Logo
५ जेष्ठ २०८१, शनिबार
(May 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी बजारबिना पनि ‘हुवावे’ विश्वको नम्बर एक कम्पनी रहेको संस्थापक जेङफेइको दाबी

हुवावेका संस्थापक रेन जेङफेइले अमेरिकी बजार बिना पनि आफूहरु विश्वमा नम्बर एक नै रहेको दाबी गरेका छन् । फाइभजी प्रविधि सम्बन्धी अमेरिकी अवरोध र आफ्नी छोरी मेङ वान्जाउको गिरफ्तारीको विषयमा टाइमलाई दिएको अन्तर्वार्तामा उनले यस्तो उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, “म वास्तवमै हुवावेलाई उत्कृष्ट कम्पनी बनाउन चाहन्छु । र यसका लागि म अवार्डको टोपी लाउन समेत रोकिन चाहँदिन । किनकी अवार्डले भरिएको एउटा टेबलले मेरो क्षमता प्रमाणित गर्न सक्दैन । के त्यसले मैले राम्रो फाइभजी बनाउँछु भन्ने पुष्टि गर्न सक्छ ?”यसरी २०१९ को सुरुवातमै अमेरिकी न्याय विभागले हुवावेमाथि प्राविधिक चोरी लगायत विभिन्न ढङ्गले व्यापारिक प्रतिबन्धको उल्लंघन गरेको आरोप लगाएको छ ।

चिनियाँ सरकारले हुवावेका प्राविधिक उपकरण मार्फत अन्य राष्ट्रहरुको जासुसी गर्न सक्ने अमेरिकी विश्लेषकहरुको आंशकापछि नै कम्पनी विवादमा आएको हो । यसबीच अमेरिकासँग सहमति जनाउँदै अष्ट्रेलिया न्युजिल्यान्ड लगायत थुप्रै देशले राष्ट्रिय सुरक्षालाई जोखिमयुक्त भनि हुवावेको फाइभजी प्रविधि प्रयोग नगर्ने घोषणा गरेका हुन् ।

यसबारेमा संस्थापक जेङफेइले भने, “अमेरिकाको वास्तविक उद्देश्य के हो मलाई थाहा छैन । र मेरो विचारमा अमेरिकी बजारमा केही समयका लागि अनुपस्थित रहनुले हामीलाई केही फरक पार्दैन । किनकी हामीले यसअघि पनि अमेरिकी बजारमा त्यति जोड दिन सकेका थिएनौँ । त्यसैले अमेरिकी बजारमा हामीले प्रवेश पाउछौँ पाउदैनौँ भन्ने कुरा वास्तवमै हाम्रा लागि महत्वपूर्ण छैन । र उनीहरु बिना पनि हामी विश्वमा नम्बर १ मै छौँ । त्यसैले हामी अमेरिकी बजारका लागि हतारिएका छैनौँ ।”

यसपछि उनलाई चीन र अमेरिकाबीच जारी व्यापारिक युद्धमा हुवावेको कस्तो भूमिका छ भनेर सोध्दा उनले सो वार्तामा हुवावेको त्यति ठूलो महत्व नभएको भनि जवाफ दिएका हुन् । उनले थप भनेका छन्, “म सानो हुँदा मलाई अमेरिका ज्यादै मन पथ्र्यो र अहिले पनि मलाई उत्तिकै प्रिय लाग्छ । त्यसैले पछिल्ला दशकहरुमा इस्यु गरिएका कोर्पोरेट डक्युमेन्ट पढ्नुभयो भने त्यसमा तपाईँले अमेरिकी भाव सर्वत्र पाउन सक्नुहुनेछ । यसकारण पनि म भन्छु अमेरिकाले व्यापारिक युद्धमा गलत ढङ्गले हाम्रो फाइदा उठाइरहेको छ । अमेरिकामा आफूप्रति आत्मविश्वास हुनुपर्ने हो । किनकि हुवावे जस्तो सानो कम्पनीले अमेरिकी शक्तिलाई कहिल्यै हराउन सक्दैन ।”

यसका साथै जेङफेइले हुवावेको सुरक्षा प्रावधानबारे पनि यस्तो भनेका छन्, “हाम्रो प्रगति कायमै छ । र यसरी सानातिना समस्या फेला पर्नु सामान्य कुरा हो । किनकी हामीले पनि हाम्रो उत्पादनमा कुनै समस्या छैन भनेका छैनौँ । हामीले केबल हाम्रा उत्पादन अवैध वा शंकास्पद मुद्दासँग जोडिएको छैन मात्र भनेका हौँ । यसको वास्तविक स्वामित्व टेलिकम सञ्चालकसँग मात्र रहेको छ जसलाई हुवावेले केबल आफ्ना उपकरण विक्री गर्ने हो ।

हुवावेसँग सरकारी कामकाजको कुनै अधिकार र क्षमता छैन । यस्तोमा कुनै राष्ट्रले हुवावेमा शंकास्पद कुरा फेला पार्यो भन्ने पुष्टि गरेमा विश्वका १७० देशमा हाम्रो व्यापार नराम्रोसँग खस्किनेछ । त्यसैले यो विषयमा यदि विश्व कुनै सम्झौतामा पुग्न सक्दैन भने हामीले चिनियाँ सरकारलाई नै यस सम्बन्धी सन्धिमा सम्झौता हस्ताक्षर गराउन लगाउनुपर्ने हुन्छ ।” त्यस्तै उनलाई जेल हुन सक्ने सम्बन्धी विषयमा भने सबै चिन्ता अनावश्यक रहेको र आफू कहिल्यै जेल नजानेमा ढुक्क हुन भनेका हुन् ।

आफ्नी छोरी मेङ वान्जाउको पक्राउको विषयमा भने उनले यस्तो भने, “हामीलाई के थाहा छ भने मेङले न अमेरिका न क्यानडा, कतै कुनै अपराध गरेकी थिइनन् । त्यसैले वान्जाउलाई गिरफ्तार गर्नु आफैँमा अनुचित थियो । किनकी पक्राउ गर्नु पछाडि स्पष्ट कारण हुनुपर्छ र प्रमाण पनि चाहिन्छ । त्यसैगरी घटनाको सत्यता खुलाउन अदालतले सधैँ न्यायिक , निस्पक्ष, खुला अनि पारदर्शी ढङ्गमा काम गर्नुपर्छ । त्यसपछि मात्र उनमा केही समस्या थियो थिएन भन्ने साबित हुन सक्छ । त्यसैले यस कुराको वास्तविकता खुलाउन हामीले अदालतमाथि विश्वास राख्नैपर्छ ।”

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्बन्धी भने उनले यस्तो अभिव्यक्ति दिएका हुन् , “मेरो विचारमा ट्रम्पले चीनलाई आफूमा सुधार नल्याएसम्म हार बेहोरिरहनु पर्नेछ भन्ने कुरा याद दिलाइरहेका छन् । त्यसैले अब चिनियाँ सरकार भ्रममा रहन छाड्नेछ भन्ने मेरो विश्वास छ । के त्यो राम्रो होइन ?” यसैगरी फाइभजी प्रविधि सम्बन्धी समस्यालाई चाहिँ उनले ‘प्रविधि कुनै राजनीति होइन’ भन्ने प्रतिक्रिया दिएका हुन् ।

प्रकाशित मिति: May 28, 2019

प्रतिक्रिया दिनुहोस्