Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाजपाका संस्थापक नेता आडवाणी र मुरलीमनोहर जोशीलाई भेट्न निवासमै पुगे मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पार्टी भाजपाका संस्थापक नेता लालकृष्ण आडवाणी र अर्का संस्थापक नेता मुरलीमनोहर जोशीसँग भेट गरेका छन् ।

लोकसभा चुनावमा प्रचण्ड बहुमत हासिल गरेपछि मोदीले आडवाणीसँग भेट गरेका हुन् । मोदी नेता अमित साहसँगै आडवाणीलाई भेट्न उनको घर पुगेका थिए ।

अर्का संस्थापक नेता मुरलीमनोहर जोशीलाई भेट्न पनि उनले उनको निवासमै पुगेका थिए । पार्टी अध्यक्ष अमित शाहका साथ उनले जोशीलाई भेटेर आशिृवाद समेत लिएका थिए ।

खराब नियत राखेर कुनै काम गर्ने छैन
यसैबीच चुनावी विजयपछि नरेन्द्र मोदीले दिल्ली स्थित भाजपा मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गरेका छन् । उनले यो जित लोकतन्त्रको इतिहासको सबैभन्दा ठूलो घटना रहेको उल्लेख गर्दै बदनियतले कुनै काम नगर्ने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ नयाँ दिल्लीमा भाजपा कार्यालयमा आयोजित विजय सभामा सम्बोधन गर्दै यो अभूतपूर्व जितका लागि सबैलाई धन्यवाद प्रकट गरेका छन्। कार्यकर्ताहरुले ‘मोदी मोदी’ भन्दा उनी मुसुक्क मुस्काएका थिए।

‘देशभरिका करोडौँ नागरिकले यो फकिरको झोली भरिदिएका छन्, म भारतीय नागरिकको शिर झुकाएर नमन गर्दछु,’ उनले भने। ‘लोकतन्त्रप्रति भारतको प्रतिबद्धता पूरै विश्वले थाहा पाएको छ,’ मोदीले भने, ‘लोकतन्त्रका लागि जजसले बलिदान दिए, जो घायल भए- उनको परिवारजनप्रति समवेदना प्रकट गर्छु,’ उनले भने।

चुनाव प्रक्रिया उत्तम तरिकाले सम्पन्न गरेकामा उनले चुनाव आयोगलाई धेरै धेरै बधाई दिए। २०१९ को चुनावमा १ अर्ब ३० करोड भारतीयले श्रीकृष्णका रुपमा जवाफ दिएको मोदीको टिप्पणी थियो। ‘१ सय ३० करोड नागरिकले श्रीकृष्णका रुपमा भारतका लागि मतदान गरेका छन्,’ उनले भने।

यो चुनाव कुनै उम्मेदवार वा पार्टी होइन जनताले लडेका थिए

उनले यो चुनाव कुनै उम्मेदवार वा पार्टी होइन जनताले लडेका बताए। ‘हिन्दुस्थान विजयी भएको छ, लोकतन्त्र विजयी भएको छ, जनता जनार्दन विजयी भएका छन्,’ उनले भने, ‘यो विजयलाई हामी जनता जनार्दनको चरणकमलमा समर्पण गर्दछौँ।’

देशको उज्जवल भविष्यका लागि काँधमा काँध जोडेर सबैले प्रतिबद्धता गरेको मोदीको टिप्पणी थियो। चार राज्यको विधानसभा निर्वाचन विजयी भएकाहरुलाई पनि उनले धेरैधेरै बधाई दिए।

‘हामी कोही पनि आफ्नाो मार्गबाट विचलित हुनेछैनौँ,’ उनले भने। ‘हामी आफ्नो नम्रता, विवेक, आदर्श र संस्कार कहिल्यै छाड्दैनौँ,’ उनले भने। उनले यो मोदीको विजय नभई इमान्दार भारतीय नागरिक तथा शौचालयका लागि तड्पिरहेका व्यक्तिहरुको भएको उल्लेख गरे।

‘उपचार नपाएकाहरुको विजय हो, किसानहरुको हो जो पसिना बगाएर अरुको पेट भर्न आफ्नो पेट खालि राख्छन्,’ उनले भने। ‘यो पहिलो चुनाव थियो जसमा कसैले शासकहरुमाथि भ्रष्टाचारको आरोप लगाउन सकेनन्,’ उनले थपे।

यसपटकको चुनावले २१ औँ शताब्दीको शिलान्यास गरेको उनले बताए। उनले सबैलाई आफ्नो सोचमा परिवर्तन गर्न सबैलाई आग्रह पनि गरे। ‘भारतमा एउटा गरिब जाति छन्, अर्को देशलाई गरिबीबाट मुक्त गराउन चाहने जाति छन्, यी दुई जातिमात्र छन् हाम्रो देशमा,’ उनले भने।

यस्तो प्रचण्ड बहुमत धेरै ठूलो घटना भएको पनि उनले बताए। स्वतन्त्र भारतको स्पिरिट समृद्ध भारतको हुने उनले टिप्पणी गरे। जनताले सरकार बनाएको उल्लेख गर्दै लोकतन्त्र र भारतको संविधानको स्पिरिटअनुसार सर्वमतले देश चलाउने पनि उनले बताए।

‘म आज सार्वजनिक रुपले भन्छु, सबैको साथ लिएर चल्छौँ, पुरै नम्रतासाथ चल्छौँ,’ उनले भने। लोकसभा चुनाव २०१९मा भारतीय जनता पार्टीले प्रचण्ड जित निकाल्दै यसअघिको भन्दा पनि ठूलो बहुमत प्राप्त गरेको छ । नरेन्द्र मोदी लगातार दोस्रो पटक भारतको प्रधानमन्त्री बन्नेछन् ।

निर्वाचन आयोगले ५०२ सिटमा जित हासिल गर्ने उमेद्वार घोषणा गरिसकेको छ । जसमा भाजपाका २८८ उमेद्वा विजयी भएका छन् । १५ सिटमा भाजपाका उमेद्वारको अग्रता कायम छ । कांग्रेसले ५० सिट जितेको छ ।

२ सिटमा कांग्रेस उमेद्वार अगाडि छन् । शिवसेनाले १७, एनसीपीले पाँच, टीआएसले ९ तथा जनता दल यूनाइटेटले १६ सिट जितेका छन् ।भाजपाले राजस्थान, गुजरात, हरियाणा र दिल्लीमा क्लीन स्वीप गरेको छ भने उत्तर प्रदेश, महाराष्ट्र र बिहारमा बहुचर्चित विपक्षी गठबन्धलाई परास्त गरेको छ । पश्चिम बंगाल र ओडिशामा पार्टीले सर्वश्रेष्ठ प्रदर्शन गरेको छ ।

 

 

 

 

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्