Logo
१२ श्रावण २०८१, शनिबार
(June 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवको आक्रमण प्रयासपछि गृहमन्त्री र सुरक्षा प्रमुखको आकस्मिक भेला, आर्मी सहित थप जनशक्ति पठाइने

काठमाडौँ : प्रदेश १ स्थित सोलुखुम्बुको महाकुलुङमा रहेको प्रहरी चौकीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले आक्रमणको प्रयास गरेपछि सोमबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । आइतबार राती महाकुलुङ–३ छेस्काममा रहेको प्रहरी चौकीमा २५/३० जनाको समूहमा गएको विप्लव समूहले आक्रमण गर्ने योजना बनाएपनि त्यहाँ प्रहरीलाई नभेटेको बताइएको छ।

विप्लव समूहले आक्रमणको योजनाबारे थाहा पाएपछि प्रहरी चौकीमा रहेका सात जनाको प्रहरी टोली हतियारसहित सुरक्षित स्थानतर्फ लागेको थियो।  स्रोतका अनुसार जनयुद्धमा जसरी प्रहरी चौकीमा विप्लव समूहले आक्रमणको प्रयास गरेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

केन्द्र र प्रदेशबाट प्रहरी टोली त्यहाँ पठाइएको छ। आर्मीको टोली हेलिकप्टरसहित त्यस क्षेत्रमा गएको बताइए पनि नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पान्डेले ठाडै अस्विकार गरे। गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल, शसस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारीलगायतको उपस्थिति थियो।

यद्यपी, गृह प्रवक्ता रामकृष्ण सुवेदीले बैठक नियमित भएको र सुरक्षाको समसामयिक विषयमा सुरक्षा प्रमुखले गृहमन्त्रीलाई रिपोर्टिङ गरेको जानकारी दिए। ‘सोलुखुम्बुमा प्रहरी चौकीमा विप्वल समूहले आक्रमणको प्रयास गर्न खोजेकोबारे प्रहरी प्रवक्तासँग बुझ्नुहोला। हामीलाई सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीले थप सुरक्षा जनशक्ति माग गर्नु भएको छ।’

‘सेना परिचालन भएको छैन’, उनले भने। यता नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले आक्रमणबारे कुनै सूचना प्राप्त नभएको बताए। ‘यदी आक्रमण भएको हुन्थ्यो भने हाम्रा प्रहरी नियन्त्रणमा हुन्थे वा हतियार खोसिन्थ्यो होला। तर त्यस्तो केही भएको छैन। यो सबै हल्लामात्र हो’, डीआईजी पोखरेलले भने।

भोजपुरमा दुई साताअघि प्रहरी कारबाहीमा आफ्ना एक कार्यकर्ता मारिएपछि विप्लव समूहले सरकारलाई त्यसको कडा जवाफ दिने बताएको थियो। कार्यकर्ता मारिएको विरोधमा नेपाल बन्दको आह्वान गरेको विप्लव समूहले त्यसको अघिल्लो दिन राजधानीका विभिन्न स्थानमा विस्फोटको प्रयास गरेको थियो।

विस्फोटन गराउने योजनाकै क्रममा विस्फोट भएपछि विप्लवका चार कार्यकर्ताको मृत्यु भएको थियो। तीमध्ये एक जना सैन्य कमान्डर पनि रहेको विप्लवले घटनापछि जारी गरेको विज्ञप्तीमार्फत स्विकार गरेको थियो।

प्रकाशित मिति: Jun 3, 2019

प्रतिक्रिया दिनुहोस्