Logo
१२ असार २०८१, मंगलबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्राफिक जामका कारण सर्वोच्च शिखर सगरमाथामा मृतकको संख्या १० पुग्यो

काठमाडौं : सगरमाथा शिखरमा ट्राफिक जामका कारण मृत्यु हुनेहरुको संख्या १० पुगेको छ । अहिले सगरमाथा चढ्ने उपयुक्त सिजन भएकाले आरोहीहरुको भिड बढेको छ ।

पछिल्लो पटक ४४ वर्षीय बि्रटिश नागरिक रोबिन हायन्स फिसरको मृत्यु भएको छ । उनको शनिबार बिहान २८ हजार २१५ फिट उचाइमा मृत्यु भएको हो । उनको मृत्युसँगै सगरमाथामा ट्राफिक जामको कारण मृत्यु हुनेहरुको संख्या १० पुगेको अधिकारीहरुले जनाएका छन् ।

चढ्ने र ओर्लिने आरोहीहरुको संख्या अत्यधिक बढ्दा बाटोमा घण्टौं रोकिनुपर्ने बाध्यता हुने गरेको छ । यसैका कारण कतिपय आरोहीहरुको मृत्यु हुने गरेको छ ।

नेपाली शेर्पा गाइडहरुले ट्राफिक जाम हुने ठाउँलाई ‘मृत्यु क्षेत्र’ नाम दिएका छन् । उनीहरुले अहिले ट्राफिक जाम गम्भीर समस्या बनेको भन्दै नेपाल सरकारका अधिकारीहरुको ध्यानाकर्षण गराएका छन् ।

मैले धेरै पटक सगरमाथा चढेको छु तर वसन्त ऋतुको यो ट्राफिक जाम सबैभन्दा खतरानाक थियो,’ हालै २२ मेमा सगरमाथा चढेका एक शेर्पा गाइड छिरिङ जाङ्गबु शेर्पाले भने, ‘धेरैजसो अतिरिक्त अक्सिजन सिलिण्डर नबोकेर सगरमाथा चढ्नेहरु नै बढी प्रभावित भएका छन् । उनीहरु अत्यधिक चिसो र हावाको कारण होइन, ट्राफिक जामकै कारण पीडित भए ।’

उनका अनुसार उनको आरोहण टोलीले अर्को एक आरोहीबाट अक्सिजन सिलिण्डर सापटी लिनुपरेको थियो । सापटी नपाएको भए ती आरोही मर्ने थिए ।

चौथो शिविरदेखि शिखिरसम्मका विभिन्न स्थानमा ट्राफिक जाम हुने गरेको आरोहीहरु बताउँछन् । प्रत्येक आरोहीसँगै आरोहण सहयोगी पनि जाने भएकाले यस वर्ष एक हजारको हाराहारीमा मानिस सगरमाथाको शिखरमा पुग्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्