Logo
१२ श्रावण २०८१, शनिबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरियाको हवाई आक्रमणमा १ सय ६७ जनाको मृत्यु

गृहयुद्धमा होमिएको सिरियाको उत्तरपश्चिमी प्रान्त इडलिबमा गत अप्रिल २५ देखि हालसम्म १ सय ६७ जनाको हत्या भएको छ । इडलिब प्रान्तमा करिब ३० लाखको बसोबास छ । गत आइतबार मात्र पनि रुसको नेतृत्वमा सिरियाली सैनिकले गरेको हवाई आक्रमणमा कम्तीका ५ बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।

हवाई आक्रमणका कारण ५ बालबालिकाको ज्यान गएको बेलायत आवद्ध मानवअधिकार समूह सिरियाली अब्जरभेटरी फर ह्युम्यान राइट्सले पनि पुष्टी गरेको छ । रुसले इड्लिबमा युद्धविराम भएको घोषणा गरेको केही समयपछि गत आइतबार पुनः हवाई आक्रमण भएको थियो ।

इड्लिब प्रान्तको कफ्रान्बेल शहरको एक अस्पतालनजिक रुसको नेतृत्वमा हवाई आक्रमण भएको अब्जरभेटरीले जानकारी दिएको छ । सिरियामा सन् २०११ को मार्चमा सरकारको विरोध गर्दै शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा अल–कायदा र इस्लामिक स्टेट्सजस्ता आतङ्ककारी समूह हाबी हुँदै गएका छन् ।

सिरियामा जारी द्वन्द्वका कारण सन् २०११ देखि हालसम्म ३ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौंको सङ्ख्यामा घाइते भएका छन् भने अरु बीसौं लाख मानिस सिरियाभित्र र छिमेकी राष्ट्रमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्