Logo
२ जेष्ठ २०८१, बुधबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा लोकसभा निर्वाचन : मत सर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको कङ्ग्रेस नेताको आरोप

नयाँदिल्ली : भारतीय कङ्ग्रेस पार्टीका वरिष्ठ नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको भन्दै त्यसलाई अस्वीकार गरेका छन् । उनले आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र विश्वास गर्न सकिने बताए ।

‘चुनावी मतसर्वेक्षण सबै गलत रहेको मेरो बुझाई छ । गतसाता अस्ट्रेलियामा सम्पन्न ५६ विभिन्न मतसर्वेक्षण सबै गलत साबित भएका थिए । भारतमा पनि धेरै मानिसले सर्वेक्षकलाई सबै कुरा बताउँदैनन् ।

वास्तविक परिणाम त आगामी बिहीबार मात्र थाहा हुनेछ,’ थरुरले ट्वीट गर्दै भनेका छन् ।

एक अर्को ट्वीटमा नेता थरुरले मतसर्वेक्षणमा आएका काल्पनिक संख्याका बारेमा निरर्थक बहस गर्नुको कुनै औचित्य नभएको बताए । थरुरझैं धेरैजना विपक्षी नेताहरुले मतसर्वेक्षणका नतिजाप्रति आपत्ति जनाएका छन् ।

नेसनल कन्फ्रेन्सका नेता ओमर अब्दुल्लाहले टिभी र सोसल मिडिया बन्द गरेर आगामी बिहीबारको दिनलाई पर्खनु नै बुद्धिमानी हुने बताए ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले पनि चुनावी मतसर्वेक्षणले आम मानिसको भावनालाई समेट्न नसकेको बताएका छन् । हरेक पटकका मतसर्वेक्षणहरु सही नभएका र धरातलीय यथार्थबाट टाढा रहेको पाइएको छ, नायडुले भने । ‘आफ्नो पार्टी टिडीपीले आन्ध्र प्रदेशमा जित्ने कुरामा कुनै शंकै छैन, भारतीय जनता पार्टी बाहेकको सरकार केन्द्रमा बन्दैछ ।’

टेलिभिजन च्यानलमा प्रसारित सबैजसो चुनावी मतसर्वेक्षणले भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले नै केन्द्रमा सरकार बनाउने आँकलन गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नै आगामी सरकारको नेतृत्व गर्ने सर्वेक्षणमा देखाइएको छ ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्