Logo
१२ श्रावण २०८१, शनिबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदोदो पुन: एकपटक चुनिए राष्ट्रपतिको पदमा, विपक्षीले लगाए धाँधलीको आरोप

जकार्ता :  इन्डोनेसियाका राष्ट्रपति जोको बिदोदो दोस्रो कार्यकालका लागि चुनिएका छन् । १७ अप्रिलमा भएको राष्ट्रपतीय निर्वाचनको परिणाम सार्वजनिक गर्दै मंगलबार यहाँको निर्वाचन आयोगले बिदोदो राष्ट्रपतिमा निर्वाचित भएको बताएको छ ।

२०१४ को अक्टोबरदेखि राष्ट्रपति पद सम्हालेका इन्डोनेसियन डेमोक्रेटिक पार्टी अफ स्ट्रगलका नेता बिदोदोले दोस्रोपटक राष्ट्रपति चुनिँदा विपक्षी नेता प्राबोवो सुबियान्तोलाई परास्त गरे । यद्यपि, सुबियान्तोले भने विदोदोले चुनावमा धाँधली गरेको भन्दै हार अस्वीकार गरेका छन् । उनले चुनावी नतिजालाई लिएर अदालत जाने बताएका छन् ।

जनसंख्याका हिसाबले इन्डोनेसिया भारत र अमेरिकापछिको विश्वको तेस्रो ठूलो लोकतान्त्रिक देश हो । यहाँ १९ करोडभन्दा बढी मतदाता छन् । १७ अप्रिलमा यहाँ राष्ट्रपति, संसद् र स्थानीय तहका लागि एकैपटक मतदान भएको थियो । निर्वाचनमा झन्डै २० हजार सिटका लागि २ लाख ४० हजारभन्दा बढी उम्मेदवार भिडेका थिए ।

निर्वाचनमा ७ लाखभन्दा बढी कर्मचारी खटाइएका थिए । अत्यधिक गर्मीमा लामो समय दिनरात काम गर्दा ५६९ कर्मचारीले ‘ओभरलोड’का कारण बिरामी भई ज्यान गुमाएका थिए । विश्लेषकहरुले १७ अप्रिलको यो चुनावलाई विश्व इतिहासकै सबैभन्दा जटिल एकदिने चुनावमध्ये एक मानेका थिए ।

राष्ट्रपतीय चुनावको मतपरिणाम बुधबार सार्वजनिक गर्ने कार्यक्रम थियो । तर, विपक्षीको विरोधका बीच हिंसात्मक प्रदर्शन हुने खतरा देखेर निर्वाचन आयोगले एक दिनअघि नै परिणाम घोषणा गरिदियो । परिणाम घोषणापछि हिंसा हुने आशंकामा राजधानी जकार्तामा ३० हजार जवान तैनाथ गरिएको छ ।

२०१४ मा पनि विदोदोले सुबियान्तोलाई नै हराएका थिए । ५७ वर्षे विदोदो जकार्ताको कुलीन परिवारभन्दा बाहिरका पहिला इन्डोनेसियाली राष्ट्रपति हुन् ।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्