मोदीलाई भारी बहुमत: अभिनेता रवि किशन विजयी, सनी-हेमा जिततर्फ, उर्मिला, शत्रुघ्नको हार
भोजपुरी सुपरस्टार तथा बलिउड अभिनेता रवि किशनले गोरखपुरको सिटमा ३ लाख १ हजार ६६४ मतान्तरले विजय हासिल गरेका छन्।भारतीय जनता पार्टीले भारतभरि अभूतपूर्व विजय हासिल गरिरहेका बेला गोरखपुर निर्वाचन क्षेत्रबाट रवि किसन भारी मतान्तरसाथ विजयी भएका हुन्।
अमेठीबाट स्मृति इरानीले राहुल गान्धीलाई पराजित गरिसकेकी छन् भने अन्य कलाकार सन्नी देवल र हेमा मालिनी पनि जितको नजिक पुगिसकेका छन् । समाजवादी पार्टीका उम्मेदवार रामभुआल निशादलाई रवि किशनले भारी मतान्तरले हराएका हुन् ।
अनपेक्षित नतिजा आइरहेको भारतीय लोकसभा चुनाव परिणाम अहिले चर्चामा छ। यो वर्ष बलिउडका केही कलाकारले पनि उम्मेदवारी दिएका थिए। चुनावको नतिजा आउँदै गर्दा मतपरिणाम चाखलाग्दो बनेको छ।
भारतीय जनता पार्टिका तर्फबाट पञ्जाबको गुरदाशपुरमा उम्मेदवारी दिएका सन्नी देवलले अग्रता लिइरहेका छन्।
मत परिणामको अन्तिम चरणमा पुग्नै लाग्दा कांग्रेसका सुनिल कुमार जाकेरले ४३ प्रतिशत मत प्राप्त गरेको तथ्यांक छ भने सन्नी देवलले ५० प्रतिशत भोट ल्याएका छन्। उनले लगभग चुनाव जितिसकेका छन्।
यस्तै रामपुरबाट भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवारी दिएकी अर्की अभिनेत्री हुन् जया प्रदा ।
तर उनले कम मत प्राप्त गरेकी छन्। समाजवादी पार्टीका अजाम खानले ५७ प्रतिशत मत प्राप्त गर्दा जयाको ३७ प्रतिशत मात्र मत रहेको छ।
यस्तै भारतीय जनता पार्टीकै तर्फबाट मथुरामा चुनाव लडेकी हेमा मालिनी धेरै मतले अगाडि छिन्।
अहिलेसम्मको मतपरिणाम अनुसार ६२ प्रतिशत मत प्राप्त गरेकी हेमा भन्दा कांग्रेसका कुँवर नरेन्द्र सिंह २९ प्रतिशत पछि छन्। उनी जीतको एकदमै नजिक देखिन्छिन्।
मुम्बई उत्तरबाट कांग्रेसको प्रतिनिधित्व गरेकी अभिनेत्री उर्मिला मातोँडकरले नराम्रो हार व्यहोर्ने संकेत देखिएको छ।
अहिलेसम्मको मतगणनाले २३ प्रतिशतमात्र मत ल्याएको देखाउँदा उनका प्रतिपक्षी भारतीय जनता पार्टीका गोपाल सेट्टीले ७२ प्रतिशत भोट ल्याएका छन्।
उर्मिला डेढ लाखभन्दा बढी मतले पछाडि छिन्। कांग्रेसका तर्फबाट पटनाबाट उम्मेदवारी दिएका अभिनेता शत्रुघ्न सिन्हाले एकदमै कम मत पाएका छन्।
उनले ३२ प्रतिशत ल्याएकोमा उनका प्रतिपक्षि रविशंकर प्रसादले ६२ प्रतिशत मत ल्याएका छन्।
यस्तै अमेठीबाट भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवारी दिएकी अभिनेत्री स्मृति इरानीले कांग्रेसमा राहुल गान्धीलाई पछि पारेकी छन्।
उनले ४९ प्रतिशत मत प्राप्त गरेको तथ्यांकले देखाइरहँदा राहुल गान्धीले जम्मा ४४ प्रतिशत मत पाएका छन्। नयाँ दिल्लीमा बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै राहुल गान्धीले स्मृति इरानीलाई जितको बधाई दिइसकेका छन्। यद्यपि अन्तिम घोषणा भइसकेको छैन।