Logo
७ बैशाख २०८१, शुक्रबार
(June 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हटाइयो कोइराला निवासबाट सुरक्षाकर्मी : ‘संग्रहालय मनाउने थियो गिरिजाप्रसादको इच्छा’

हाल प्रदेश १ को राजधानी विराटनगरस्थित कोइराला निवासमा २१ वर्षदेखि सुरक्षार्थ खटिएको प्रहरीको टोली फर्किएको छ। महानगरपालिका वडा नम्बर ७ स्थित कोइराला निवास पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, तथा गिरीजाप्रसाद कोइरालाको निवासमा सुरक्षाकर्मीको टोली सुरक्षार्थ खटिदै आएको थियो। बिना जानकारी सुरक्षाकर्मीलाई निवासबाट हटाइएपछि कोइराला परिवारले निवास असुरक्षित हुने महसुस गरेको छ।

डा. शेखर कोइरालाको पक्षमा रहेको घरको सुरक्षाका लागि खटिएको सुरक्षाकर्मीको टोली एकाएक हटेपछि थप असुरक्षित बनेको कोइरालाका स्वकीयसचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए। थपलियाका अनुसार गत मंगलबार १४ गते सुरक्षाकर्मी टोलीले फिर्ता पत्र आएको जानकारी गराउदैं बिदा लिएका थिए।यस विषयमा निवासले गृह मन्त्रालयसमक्ष समेत जानकारी गराइसकेको छ।

मन्त्रालयले यसविषयमा चासो लिएको भए पनि हालसम्म सम्बोधन गर्न नसकिरहेको थपलियाको भनाइ छ। २०५४ सालदेखि सुरक्षार्थ खटिएको टोलीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा सशस्त्र प्रहरी बलका करिब ७ जना प्रहरी रहदैं आएका थिए। अर्कोतर्फ सुरक्षाकर्मी हटाएको सन्र्दभमा जिल्ला प्रशासन कार्यालय मोरङ अनविज्ञ रहेको छ। प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सुरक्षा टोली हटाउने निर्णय केन्द्रबाट भएकाले आफूलाई जानकारी नभएको बताए।

कोइराला निवास पूर्वप्रधानमन्त्रीको घरमात्र नभएर नेपाली राजनीतिकै धरोहर भएको स्थानीयको बुझाइ छ। बिराटनगर महानगरपालिका मेयर भीम पराजुलीले भने, “निवासबाटै मुलुकले तीन जना प्रधानमन्त्री पाइसकेको छ। यस्तो ऐतिहासिक गरिमामय स्थलको सुरक्षार्थ राखिएको टोली हटाइनु खेदजनक रहेको छ।”

सरकारले सुरक्षा यूनिट राख्ने सन्र्दभमा पूर्नविचार गर्नुपर्नेमा जोड दिदै मेयर पराजुलीले सरकारले नेपाली इतिहासमा फरक धार बनाउन सफल कोइराला निवासको सुरक्षामा सरकार गम्भीर हुन आवश्यक रहेको बताए। पछिल्लोसमय निवासमा डा. शेखर कोइरालाले आउ-जाउ रहदै आएको छ। तीन प्रधानमन्त्रीको विषयमा सर्वसाधारणको जिज्ञासा मेट्न सफल कोइराला निवासमा डा. कोइरालाले कार्यकर्ता भेटघाट, पत्रकार सम्मेलन लगायतका कार्य गर्दै आएका थिए।

तत्कालिनसमय प्रधानमन्त्री रहदाँ होस् या सत्ताबाहिर स्वर्गीय गिरिजाप्रसाद कोइराला पनि यसैघरमा आएर महत्वपूर्ण कुराको उद्घोष गर्ने गर्थे। जसले नेपाली राजनीतिमा समेत तरङ पैदा गराउँदथ्यो।

विराटनगरको कोइराला निवास अंशवण्डाले टुक्रैटुक्रा
विगतमा एक समय नेता कार्यकर्ताहरुको भीड लाग्ने बिराटनगरस्थित कोइराला निवास अचेल सुनसान छ । लामो समय कोइराला परिवारसँग नजिक भएर काम गरेका शुभनारायण यादवले पुरानो रौनकमा कमी आएको बताए । विगतमा विभिन्न ठाउँबाट बिराटनगर आउने अधिकांश कांग्रेसजन एकपटक कोइराला निवास कस्तो रहेछ हेरौं भन्दै पुग्ने गरेको यादवले सम्झन्छन् ।

तीनजना प्रधानमन्त्री हुर्काउने घर

बिराटनगरस्थित ‘कोइराला निवास’का रुपमा चर्चित यही घरमा तीन पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको बाल्यकाल बितेको थियो । मुलुकका लागि धेरै प्रधानमन्त्रीका जन्माउने घरका रुपमा कोइराला निवासलाई लिइने गरिन्छ । तर, समयचक्र फेरिएझैं अब त्यो अवस्था रहेन । अब सडकबाट कोइराला निवास छुट्याउन गाह्रो छ ।

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको जन्म कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट भारतमा भएको थियो । गिरिजाप्रसाद पनि भारतको मुजफ्फरपुरमा जन्मिएका हुन् । राणा शासकबाट विस्थापित कोइराला परिवार वि.सं. १९८६ सालमा चन्द्रशमशेरको निधनपश्चात बिराटनगर फर्कियो ।

कृष्णप्रसाद कोइरालाले स्वदेश फर्केपछि बिराटनगरमा घर बनाए । पछिल्लो समय यो घरका संरक्षक तत्कालीन गिरिजाप्रसाद कोइराला थिए । तर, गिरिजाको निधनपश्चात यो घरलाई ग्रहणले छोपेको छ ।

गिरिजाबाबुको पहिचान

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्ना हरेक गतिविधि यही घरबाट सुरु गर्थे । पदमा हुँदा होस् या पद बाहिर, केही कडा सन्देश दिनुपरे उनी बिराटनगरको यही घरलाई सम्झन्थें र काठमाडौंबाट यही निवासमा आएर बोल्थे । जुन बोलीले मुलुकमा तरङ्ग पैदा गथ्र्यो ।

विसं. ०६३ साल माघ २४ गते जब गिरिजाकी भाउजू नोना कोइरालाको निधन भयो, तत्कालीन समय गिरिजाप्रसाद कोइरालाले निवासको बत्ती निभेको बताए । जब गिरिजाको पनि निधन भयो, त्यसपछि निवास नै शून्यतामा रुमलियो ।

अस्पतालचोकबाट सिधै देखिने घर वरपर अब नयाँ क्रंक्रिटका घर बनेका छन् । हरियो जस्तापाताको त्यो बहुचर्चित घर क्रंक्रिटका घरबाट छेलिएको छ ।

गिरिजाको निधनपश्चात अहिले कोइरालानिवासको अंशवण्डा भइसकेको छ । कोइरालाको निधनपछि सन्ततिहरुले करिब १२० वर्ष पुरानो सम्पत्ति अंशवण्डा गरेका छन् ।

क-कसको भागमा बाँडियो ?

कोइरालानिवास अहिले डा. शेखर कोइरालाको अंशमा परेको छ भने आफ्नो भागमा परेको जग्गामा गिरिजापुत्री सुजाता कोइरालाले बेग्लै भवन बनाएकी छिन् ।

पिता कृष्णप्रसाद कोइरालाको सम्पत्ति बीपी, केशव, तारणी र गिरिजालाई ०२५ सालमै मौखिक अंशबण्डा गरिएको थियो । अहिले भागवण्डामा निवासकोे एक बिघा १६ कट्ठा जग्गा नातिनातिनीले अशंवण्डा गरी टुक्रा पार्दै बिक्रीसमेत गरेका छन् ।

दक्षिणपट्टीको ८ कट्ठा जमिन बिपीपुत्र प्रकाश, सशांक, श्रीहर्ष र छोरी चेतनाले बिक्री गरेका छन् । उत्तरपट्टिको जमिन तारिणीप्रसाद कोइरालाको भागमा परेको थियो । त्योमध्ये केही जग्गा छोरा ज्योतिले बिक्री गरेका छन् ।

पूर्वपट्टिको जमिन गिरिजाप्रसाद कोइराला छोरी सुजाताको भागमा छ । उनले चार कट्ठा जमिन जीपी फाउन्डेसनलाई दिएर त्यहीँ भवन बनाएकी छिन् ।

विसं. ०६६ साल आसोजमा निवासले त्यहाँ अवस्थित करिब आधाभन्दा बढी जग्गा विक्री गर्न लागेको खबरसँगै कांग्रेस कार्यकर्ताहरुले त्यसको विरोध गरेका थिए ।

उनीहरुले जग्गामा बोर्ड र चारतारे झण्डासमेत राखेका थिए । उनीहरुको माग थियो– कोइरालानिवासलाई कम्तिमा संग्रहालयका रुपमा राखियोस् ।

निवासलाई संरक्षण गरी संग्रहालय मनाउने थियो गिरिजाप्रसादको इच्छा

जुझारु, अडानमा रहने अनि कुशल संगठनकर्ताका रुपमा चिनिएका तत्कालीन कांग्रेस सभापति र पटक–पटक मुलुकको प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला राजधानीको व्यस्तताबाट केही समय मुक्त हुन पुख्र्यौली थलो विराटनगर पुग्थे । सत्तामा रहँदा होस् वा नरहँदा, उत्तिकै ओजपूर्ण व्यक्तित्व भएका कोइराला विराटनगर पुग्नासाथ निवासमा मेलै लागेसरह भीड लाग्थ्यो ।

कोइरालाको एउटा स्वभाव सधैं चर्चामा रह्यो । राष्ट्रिय राजनीतिमा अनेक तरंग ल्याउने खालका अभिव्यक्ति दिनुपर्ने बेलामा उनी विराटनगर पुग्थे । निवासमा भेला भएका स्थानीय सञ्चारकर्मीमार्फत् आफ्ना अभिव्यक्ति दिन्थे । यस्तो बेला विराटनगर र खासगरी कोइराला निवासमा सारा देशको ध्यान केन्द्रित हुनेगथ्र्याे ।

लामो संघर्षपूर्ण राजनीतिक इतिहासको ज्यूँदो साक्षीका रुपमा रहेको ऐतिहासिक कोइराला निवासमा उतिबेला जस्तो आकर्षण थियो, अचेल छैन । त्यतिबेलाकै जस्तो त नहोला, तर यसलाई स्याहार गरेर एउटा गतिलो संग्रहालयका रुपमा बिकास गर्न सकिने थियो । तर यसो हुन सकेको छैन । बरु बिस्तारै यसको अस्तित्व नै मेटिने हो कि भन्ने चिन्ता व्याप्त हुन थालेको छ ।

राजनीतिक दृष्टिले दर्शनीय स्थल बन्न सक्ने विराटनगरस्थित कोइराला निवास ओझेलमा पर्दै गएको छ । मुलुकले पाएका तीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाका पिता कृष्णप्रसादले बनाएको उक्त निवासलाई संग्रहालयका रुपमा बिकास गरिनुपर्ने आवाज व्यापक रुपमा उठ्दै आए पनि यसमा कसैले पहल गरेको छैन ।

संग्रहालय बनाउनुको साटो निवास रहेकोसहित करिब एक बिघा १६ कट्ठा जग्गा अशंबन्डा गरी टुक्र्याइएको छ । कांग्रेसको मोरङ जिल्ला समितिले एक बेला किनेर संरक्षित गर्न खोज्दा यसमा कसैले चासो नदिएको विराटनगरका एकजना कांग्रेसका पुराना नेता बताउँछन् । वीपीपुत्रहरु प्रकाश, श्रीहर्ष, शशांक र छोरी चेतनाले आफ्नो भागमा परेको जग्गा बेचिसकेका छन् ।

अरु जग्गा पनि धेरैजसो बिक्री भइसकेको कोइराला परिवार स्रोतले जनाएको छ । गिरिजाप्रसादकी भाउजू नोना कोइरालाको निधनपछि निवास सुनसान बन्दै आएको थियो । परिवार र घरको समेत रेखदेख गर्ने ‘उमा दिदी’ को पनि निधन भएपछि यो ऐतिहासिक धरोहरको स्याहार हुनै छाडेको छ ।

आफ्नो जीवनकालको अन्तिम समयतिर गिरिजाप्रसादले निवासलाई संरक्षण गरी संग्रहालयका रुपमा स्थापित गर्ने इच्छा प्रकट गरेको सार्वजनिक भएको थियो । तर उनको निधनपछि त निवास झन् बेस्याहार बनेको छ । पहिले शैक्षिक वा अरु कुनै उद्देश्यले भ्रमणमा आउने प्रशस्तै समूहहरु सोधखोज गर्दै कोइराला निवास पुगेर अवलोकन गर्ने गर्थे ।

तस्बिर खिचेर लैजान्थे । अचेल पनि यो क्रम जारी छ । तर अवलोकनका लागि आउनेहरुलाई यथेष्ट जानकारी दिने अनि ऐतिहासिक कुराहरु थाहा पाउने गरी व्यवस्थित रुपमा राख्ने व्यवस्था नभएकाले भ्रमणकर्ताहरु खिन्न बन्ने गरेका छन् । पहिले कोसी अञ्चल अस्पतालबाटै प्रष्ट देखिने कोइराला निवास अचेल त आसपास क्षेत्रमा बनेका ठूला पक्की घरहरुले घेरिएको छ ।  निकै अघि पुगेको कोही मानिस यतिबेला निवास खोज्दै गए सोधेर मात्र पत्ता लगाउन सक्ने अवस्था भएको छ ।

 

संग्राहालय” को निर्माणको शिलन्यास

यता, जीपी कोइराला फाउन्डेशन प्रदेश नम्बर १ ले विराटनगर -७ स्थित कोइराला निवास परिसरमा नेपाली राजनीतिका शिखर पुरूष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा ”संग्राहालय” को निर्माण गर्ने भएको छ । जीपी फाउन्डेशनका अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आज संग्राहालय भवनको एक कार्यक्रमका विच शिलन्यास गर्नुभयो ।

स्वर्गीय कोइरालाको जीवनीमा आधारित उपलब्ध भएसम्मका सवै बस्तु संग्राहालयमा राखिने छ । फाउन्डेशनकी अध्यक्ष सुजाताले स्वर्गीय कोइराला नयाँ नेपालको पिता भएको दावी गर्दै उनकै सम्झनामा संग्राहालय निर्माण हुन लागेको जानकारी बताउनु भयो । प्रदेश सरकारको ४० , समाजिक विकास मन्त्रालयको २० र विराटनगर महानगरको १५ लाख रूपैयाको प्रारम्भिक सहयोगमा भवन निर्माण सुरू गरिएको छ । कुल ४ करोड खर्च गरेर निर्माण हुने संग्राहालय ४ तल्लाको हुनेछ ।

स्वर्गीय कोइरालाले सुत्ने ओछयान देखि निजी जीवनमा प्रयोग गर्ने सवै सामाग्री संग्राहलयमा प्रर्दशनीमा राखिने छ । त्यस्तै विदेशी राष्ट्रअध्यक्ष सँग खिचेका फोटो , लत्ता कपडा लगायतका सामाग्री राखिने छ । अध्यक्ष सुजाताले संग्राहलयमा पिताजी कृष्णप्रसाद कोइरालाका ५ छोरा मातृक ,वीपी , केशव , गिरिजा र तारणी प्रसादका सवै सामाग्री प्रर्दशनीमा राखिने जानकारी दिनुभयो । प्रदेशकै पर्यटकीय गन्तव्य हुने यो संग्राहलय अवलोकन गर्न विदेशीहरू पनि आउने उहाको दावी छ ।

फाउन्डेशनका प्रदेश .१ अध्यक्ष इन्दिरा थापाले आगामी २ बर्ष भित्रै संग्राहलयको निर्माण समपन्न गरि संचालनमा ल्याउने जानकारी दिनुभयो । प्रदेश सभा सांसद केदार कार्की , विराटनगरका मेयर भीम पराजुलीले संग्राहलयको निर्माणको लागी सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्याम लालदास लगायतले कोइरालाको जीवनमा आधारित संग्राहलय निर्माण हुनु देशकै लागी गौरबको बिषय भएको बताएका थिए ।

निवास अहिले शून्‍य प्राय:

नेपाली राजनीतिका हिरो नै कहलिएका नेता हुन स्व.गिरिजाप्रसाद कोइराला। बिराटनगरमा जन्मेर नेपाली राजनीतिबाटै देश विदेशमा राजनीतिका चतुर खेलाडी बने स्वर्गीय कोइराला। बिपी कोइरालाको पालादेखि नै विराटनगरलाई राजनीतिको केन्द्र भन्ने गरिन्छ। त्यै राजनीतिको केन्द्रको अस्पताल चोकनजिकैको कोइरालानिवास अहिले शून्‍य प्राय: छ।

बाहिरबाट घुम्न विराटनगर पुगेकाहरू आक्कलझुक्कल कोइरालानिवास पुग्छन्। नत्र उक्त घरभित्र घर रुगेर बस्ने मान्छेबाहेक चरोमुसो कोही देखिँदैन। आफ्नो उमेर १० वर्ष हुँदादेखि कोइरालानिवासमा रहेकी लक्ष्मी सुवेदीका परिवार कोइरालानिवास सम्हालेर बसेका छन्। कोइराला निवासमा पहिलेजस्तो रौनक छैन।

निवासमा बिपीका उपदेश, परिवारका तस्वीर, गिरिजाले पाएको उपहारबाहेक अरू केहिले पनि रौनक दिँदैन। ‘गिरिजाको मृत्युपछि सुस्ताएको विराटनगर’ ‘गिरिजाप्रसाद कोइराला विराटनगर आउँदा कोइराला निवासमा ठूलै उत्सव भइरहेको झल्को मानिसको भीडले दर्शाउँथ्यो,’ स्थानीय झम्कनाथ न्यौपानेले भने।

अहिले कोइराला निवासमा चुनाव र केही राजनीतिक कार्यक्रमका दौरान डा. शेखर कोइरालाभन्दा बाहेक कोही पनि उत्तिसारो निवासमा आउने गरेका छैनन्। कोइरालानिवास सम्हालेर बसेकी लक्ष्मीका अनुसार आजकाल कोइराला निवासमा पहिलेजस्तो भीडभाड लाग्दैन। आक्कलझुक्कल शेखर कोइराला, सुजाता कोइराला आउँदा केही नेता कार्यकर्ता आए पनि पहिलेजस्तो रौनक कोइराला निवासमा देखिँदैन।

स्थानीय नेपाली कांग्रेसको नेता समेत रहेका झम्कनाथ न्यौपानेले गिरिजाप्रसाद कोइरालाको निधन पछि बिराटनगर नै सुस्ताएको महसुस भएको बताए। ‘गिरिजाबाबु ढलेको दिनदेखि बिराटनगर खुलेजस्तै लाग्दैना। विकासको जग बस्यो जगमा ढुंगा थप्ने मान्छे पाउन मुस्किल पर्‍यो।’ सबैको सानोबुवा ! गिरिजाप्रसाद कोइरालालाई नेता कार्यकर्ताले सम्बोधन गर्ने नाम हो गिरिजा बाबु।

तर, विराटनगरमा उनको नाम सानोबुवा पनि रहेछ। ‘घरको कान्छो भएर पनि होला घरमा सबैले सानोबुवा भन्ने गरियो,’ कोइराला निवासमा २२ वर्ष बिताएकी लक्ष्मी सुबेदीले भनिन्, ‘घरमा त सानोबुवा भनिहाल्थे वरिपरि बजारमा पनि उहाँलाई सानोबुवा भनेर सम्बोधन गर्थे।’ सबैका सानुबुवा बनेका गिरिजाले विराटनगरलाई आफ्नो घर बताउने गरेको सम्झना सुवेदीले गरिन्। ‘यो विराटनगर मेरो घर हो भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘हेर्नुहोस् न सानोबुवाले बाहिर कतै घर बनाउनुभएन नि।

मर्ने बेलासम्म पनि मेरो घर विराटनगर नै हो भन्नुहुन्थ्यो।’ धमाधम जग्गा बिक्री गिरिजाको निधनपछि कोइराला खानदानको जग्गा जमिन पनि धमाधम बिक्री गरियो। ‘सानोबुवाको निधन पछि त यहाँका जग्गा जमिन पनि अरू भाइहरूले बिक्री गर्नुभयो,’ सुबेदीले भनिन्। स्थानीयले पनि गिरिजाको मृत्युपछि दाजुभाइहरूले जग्गा जमिन बिक्री गरेर विराटनगरलाई आफ्नो राजनीतिको थलोबाट पर सारे।

शशांकले आफ्नो नाममा भएको प्राय सबै जग्गा बेचिसेकेका छन्। पहिले गिरिजा बस्दै आएको पुरानो (जन्मघर) अहिले शेखरको नाममा छ। उनी विराटनगर झर्दा त्यही घरमा बस्छन्। नजिकै सुजाताले आफ्नो नाममा भएको जग्गामा घर बनाएर गिरिजाको नाममा खोलिएको फाउण्डेसनको कार्यालय बनाएकी छन्। आफ्नो नाममा भएको जग्गाकै एक टुक्रा भने उनले गिरिजा कोइराला फाउण्डेसनलाई दिएकी छन्।

प्रकाशित मिति: Jun 3, 2019

प्रतिक्रिया दिनुहोस्