Logo
१९ बैशाख २०८१, बुधबार
(June 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरी स्थित सप्तकोशी नगरपालिकाका मेयरसहित ४ जना विरुद्ध पक्राउ पुर्जी

डिभिजन वन कार्यालय सप्तरीले सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार शर्मासहित ४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। वन क्षेत्रमा अनधिकृत रुपमा नाला (ढल निकास मार्ग) निर्माण गरेको आरोपमा ४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। राष्ट्रिय वन क्षेत्रभित्र अनधिकृत रुपमा जेसिभी प्रयोग गरेर ९५ मिटर लम्बाई र करिब २ मिटर चौडाईको नाला निर्माण गरेपछि उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको डिभिजन वन कार्यालयका प्रमुख धीरेन्द्रप्रसाद सिंहले जानकारी दिए।

नाला निर्माण सुरु गरेपछि लिखित रूपमा गरिएको आग्रह समेत वेवास्ता गरेपछि पक्राउ पुर्जी जारी गर्नुपरेको उनको भनाई छ। ‘हामीले २/३ पटक पत्राचार गरेर निर्माण कार्य रोक्न आग्रह गर्‍यौँ,’ उनले भने,‘तर वन कार्यालय र कर्मचारीलाई समेत वेवास्ता गरेर जबर्जस्ती कामलाई निरन्तरता दिएपछि बाध्य भएर पक्राउ पुर्जी जारी गर्नु परेको हो।’

वन संरक्षणको जिम्मेवारी पाएको वन कार्यालय र कर्मचारी समेतलाई बेवास्ता गरेपछि कानुनले दिएको अधिकार प्रयोग गरी पक्राउ पुर्जी जारी गर्नुपरेको उनको भनाई छ। ‘मेरो जागिरको पनि सवाल उठ्छ। कानुनले दिएको अधिकार प्रयोग गरेरै पक्राउ पुर्जी जारी गर्नुपरेको हो,’ उनले थपे,‘अदालतको आदेशमै तीन दिनअघि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।’

मेयर शर्माले पनि वन कार्यालयले पक्राउ पुर्जी जारी गरेको विषय पुष्टि गरेका छन्। वन क्षेत्र भएर निस्कने खहरे खोला नियन्त्रणका लागि सुरु गरिएको नाला निर्माणको काममा वन कार्यालयले अवरोध गरेको उनको जिकिर छ। कार्यापालिकाको निर्णयअनुसार करिब ६ लाखको लागतमा नगरपालिकाले उपभोक्ता समितिमार्फत् नाला निर्माणको काम गरिरहेको उनको भनाइ छ।

‘कानुनमा के भनेर खोज्न थाल्ने भन्दा पनि नागरिकको सुरक्षा गर्नु हाम्रो पहिलो दायित्व हो,’मेयर शर्माले थपे,‘जनताको जनधनको सुरक्षाका क्रममा केही कमजोरी हुन सक्छन्। त्यसलाई व्यवहारिक भएर बुझ्न जरुरी छ।’

वडाअध्यक्षलाई दोहोर्‍याएर पक्राउ पुर्जी
डिभिजन वन कार्यालय सप्तरीले पक्राउ पुर्जी जारी गरेका मध्ये वडा नम्बर १ का वडाध्यक्ष नारायण आचार्य निर्माण समितिका पदाधिकारी हुन्। वडाध्यक्ष आचार्य विरुद्ध दोहोर्‍याएर पुर्जी जारी गरिएको हो। यसपटक राष्ट्रिय वनको भू-उपयोग नीतिको अस्पष्टताका कारण पक्राउ पुर्जी जारी गरिएका आचार्य विरुद्ध यसअघि पुष ४ गते पनि पक्राउ पुर्जी जारी भएको थियो।

बालुवा-गिट्टी तस्करी गरेको आरोपमा आचार्य र उनका छोरा सुशील आचार्य विरुद्ध पक्राउ पुर्जी जारी भएको वन कार्यालयले जनाएको छ। गैरकानुनी रुपमा बालुवा–गिट्टी उत्खनन तथा ओसारपसारमा संलग्न आचार्यको ना ४ त १८४५ नम्बरको ट्रयाक्टर खोलाबाटै पक्राउ परेको थियो। तर, प्रहरी र वन कर्मचारीलाई अभद्र व्यवहार गरी आचार्यले ट्रयाक्टर लिएर गएको र त्यसपछि फरार भएको डिभिजन वन कार्यालय प्रमुख सिंह बताउँछन्।

प्रकाशित मिति: Jun 2, 2019

प्रतिक्रिया दिनुहोस्