Logo
११ श्रावण २०८१, शुक्रबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरियन भाषा परीक्षा नजिकिँदै, तोकियो ३२ परीक्षा केन्द्र

काठमाडौं :  सन् २०२० मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारीमा जान दक्षिण कोरियाका लागि भाषा परीक्षाको आवेदन दिएका आवेदकका लागि परीक्षा केन्द्र तोकिएको छ । यही जेठ २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीका लागि ३२ वटा परीक्षा केन्द्र तोेकेको छ । यस पटकको भाषा परीक्षा सञ्चालन गर्नका पोखरामा ४ वटा, ललितपुरमा ७ वटा र काठमाडौं जिल्लामा २१ वटा भाषा परीक्षा केन्द्र तोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ।

शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले अघिल्लो वर्षभन्दा यो वर्ष परीक्षार्थीको सङ्ख्या बढी भएकाले यस पटक ४ वटा परीक्षा केन्द्र थप गरिएको जानकारी दिए। शाखाका अनुसार ९२ हजार ३७६ जनाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन्।

सबैभन्दा बढी उत्पादनतर्फ ६३ हजार ४८७ जनाको आवेदन परेको छ भने कृषितर्फ २८ हजार ८८६ जनाको आवेदन परेको छ। आवेदन दिनेमध्ये ७७ हजार ३९३ पुरुष र १४ हजार ९८३ महिला रहेका छन्। यो पटक आवेदन दिनेको सङ्ख्या गत वर्षभन्दा १० हजार ११२ जनाले बढी हो।

दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी)का अनुसार सन् २०२० मा १० हजार ५० जना नेपालीलाई रोजगारका लागि दक्षिण कोरिया लग्ने भएको छ। ईपीएस कोरिया शाखाका अनुसार आउँदो वर्षका लागि औद्योगिक तथा उत्पादनतर्फ ७ हजार ५० जना र कृषितर्फ ३ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ।

सन् २०२० मा ईपीएसमार्फत रोजगारीमा जानका लागि कोरिया भाषा परीक्षामा सहभागी हुनेले गएको चैत ८ गतेदेखि १७ गतेसम्म अनलाइन आवेदन दिएका थिए।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्