Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले दिएको बधाइ सन्देशमा मोदीले दिए यस्तो जवाफ

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीलाई ऐतिहासिक जित दिलाएकोमा विश्वभरका नेताले उनलाई बधाइ दिइरहेका छन् ।

मोदीलाई बधाइ दिनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि पाकिस्तानी प्रधानमन्त्री इमरान खानसम्म छन् । बधाइ दिने सबैलाई मोदीले धन्यवाद दिएका छन् । बधाइ दिनेमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा राप्रपा अध्यक्ष कमल थापा पनि छन्। उनीहरू सबैलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले दिएको बधाइ सन्देशको जवाफमा मोदीले भनेका छन्, ‘तपाईँको शुभकामनाका लागि धन्यवाद।’ नेपाल र भारत पुरानो समयदेखि घनिष्ठ मित्र र छिमेकी देश रहँदै आएको चर्चा गर्दै उनले दुई देशका नागरिकबीचको सम्बन्धले यसलाई अझ मजबुत बनाएको बताएका छन् ।

उनले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा लैजान प्रधानमन्त्री ओलीसँग सहकार्य जारी राख्न चाहेको जनाएका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको बधाइ सन्देशको जवाफमा मोदीले यस क्षेत्रमा आफूले जहिले पनि शान्ति र विकासलाई प्राथमिकता दिएको जनाएका छन् ।

उनले बधाइ सन्देशका लागि इमरानप्रति हार्दिक आभार प्रकट गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बधाइ सन्देशको जवाफमा मोदीले भनेका छन्, ‘म तपाईँसँग निकटतापूर्वक द्विपक्षीय सम्बन्धका लागि काम गर्न उत्सुक छु, जो वैश्विक शान्ति र समृद्धिका लागि राम्रो होस्।’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मोदीलाई ट्वीटरमा हिन्दी भाषामै बधाइ सन्देश दिएका छन् ।

उनले भनेका छन्, ‘तपाईको प्रभावशाली जितमा हार्दिक बधाई, यो चुनावी नतिजाले एक पटक फेरि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा तपाईको नेतृत्वलाई प्रमाणित गरेको छ।’

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्