Logo
१२ श्रावण २०८१, शनिबार
(May 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज गणतन्त्र दिवस : राष्ट्रपति, प्रधानमन्त्रीको फरक-फरक धारणा

काठमाण्डौ : नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १२ वर्ष पूरा भएको छ । दोस्रो जनआन्दोलन २०६२/६३ को जगमा भएको चुनावबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दुई सय ३८ वर्ष लामो शाहवंशीय राजपरम्परा अन्त्य भएको घोषणा भएको यो दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइन्छ । संघीय गणतन्त्र स्थापना पछिका १२ वर्ष सोचेजति र नागरिकले आशा गरे अनुसार उपलब्धि हासिल नभएको विश्लेषकले बताएका छन् ।

दिवसको अवसरमा काठमाण्डौको टुडिखेलमा अहिले केहिबेरमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थ व्यक्ति सहभागी हुने भएकाले त्यस क्षेत्रमा सवारी आवागमन प्रभावित हुनेछ ।

दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिनुभएको छ ।

गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रूपमा संस्थागत हुँदै जानु गौरवको विषय होः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताउनुभएको छ ।

बाह्रौँ गणतन्त्र दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै उहाँले मुलुकमा समृद्धिले मूर्तरूप लिने विश्वास व्यक्त गर्नुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपछि देश अहिले सुशासन तथा द्रुत आर्थिक र सामाजिक विकाससहित समृद्धि हासिल गर्ने बाटामा रहेको पनि उहाँले बताउनुभएको छ ।

सबै नेपालीको समृद्धिको अपेक्षा साकार पार्नु सबैको सामूहिक उत्तरदायित्व भएको बताउँदै उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक सङ्कल्प पूरा गर्ने दिशामा सरकार अग्रसर भएको उल्लेख गर्नुभएको छ ।

यस दिवसले सबै नेपालीलाई राष्ट्रिय एकता प्रवद्र्धनसहित समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन प्रेरणा र ऊर्जा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

गरीबी र लोकतान्त्रिक गणतन्त्र सँगै रहन सक्दैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा बुधबार दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले विकासका लागि हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास र कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा भएको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “नागरिकको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने सङ्कल्प हामीले लिएका छौंँ । यस सङ्कल्पलाई सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ । त्यसका लागि विभिन्न, पेशा, क्षेत्र र व्यवसायका नेपालीको बलियो साथ रहनेछ भन्ने मेरो विश्वास छ ।”

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसले नेपालीलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याएको तथा गणतान्त्रिक संस्थाहरूको मर्यादा र गणतान्त्रिक प्रक्रियाको सम्मान गर्न सिकाएको बताउँदै गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली भएको स्पष्ट गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको तथा गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्ध सरकार केन्द्रित रहेको बताउनुभएको छ ।

“गरीबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् । त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन् ”सन्देशमा भनिएको छ ।

वर्तमान प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छाशक्तिका साथ समृद्ध नेपालसुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न अग्रसर भएको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

जो परिवर्तनका लागि क्रान्तिमा होमिए

‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ…’

देशप्रेमको भावले ओत प्रोत र युग परिवर्तन गर्नसक्ने ताकत राख्ने श्याम तमोटले लेख्नुभएको यो गीतले जोकोहीको मन–मष्तिस्क क्रान्तिको ज्वारभाटा उठ्छ । त्यो ज्वारभाटालाई क्रान्तिपथमा सामेल गराउन भने जोकोहीले सक्दैन, ल्याकत राख्दैन तर झापा मेचीनगर–१० धुलाबारीका ४६ वर्षीय हरि थापाले देशको मुहार फेर्न विद्रोहको विगुल फुकेर जनयुद्धमा होमिनुभयो ।

‘२०५६ सालतिरको कुरा हो, साथीहरू घरमा आउनुभयो,’ माओवादीको सशस्त्र युद्धमा सामेल हुँदा क्षण सम्झँदै थापाले भन्नुभयो, ‘मुलुक र जनजीविका परिवर्तन ल्याउन बन्दुक समाएँ ।’ अहिले उहाँको दाहिने पाता राम्ररी चल्दैन । कारण उहाँका शरीरमा अहिले ७४ वटा बमका छर्रा छन् । इलामको मङ्गलबारेबाट झापा आउने क्रममा सेनासँग भीडन्त हुँदा सेनाले हानेको ‘३६ ग्रिनेट’ कड्किँदा उहाँको शरीरमा ८६ छर्रा लागेको थियो ।

‘इलामबाट झापा आउँदा सेनासँग भीडन्त भयो’, युद्धको क्षण सम्झँदै थापाले भन्नुभयो, ‘शरीरभरि प्वालै–प्वाल भयो, ८६ वटा छर्रा पसे, १२ वटा निकालियो, अझै ७४ वटा त शरीरमै छ ।’ झापाको मेची अञ्चल अस्पताल, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएको उहाँले बताउनुभयो । ‘पछिल्लो पटक धरानमा क्याम्प राखिएको थियो’, उहाँले भन्नुभयो, ‘डाक्टरले छर्रा ननिकाल्नु भनेका छन्, अपरेशन गरेर हड्डी फुटाएर छर्रा निकाल्दा शरीर नचल्न पनि सक्छ रे !’ शरीरमा रहेका छर्राले पीडा हुने गरेको उहाँले सुनाउनुभयो ।

सशस्त्र जनयुद्धताका थापाले धेरै लडाइँ लड्नुभएको छ । इलामको बन्दुके, पाँचथरको गोपेटार, चैनपुरलगायतका थुप्रै ठाउँमा युद्ध लडेको अनुभव उहाँसँग छ । ‘मोर्चामा त कति लडियो–लडियो’, उहाँले भन्नुभयो, ‘अहिले सम्झँदा नि सपनाजस्तो लाग्छ ।” घाइते थापाले अहिलेसम्म राज्य पक्षबाट कुनै राहत पाउनुभएको छैन ।

एक पटक जिल्ला प्रशासन कार्यालय झापाबाट उपचार खर्च भनेर २५ हजार रुपैयाँ आएको छ भनेर फोन आएको थियो’, थापाले भन्नुभयो, ‘त्यतिबेला मैले उपचार गरेको सबै कागजात शान्ति समितिमा बुझाएको थिएँ, निकै पहल गर्दा पनि कसैले चासो दिएनन्, त्यो पैसा पनि निकाल्न नसकेर फिर्ता गयो रे !’

त्यतिबेला आफूसँगै युद्ध मोर्चामा रहेका थापाको साथीहरू कोही मन्त्री त कोही सांसद छन् । सँगैका साथीहरू झलकसिंह दर्लामी, धीरेन शर्मा सांसद छन् भने इन्द्रबहादुर आङ्बो प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री रहेको उहाँले बताउनुभयो । ‘धेरै साथीहरू छन्, कोही मन्त्री, सांसद भएका छन्’, उहाँले भन्नुभयो, ‘आफू त पढालेखा पनि परिएन, परिवर्तनका लागि युद्धमा लागियो मात्र ।’

‘घाइते शरीरलाई निको पार्नतिर लाग्दा भएको अलिकति जग्गा पनि सकियो’, उहाँले भन्नुभयो । साथीहरूले चलाएको फिनेल उद्योगमा केही लगानी गरेर त्यसैबाट आएको आम्दानीले गुजारा चलाइरहेको उहाँले बताउनुभयो । जीविकोपार्जनको दर्बिलो माध्यम नभएपछि झापाबाट इलामको रोङ गाउँपालिका–५ मा रहेको पुख्र्यौली घरमा बसाइँ सर्ने तरखरमा हुनुहुन्छ, थापा ।

माओवादीले उठाएको सङ्घीयता, धर्मनिरपेक्षतालगायतका मुद्दा कार्यान्वयन भए पनि अपेक्षाकृत काम हुन नसकेको उहाँको गुनासो छ । ‘केही मुद्दा र माग पूरा भए’, थापाले भन्नुभयो, ‘जुन उद्देश्यले युद्धमा लागियो, त्यो अहिले पूरा हुन सकेको छैन ।’ मुलुकमा आमूल परिवर्तनका लागि जीवन उत्सर्ग गरेका वीर शहीदका सपना साकार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘घाइतेको उपचार र जीवन निर्वाहमा सरकारले ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘परिवर्तनका लागि जीवन समर्पण गर्नेको जीवनमा पनि परिवर्नतन आउनुपर्छ ।’ दुई छोराछोरी र श्रीमतीका साथमा दुःखजिलो गरेर बाँचिरहेका उहाँ अहिले पार्टीको साधारण सदस्य मात्र हुनुहुन्छ ।

थापाजस्तै घरपरिवार माया मारेर युद्धमा होमिएका अर्का सिपाही हुनुहुन्छ, झापा मेचीनगर–३ बडाखाल (तत्कालीन बाहुनडाँगी गाविस) का ५५ वर्षीय प्रदीप राई । मुलुकमा क्रान्तिको ज्वाला दन्किरहेको बेला राईले सशस्त्र क्रान्तिको बाटो तय गर्नुभएको थियो । विसं २०५५ सालमा एलबी सुब्बा र मिस्सी धिमालले उहाँलाई क्रान्तिमा सामेल हुन ऊर्जा दिनुभयो रे ! ‘सानो तिनो व्यवसाय गरेर जीवीका चलाउँदै थिएँ’, उहाँले विगत सम्झनुभयो, ‘त्यतिखेर बाहुनडाँगीमा माओवादीको कोही पनि थिएनन् ।’

इलामको घोडेटार, धुसेनीलगायतका स्थानमा भएको युद्धमा सहभागी उहाँलाई २०६२ सालमा मेचीनगरको हात्तीसुँढेमा एम्बुलेन्समा आएको शाही सेनाको घेरा हाल्यो । ‘एम्बुलेन्समा सेना आएको रहेछ, मलाई थाहा भएन, पछि थाह पाएपछि भाग्न खोज्दा सेनाले खुट्टामा गोली हान्यो र गिरफ्तार ग¥यो’, उहाँले विगत सम्झिनुभयो, ‘त्यसपछि बंकरमा लगेर राखे ।’

बंकरमा सेनाले दिएको यातना सम्झिँदा उहाँको शरीर अहिले पनि सिरिङ्ग हुन्छ रे ! ‘खुट्टामा एउटा पनि नङ्ग्रा थिएन, पिलासले च्यापेर निकालिदिए, सुइँले घोच्ने गथ्र्ये,’ पीडादायी त्यो समय सम्झिँदै उहाँले भन्नुभयो, ‘खुट्टामा गाँठो परेको छ, धेरै दुख्छ, कहिलेकाहीँ हिँड्न पनि सक्दिनँ ।’ युद्धताका दीपक गुरागाईंलगायतका साथीहरूले शहादत प्राप्त गरेको उहाँको मथिगंलमा ताजै छ । ‘शान्ति सम्झौतापछि धेरै साथीहरू तिरवितर भए”, उहाँले भन्नुभयो, “एलबी, वसन्तलगायतका साथीहरू विदेश गएका छन् ।’

द्वन्द्वका घाइते राईले अहिलेसम्म सरकारले उपलब्ध गराएको २५ हजार रुपैयाँमात्र पाउनुु भएको छ । ‘न त सरकारले नै हेर्छ, न त पार्टीले खोज्छ’, राईले भन्नुभयो, ‘जनमजदूरी गरेर परिवार पाल्दैछु, बेलाबेला शरीरले साथ नदिँदा त्यो पनि मुस्किल छ ।’ मुलुकमा गणतन्त्र आएर पनि अनुभूत गर्न नपाएको राईको भनाइ छ ।

‘हरेक मान्छेमा स्वार्थ हुँदोरहेछ’, उहाँले भन्नुभयो, ‘हामीलाई टेकेर धेरैजना माथि गए, तलका हामीलाई बिर्सिए ।’ सरकारले द्वन्द्वपीडितलाई सहयोग गर्नुपर्ने उहाँको माग छ । ‘सरकारले शहीदलाई सम्मान, उनीहरूको परिवारलाई राहत दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘द्वन्द्वपीडितको पीडामा सरकारले मलहम लगाउनुपर्छ ।’

युग परिवर्तका लागि आफ्नो जीवन उत्सर्ग र समर्पण गर्नेप्रति सरकारले पहलकदमी गर्नुपर्छ । नत्र गणतन्त्र ल्याउनेले नै गणतन्त्रको अनुभूति गर्न पाउने छैनन् । आफू मरेर पनि हजारौँ–लाखौँलाई नेपालीलाई गणतन्त्रको सुनौलो बिहानी दिनेप्रति श्रद्धासुमन ।

प्रकाशित मिति: May 29, 2019

प्रतिक्रिया दिनुहोस्