Logo
२२ बैशाख २०८१, शनिबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वलाई चकित बनाउँदै चीन : प्रतिघण्टा ६ सय किलोमिटर कुद्‍ने रेल सार्वजनिक

 बेइजिङ : प्रविधिको प्रयोगमा विश्वलाई चकित बनाइरहेको चीनले प्रतिघण्टा ६ सय किलोमिटरको गतिमा कुद्नसक्ने रेल बनाएको छ । चीनले यो रेल गत बिहीबार सार्वजनिक गरेको छ ।

प्राविधिकहरुका अनुसार यो रेल म्याग्नेटिक(लेभिटेशन प्रणालीमा आधारित छ  । यो रेल जमिनको सतहभन्दा केही माथि कुद्‍ने गरी बनाइएको छ । साउथ चाइना मर्निङ पोस्ट्का अनुसार चाइना रेलवे रोलिङ स्टक कर्पोरेशन (सीआरआरसी) ले यो रेल बनाएर सार्वजनिक गरेको हो ।

सीआरआरसीले सन् २०२१ देखि यो रेलको व्यावसायिक उत्पादन थाल्ने भएको छ । चीनले बनाएको यो रेलले भविष्यमा सडक यातायातको क्षेत्रमा क्रान्ति नै ल्याउने विश्वास गरिएको छ । यो रेलले हवाई र स्थल यात्राबीचको अन्तर पनि साँघुरो बनाउने छ । प्रतिघण्टा ६ सय किमि कुद्ने यो रेलले राजधानी बेइजिङबाट संघाईसम्मको यात्रा केबल साढे घण्टामै छिचोल्नेछ। अहिले सञ्चालित रेलबाट बेइजिङदेखि संघाई साढे ५ घण्टामा छिचोलिन्छ । जहाजको अधिक गति प्रतिघण्टा ८ देखि ९ सय किलोमिटरसम्म हुन्छ ।

अहिले जापान र चीनमा सञ्चालित रेल प्रतिघण्टा ३ सय ५० किलोमिटरसम्म कुद्छन् । चीनले यो रेल बनाउन तीन वर्ष लगाएको छ । यो रेल चुम्बकीय विकर्षणको नियमअनुसार बनाइएको छ । त्यहीकारण यो रेल जमिनको सतहभन्दा केही माथि कुद्छ । जमिनमा घर्षण नहुने भएकाले यो रेलले आफूलाई तीब्र गतिमा गन्तब्यमा लैजान्छ । निर्माण भइसकेको यो रेलको चीनले परीक्षण गरिरहेको छ । यो रेलले एक वर्षभित्रै सेवा सुरु गर्ने दाबी गरिएको छ ।

यो रेल परीक्षणमै प्रतिघण्टा ६ सय किलोमिटरको गतिमा कुदेको थियो । चीनसँगै रेल निर्माणमा विश्वलाई चकित बनाइरहेको जापानले पनि सन् २०१५ मा यस्तै रेल बनाएको थियो । उसले बनाएको म्यागलेभ रेल परीक्षणका क्रममा ६ सय ३ किलोमिटर प्रतिघण्टाले कुदेको थियो । रेलको अहिलेसम्मको यो उच्च गतिको रेकर्ड पनि हो । चीनले बनाएको पहिलो म्याग्लेभ प्रणालीको रेलवे सांघाईको पुटोङ एयरपोर्ट र सिटी सेन्टरबीचमा छ ।

यो रेल ४ सय ३१ किलोमिटर प्रतिघण्टाको दरले कुदिरहेको छ । यो अहिलेसम्मको सबैभन्दा तीव्र गतिको रेल हो । जापानले अहिले बनाइरहेको म्याग्लेभ प्रणालीको रेलको गति प्रतिघण्टा ५ सय किलोमिटर रहेको छ। यो प्रणालीका रेल चीन, दक्षिण कोरिया र जापानमा सञ्चालित छन्।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्