Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्याइनभ्याइको अवस्थाबीच पनि प्रधानमन्त्री मोदीको शपथमा जाने, निम्तो स्वीकार गर्ने ओली ‘पहिलो’

दोस्रो पटक कार्यभार सम्हाल्न लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शपथग्रहण कार्यक्रममा आफ्ना छिमेकी मुलुकका समकक्षीहरूलाई निम्त्याउने भएका छन्। उनले यस क्षेत्रका क्षेत्रीय संगठन बिम्स्टेक राष्ट्र एवं सरकार प्रमुखलाई निम्त्याउने निर्णय गरेका हुन्। सम्बन्धित मुलुकका दूतावासहरूले त्यस्तो निम्ता गरिसकेको कूटनीतिक स्रोतले बतायो।

जस्मध्ये भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण कार्यक्रमका लागि विदेशी कार्यकारी प्रमुखलाई गरिएका निम्तोमध्ये सबैभन्दा अगाडि भ्रमण ‘कन्फर्म’ गर्नेमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली रहेको भारतीय पत्रिका बिजनेश स्ट्यान्डर्डको अनलाइन संस्करणले जनाएको छ ।

सो अनलाइनले एकजना मन्त्रीले नाम उल्लेख नगर्ने शर्तमा जनाएको भन्दै प्रधानमन्त्री ओली बिहीबार नै त्यसतर्फ जाने जनाएको छ । उनी बिहीबार साँझ ७ बजे भारतको राष्ट्रपति कार्यालयमा आयोजना हुने शपथ ग्रहण कार्यक्रममा सहभागी हुनेछन् ।

सो समारोहमा बिमस्टेकका सदस्य राष्ट्र तथा किर्गिस्तान र मोरिससका कार्यकारी प्रमुखको पनि सहभागिता हुने बताइएको छ । भारतका विदेश प्रवक्ता रभीस कुमारलाई उद्धृत गर्दै सो अनलाइनमा भारत सरकारको छिमेकी पहिलो नीतिअनुसार नै शपथग्रहण कार्यक्रममा विदेशबाट अतिथी निम्त्याइएको जनाएको छ ।

यसअघि निर्वाचनको मतगणना भइरहेकै बेलामा भाजपा निकै अगाडि देखिएपछि प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई ट्विटमार्फत बधाई दिएको कुराले पनि चर्चा पाएको थियो ।

नेपालमा भ्याइनभ्याइ

प्रधानमन्त्री ओली भारत जानु अघिल्लो दिन बुधबार नेपालमा गणतन्त्र दिवस हुनुका साथै सोही दिन वार्षिक बजेट पनि आउँदैछ । त्यसैगरी बिहीबार संविधानसभा पहिलो र दोस्रोमा काम गरेका जम्मा ११०९ जना सभासदहरुलाई संविधानसभा पदक वितरण गर्ने समेत कार्यक्रम रहेको छ ।

सो पदक पाउनेमा प्रधानमन्त्री ओलीको नाम पनि दोस्रो नम्बरमा रहेको छ । गणतन्त्र दिवसको दिन देश छोडेर हिँड्न अप्ठेरो हुने र भोलिपल्ट राष्ट्रपति कार्यालयमा हुने पदक वितरण समारोहमा पनि सहभागी हुनुपर्ने प्रधानमन्त्रीलाई बाध्यता देखिएको छ । सोही दिन साँझ उनी भारतका राष्ट्रपतिको कार्यालयमा हुने समारोहमा पनि सहभागी हुनुपर्नेछ ।

छिमेकलाई प्राथमिकता दिएको संकेत

उनले २०१४ मा पहिलोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा सार्कका राष्ट्र एवं सरकार प्रमुखलाई निम्त्याएर छिमेकलाई प्राथमिकता दिएको संकेत गरेका थिए। मोदीले यसपटक नेपाल, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सका साथै थाइल्याण्ड र म्यानमारका राष्ट्र एवं सरकार प्रमुखलाई समेत निम्तो दिनेछन् । यसको औपचारिक घोषणा गर्ने तयारी रहेको कूटनीतिक स्रोतले बतायो।

सन् २०१४ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला मोदीको शपथग्रहणमा सहभागी भएका थिए। त्यतिबेला सार्कका सबै मुलुकबाट सहभागिता भएको थियो भने नेपालले पनि भारतले सार्कलाई महत्व दिएको बताइएको थियो। तर सार्क अहिले ओझेलमा परेको छ भने त्यसको शिखर सम्मेलन समेत चार वर्षदेखि हुन सकेको छैन। अहिले मोदीले कुन तवरबाट छिमेकलाई अघि बढाउँछन् स्पष्ट भइसकेको छैन।

प्रकाशित मिति: May 28, 2019

प्रतिक्रिया दिनुहोस्