Logo
१२ श्रावण २०८१, शनिबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नुसरत हत्या प्रकरण : शेख हसिनाद्वारा मुद्दा न्यायपूर्ण हुने आश्वासन

बंगलादेशमा एक किशोरीलाई जिउँदै जलाएको आरोपमा १६ जनाविरुद्ध मुद्दा हालिएको छ । यो गत अप्रिल ६ को घटना हो । १९ वर्षकी नुसरत जहाँ रफीलाई उनको इस्लामिक स्कुलको छतमा लगेर मट्टीतेल छर्किएर आगो लगाइएको थियो ।

घटना हुनुभन्दा केही दिनअघि नुसरतले आफूमाथि यौना हिंसा भएको उजुरी प्रहरीमा दर्ता गराएकी थिइन् । उनले यो आरोप स्कुलका प्रधानाध्यापक सिराज उद दौलामाथि लगाएकी थिइन् । नुसरतलाई जलाएको आरोपमा अन्य १५ जनामाथि मुद्दा चलाइएको हो ।

नुसरतले उजुरी गर्नेवित्तिकै त्यहाँको प्रहरीले स्कुलका प्रधानाध्यापकलाई पक्राउ त गरेको थियो तर उनले नै जेलबाट नै नुसरतको हत्या गर्न आदेश दिएको हुनसक्ने अनुमान प्रहरीले गरेको । बंगलादेशमा यो घटनालाई लिएर निकै ठूला विरोध कार्यक्रम भएका छन् ।

६ अप्रिलमा आफ्नो परीक्षा दिन स्कुल पुगेकी नुसरतलाई उनकै साथीहरुले फकाएर स्कुलको छतमा लगेका थिए । अनि त्यहाँ उनीमाथि आक्रमण भएको थियो । उनीहरुले नुसरतले आत्महत्या गरेको आभास गराउन खोजेको प्रहरीले बताएको छ । तर, ८० प्रतिशत जलिसकेकी नुसरतले अस्पताल जाँदजाँदै आफ्नो बयान प्रहरीलाई दिएकी थिइन्, उनको कुरा भिडियोमा रेकर्ड गरिएको छ ।

बंगलादेशको राजधानी ढाकाबाट करिब १६० किलोमिटर पर पर्ने फेनीमा यो घटना भएको हो । १२ अभियुक्तले आफूहरुले नुसरतको हत्यामा सहयोग गरेको कुरा स्वीकार पनि गरिसकेका छन् । हत्यामा संलग्न भएको आशंका गरिएका दुई स्थानीय नेताहरुले चाहिँ यी सबै आरोप अस्वीकार गरेका छन् ।

बंगलादेशमा लामो समयसम्म विरोध भएपछि प्रधानमन्त्री शेख हसिनाले यो मुद्दामा सबैलाई न्याय हुने आश्वासन दिएकी छिन् ।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्