Logo
१२ श्रावण २०८१, शनिबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोलिटब्युरो सदस्यको नामावली टुङ्ग्याउन अध्यक्षद्वय ओली प्रचण्डलाई सकस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पोलिटब्युरो सदस्यको नामवली टुङ्ग्याउन सकस परेको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले साङ्गठनिक एकीकरणमा फलामे ढोका मानिएको ७७ जिल्ला कमिटीको नेतृत्व टुङ्ग्याएपछि बाँकी रहेका एकीकरणका काम सहजै टुङ्ग्याउने बताएका थिए ।

तर अहिले नेताहरूलाई पोलिटव्युरो र केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्ग्याउन झनै ठूलो सकस परेको छ । लामो गृहकार्यपछि पनि पार्टी अध्यक्षद्वय ओली र प्रचण्डले पोलिटब्युरोमा रहने सदस्यको नामावली टुङ्ग्याउन सकेका छैनन्, जसले गर्दा तत्काल पोलिटब्युरो गठन नहुने भएको छ ।

स्रोतका अनुसार अध्यक्षद्वय ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको पटक पटकको छलफलपछि पनि सहमति जुट्न नसकेपछि पोलिटब्युरो गठन तत्काल सम्भव नभएको हो । ‘तत्कालीन दुवै पार्टीबाट पोलिटब्युरो सदस्यमा पर्ने कमरेडहरूको नामावली टुङ्ग्याउन कठिन भएको छ, सचिवालयका एक नेताले भने, ‘अध्यक्षद्वय ओली, प्रचण्ड र माधव कमरेडबीचमा पटक पटक छलफल भएको थियो । तर सहमति जुट्न सकेको छैन । मलाई लाग्छ तत्काल पोलिटब्युरो गठन हुने सम्भावना कम छ ।’

पार्टी विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाइ अर्थात् १ सय ४७ सदस्यीय पोलिटब्युरो गठन हुनेछ । शीर्ष नेताहरूबीचको सहमतिअनुसार तत्कालीन एमालेबाट ८१ र माओवादीबाट ६६ जना पोलिटब्युरो सदस्य रहने छन् । सचिवालयका ती नेताका अनुसार तत्कालीन एमालेको भागमा परेका सदस्यको नामावलीमा टुङ्ग्याउने विषयमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच सहमति जुट्न सकेको छैन । तत्कालीन एमालेको साविककै पोलिटब्युरोमा रहेका सदस्य स्वतः अहिले पोलिटब्युरोमा रहने र त्यसबाहेक दुई पटक केन्द्रीय सदस्य भइसकेकाबाट नामावली छनोट गर्ने मापदण्ड बनाए पनि अध्यक्ष ओली र नेता नेपालबीच सहमति जुट्न सकेको छैन । तत्कालीन एमालेका ६५ सदस्यीय पोलिटब्युरो रहेको थियो ।

दुई नेताबीचमा सहमति जुट्न नसकेपछि आइतबार बस्ने भनिएको सचिवालय बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ ।

त्यस्तै तत्कालीन माओवादीतर्फ पनि अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य रामबहादुर थापा बादलबीचमा सहमति नहुँदा पोलिटब्युरो सदस्यको नामावली टुङ्गिन सकेन । तत्कालीन माओवादीतर्फ भने साविकको पोलिटब्युरो सदस्य सङ्ख्या भद्रगोल अवस्थामा भएपछि सचिवालयबाट छनोट गर्ने भएको छ

। सचिवालयमा रहेका पनि सिनियर नेता मात्रै पोलिटब्युरोमा पर्ने भएका छन् । तर सिनियरको सङ्ख्या पनि धेरै भएको भन्दै नेताहरू गुटका आधारमा सदस्यको नामावली छनोटमा जुटे पनि सहमति भने हुन सकेको छैन । तत्कालीन माओवादीतर्फ हाल नेकपाको स्थायी कमिटीमा रहेका १९ जना स्वतः पोलिटब्युरोमा सदस्य रहनेछन् भने बाँकी ४७ सदस्य छान्नुपर्ने छ ।

‘बाहिर मिडियामा आएजस्तो पोलिटब्युरोमा रहने कमरेडहरूको नामावली टुङ्गिएको थिएन । हामीले मापदण्ड तय गरेका छौँ । त्यसकै आधारमा छलफल भएको छ, स्थायी कमिटीका एक सदस्यले भने, ‘तर त्यही मापदण्ड लागू हुँदा पनि धेरै कमरेडहरू सिनियर देखिनुहुन्छ । दाबी सबैको छ । त्यसले गर्दा पनि सहमति हुन सकेको छैन । नेताहरू छलफलमै हुनुहुन्छ, सायद केही दिनमै टुङ्गिएला’, ती नेताले भने ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्