Logo
१२ श्रावण २०८१, शनिबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकेमा लागुऔषधसहित ७ जना पक्राउमा

बाँके :  लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा ७ पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल-भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो ।

प्रदेश नं ५ ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार भारतबाट नेपालगञ्ज आउँदै गरेका उनीहरुलाई कुकुरले सुँघेर पहिचान गरेको थियो । लागुऔषध विज्ञ गौरी नाम गरेको पोथी कुकुरले उनीहरुलाई नियन्त्रणमा लिन सहयोग गरेको प्रहरी निरीक्षक थापाले बताए । कुकुरको सहायतामा १० ग्राम ब्राउनसुगरसहित शर्मरानी गाउँपालिका-५ प्यूठानका अदिल मियाँलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरी निरीक्षक थापाका अनुसार सीमावर्ती भारतीय बजार रुपैडिहाबाट आउँदै गरेकी घोराही उपमहानगरपालिका-३ की लक्ष्मी खड्का र नेपालगञ्ज उपमहानगरपालिका-१० आदर्शनगरकी सुमन श्रेष्ठको साथबाट एक ग्राम ब्राउनसुगर बरामद गरिएको छ । कुकुरको सहायतामा उनीहरुलाई नियन्त्रणमा लिएको थापाले बताए ।

यस्तै नेपालगञ्ज-१८ भुजइगाउँका किशोरकुमार धोवीलाई ४ ट्याब्लेट नाइट्रोजन, १० क्याप्सुल स्पास्मो र १ बोत्तल अल्टोरेक्ससहित जमुनाहा नाकाबाट नियन्त्रणमा लिइएको छ । प्रहरीले कोहलपुर नगरपालिका-९ का राजेन्द्र हरिजनलाई ३९ ट्याब्लेट नाइट्रो भ्याटसहित पक्राउ गरेको छ ।

प्लाष्टिक झोलामा रहेको चनाभित्र लुकाएर रुपैडिहाबाट ल्याउने क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक थापाका अनुसार, रुपैडिहाबाट आउँदै गरेका थप दुई बालकका साथबाट ४ ट्याब्लेट नाइट्रोजन पनि बरामद भएको छ ।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्