Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोन बेच्ने बेला गरेको यस्तो गल्तीले लियो २ जनाको ज्यान

भारतको उत्तर प्रदेशस्थित मेरठमा बस्ने शुभम कुमारले कहिले पनि सोचेका थिएनन् कि फोन बेच्ने बेला गरेको एउटा गल्ती उनको लागि कति भारी हुनेछ । फोनमा भएका केही आपत्तिजनक तस्बिर सार्वजनिक भएपछि एक व्यक्तिको हत्या भएको छ भने अर्की एक महिलाले आत्महत्या गरेकी छिन् ।

शुभमलाई पनि प्रहरीले पक्राउ गरेको छ । यो पूरा घटनाक्रमका बीच एक बालकले आफ्नी आमा गुमाएका छन् ।

मुजफ्फरनगरको गंगानहर कैनालमा शनिबार ३५ वर्षकी एक महिला आफ्ना पाँच वर्षका छोरासँगै नदीमा हाम फालिन् । गोताखोरले बच्चालाई त बचाए तर महिलाको मृत्यु भइसकेको छ । पूर्व प्रेमीसँगको तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि महिलाले आत्महत्या गरेको पुलिसको अनुसन्धानमा पत्ता लागेको छ ।

जसले फोन किने, उनैले सार्वजनिक गरिदिए फोटो :

वास्तवमा, महिलाका पूर्वप्रेमी शुभम कुमारले आफ्नो फोनमा भएका पुराना फोटो डिलिट नगरीकनै मेरठको अनुज प्रजापतिलाई बेचेका थिए । प्रजापतिले नै ती फोटो सोसल मिडियामा सेयर गरेका थिए ।

पुलिस अधिकारी हरिशरण शर्माले भने, ‘एक महिला आफ्ना ५ वर्षका छोरासँग अलकनन्दा पुलबाट गंगानहरमा हाम फालेको सूचना हामीले पायौं । उनले आत्महत्या गर्नुअघि श्रीमानलाई पनि फोन गरेकी थिइन् । यसैमार्फत् उनको पहिचान खुलेको थियो ।’

एक हत्या, एक आत्महत्या :

फोटो सार्वजनिक भएको थाहा पाएपछि मे २३ तारिखमा शुभमले साथीसँग मिलेर प्रजापतिको हत्या गरेका थिए । पुलिस अधिकारी आनन्द प्रकाशका अनुसार आफ्नो फोटो देखेर महिलाले शुभमसँग कुरा गरेकी थिइन् ।

रिसाएका शुभमले प्रजापतिको हत्या गरिदिए । सिसिटिभी फुटेज र घटनास्थलमा पाइएको मोबाइलको मद्दतले आरोपीको पहिचान भयो । पुलिसका अनुसार फोटो भाइरल हुनुका साथै प्रजापतिको हत्याको मामलामा आफू पनि मुछिएपछि महिलाले आत्महत्याको बाटो रोजेको हुनसक्छ ।

प्रकाशित मिति: May 27, 2019

प्रतिक्रिया दिनुहोस्