Logo
१२ श्रावण २०८१, शनिबार
(May 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब नयाँ वसपार्क क्षेत्रमा हुने विकृति विसङ्गति अन्त्य गरिने

काठमाडौँ : नयाँ वसपार्क क्षेत्रमा हुने विकृति विसङ्गति अन्त्य गरिने भएको छ । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गोँगबुले आयोजना गरेको कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले शान्त, सुरक्षित र सभ्य नयाँ बसपार्क निर्माण गर्न गोँगबु क्षेत्रमा देखिएको विकृति विसङ्गति अन्त्य गर्नुपर्ने बताए ।

कार्यक्रममा एसएसपी सुवेदीले गोँगबु क्षेत्रको विकृति अन्त्यको लागि स्थानीय समुदायको पनि महत्वपूर्ण भूमिका रहेको बताए । ‘नयाँ बसपार्क क्षेत्रमा हुने अनैतिक क्रियाकलापविरुद्ध प्रहरी कठोर रुपमा उभिन्छ,’ उनले भने । परिसर प्रमुख सुवेदीले व्यवसायको नाममा विकृति फैलाउने जोकोहीलाई कारबाही गरिने बताए । गोँगबु क्षेत्रका जनता पीडकको पक्षमा भन्दा पीडितको पक्षमा आवाज उठाउनुपर्ने उनको भनाई थियो ।

टोखा नगरपालिका-९ का अध्यक्ष जोगप्रसाद नेपालले मर्यादित भएर आफ्नो व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे । ‘होटल व्यवसायको शिलशिलामा देखिएका कानूनी अफठ्यारा समाधानका लागि नगरपालिका सँधै लाग्नेछ,’ उनले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रको सुधारका लागि गोँगबु क्षेत्रमा मापदण्ड विपरीत सञ्चालन भएका बाटोका पसल हटाउनुपर्ने बताए । ‘नयाँ बसपार्क वरपर जथाभावी रुपमा सञ्चालन भएका टिकट काउन्टरलाई बसपार्कभित्र लैजान महासङ्घ लागेको छ,’ उनले भने ।

काठमाडौँ होटल व्यवसायी सङ्घका अध्यक्ष पदम योङहाङ, नेपाल होटल व्यवसायी सङ्घका महासचिव गणेश ढकाललगायतले नयाँ बसपार्क क्षेत्रमा विकराल रुपमा रहेको होटल गाइड हटाउन आफ्नो सङ्घ लागेको उल्लेख गरे । सामुदायिक सेवा केन्द्र गोँगबुका अध्यक्ष राकेश सिंहले नमूना गोँगबु निर्माणका लागि सामुदायिक सेवा केन्द्रले काम गरिरहेको बताए ।

कार्यक्रममा गोँगबु क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाका प्रतिनिधी तथा सदस्यले मर्यादित रुपमा आफ्नो व्यवसाय सञ्चालन गरेर राष्ट्रिय बसपार्कलाई नमूना बसपार्कको रुपमा विकास गर्न लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: May 19, 2019

प्रतिक्रिया दिनुहोस्