Logo
१२ श्रावण २०८१, शनिबार
(May 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको प्रश्न- ‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो र ?’

ललितपुर :  राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताएका हुन् । ‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो र?’ उनको प्रश्न थियो ।

प्रधानमन्त्रीले संविधान बमोजिम भएको निर्वाचनबाट सरकार निर्माण भएको उल्लेख गर्दै सोधे, ‘अब के चाहियो ?’’ उनले सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको बताए । विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको प्रधानमन्त्रीको भनाई थियो । नेपाललाई अशान्ततिर लैजाने प्रयासलाई सरकारले रोक्ने प्रधानमन्त्रीको चेतावनी थियो ।

प्रधानमन्त्री ओलीले सरकारले प्रेस स्वतन्त्रतामा शतप्रतिशत ग्यारेन्टी गर्ने स्पष्ट पारे । संविधानमै रहेको प्रेस स्वतन्त्रताको व्यवस्थालाई सरकारले सम्मान गर्ने बताएका छन् । ‘प्रेस स्वतन्त्रताको सम्बन्धमा संविधानले व्यवस्था गरेभन्दा सरकार एक अक्षर पनि तलमाथि गर्दैन’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्रीले पत्रकारितामा कतिपय विसंगतिहरु देखिएको भन्दै सुधारको आवश्यकता समेत औंल्याए । ‘समाचार सत्यमा आधारित हुनुपर्छ, कसैलाई व्यक्तिगत रुपमा रिस उठेको भरमा सभ्यताको सिमा नाघ्न मिल्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सभ्य ढंगले समाचार प्रस्तुत गर्नका लागि नेपाली भाषामा शब्दको भण्डार छ ।’

प्रधानमन्त्री ओलीले नेपाललाई मानवअधिकारमा कमजोर भएको देश हुन नदिने स्पष्ट पारे । उनले मानवअधिकारलाई एउटा पक्षबाटमात्रै हेर्न नमिल्ने बताउँदै विभिन्न पक्षबाट हेर्नुपर्ने बताए । प्रधानमन्त्रीले मानव अधिकारको प्रश्न लोकतन्त्रमा नै हुने बताउँदै तानाशाहीमा मानव अधिकार भन्ने शब्द नै नहुने बताए । ‘तानाशाहीमा मानवअधिकारको चर्चै हुँदैन,’ उनले भने ।

घर-घरमा हुने महिला र बालबालिकाको मानवअधिकार उल्लंघनका घटना रोकिनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले घर-घरमा मानवअधिकारको संरक्षण हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: May 27, 2019

प्रतिक्रिया दिनुहोस्