Logo
१२ श्रावण २०८१, शनिबार
(May 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोकिएन बम आतंक : सोमवार ५ ठाउँमा विस्फोट, १२ स्थानमा निस्कृय, २३ ठाउँमा शंका

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘प्रतिबन्धित नेकपा’ ले कार्यकर्ता मारिएको विरोधमा सोमबारका लागि घोषणा गरेको नेपाल बन्दको असर आंशिकरुपमा देशभर परेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार साँझयता पाँच स्थानमा विस्फोट भएको छ भने १२ स्थानमा बमलाई निस्कृय बनाईएको छ।प्रहरीका अनुसार २३ ठाउँमा शंकास्पद वस्तु फेला परेका छन्।

विस्फोटमा चार जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन्। प्रहरीले यसबीचमा विप्लव समूहका कार्यकर्ता र विस्फोट गराउने योजना रहेको आशंकामा देशभरबाट १२ जनालाई नियन्त्रणमा लिएको छ।

आइतबार अपरान्ह राजधानीको अनामनगर र सुकेधारामा भएका विस्फोटमा दुई जनाको घटनास्थल र दुई जनाको उपचारका क्रममा ज्यान गएको थियो। मृतकमध्ये तीन जनाको पहिचान हुन सकेको छैन।

यी दुई विस्फोटमा घाइते भएका पाँच जनाको उपचार भइरहेको छ। अधिकांशको अवस्था चिन्ताजनक रहेको छ। आइतबार साँझ थानकोटमा भएको विस्फोटमा दुई जना घाइते भएका थिए।

उनिहरुको पनि उपचार भइरहेको छ। सर्लाहीको हरिपुर नगरपालिकाको कार्यालयमा आईतबार राति भएको विस्फोटमा भवनमा क्षति पुगेको छ।

यसैगरि नवलपरासीको मध्यविन्दु नगरपालिकामा सिमेन्ट लोड गरिएको ट्रकमा पेट्रोल बम प्रहार गर्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा ट्रकमा चालक र सहचालक छन्।

सेनाको डिस्फोजल टोलीले कास्की, दार्चुला, काठमाडौं, ललितपुर, नवलपरासी, मकवापुर लगायत जिल्लामा बम डिस्पोज गरेको छ। यसैगरि झापा, धादिङ, तनहुँ, मोरङ,स्याङ्जा, दार्चुला, कास्की, बैतडी, सुनसरी, भक्तपुर, रौतहट, सुनसरी, मकवानपुर, सिन्धुली, अर्घाखाँची, बाग्लुङलगायत जिल्लामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

बन्दको अवज्ञा गरेको भन्दै विप्लवका कार्यकर्ताले विभिन्न  पाँच ठाउँमा तोडफोड र आगजनी गरेका छन्।

बागलुङ बजारको कुडुले चोकमा सोमबार बिहान फेला परेकोे शंकास्पद वस्तु । तस्वीर : खेमराज गौतम, गलकोट (बागलुङ)

प्रकाशित मिति: May 27, 2019

प्रतिक्रिया दिनुहोस्