा यस विषयमा संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

विदेशी फिल्म फिक्समा ल्याएर नेपालमा जुनसुकै दिन रिलिज गर्न पाउनुपर्ने वितरक र हलवालाको तर्क छ । विदेशी फिल्म रिलिजबारेमा स्पष्ट नीति नहुदा यस्तो समस्या आएको फिल्म निर्माताहरुले बताएका छन् ।

प्रदर्शन र वितरणको विषयमा चलचित्र संघ र निर्माता संघको सम्झौताअनुसार अघि बढ्दै आएको भएपनि त्यो सम्झौतापत्रमा पनि विदेशी फिल्मको विषयमा भने पटक पटक उलंघन हुदै आएको छ ।

प्रकाशित मिति: Jun 5, 2019

प्रतिक्रिया दिनुहोस्