Logo
१२ श्रावण २०८१, शनिबार
(May 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषिको व्यवसायीकरण र आधुनिकीकरण राज्यको प्रमुख प्राथमिकता हुनुपर्छ: अध्यक्ष दाहाल

नुवाकोट: नुवाकोटको ककनी गाउँपालिकाको रानीपौवा बजारमा शनिबारदेखि ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’ शुरु भएको छ । पाँच दिनसम्म चल्ने मेलाको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो ।

विद्युतीय उपकरणमार्फत मकै छोडाएर मेलाको उद्घाटन गर्दै दाहालले मुलुकलाई समृद्धिको मुख्य आधार कृषि भएकाले यसलाई आकर्षक पेशाका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो । “कृषिलाई राजनीतिमा जोडेर समाज रुपान्तरणका लागि किसानको नेता बोगटीको सपना पूरा गर्नका लागि मेला सान्दर्भिक बनेको छ”, उहाँले भन्नुभयो, “विकास, समृद्धि र रोजगारका लागि कृषि मुख्य आधार भएकाले यसको व्यवसायीकरण र आधुनिकीकरणमा सरकारले प्रमुख प्रथामिकता दिनुपर्दछ ।”

अहिले पनि बहुसङ्ख्यक नागरिक कृषि पेशामा आबद्ध भएका छन् तर वार्षिक अर्बौं रुपैयाँ खर्चिएर आयात भइरहेको कृषि सामग्री र उपकरण हटाउन सरकारले अनुदान, बजारीकरण र कृषि पेशालाई सम्मानित बनाउनुपर्ने उहाँको भनाइ छ ।

मेलामा नेकपाका नेता पम्फा भुसाल, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, प्रदेससभा सदस्य केशवराज पाण्डे, बद्रीप्रसाद मैनाली, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतलगायतका वक्ताले दिवङ्गत नेता बोगटीले कृषकको अधिकार स्थापना र रानीतिमा किसानको सहभागितामार्फत पुर्‍याएको योगदानको स्मरण गर्नुभयो । मेलाको अवलोकन गर्न पहिलो दिन आज पूर्वमन्त्री जनार्दन शर्मा, अग्निप्रसाद सापकोटा, प्रदेश नं ३ का उपसभामुख राधिका तामाङलगायतका जनप्रतिनिधि ककनीको रानीपौवा आउनुभयो । आजदेखि शुरु भएर पाँच दिनसम्म चल्ने मेलामा ९० वटा कक्ष राखिएका छन् ।

स्थानीय कृषि उत्पादन, कृषि सामग्री र कृषि परामर्श केन्द्रका लागि निःशुल्क कक्ष उपलब्ध गराइएको छ भने बाँकीलाई व्यावसायिक प्रयोजनका लागि उपलब्ध गराइएको छ । मेलामा नुवाकोटका १२ वटै स्थानीयतहको पहिचान झल्कने कृषि तथा वन पैदावरका उत्पादन बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । मेलामा आकर्षकका रुपमा ट्राउट माछा, स्ट्रबेरी, काफल, शिखरबेंसीको चामल, पिँडालु, आलु, किम्ताङको अर्गानिक चिया, कफी, विभिन्न जातका तरकारी र अन्नबाली रहेका छन् ।

यसैगरी, पशुचौपायअन्तर्गत बाख्रा, बोयर र जमुनापारी जातका बोका, खसी बिक्री तथा प्रदर्शनीमा राखिएको छ । मेलामा कृषि औजार, यान्त्रिकीकरण, तरकारी एवं फलफूलको बीउ, बिरुवासमेत उपलब्ध छन् ।

पूर्वमन्त्रीसमेत रहनुभएका तत्कालीन नेकपा (माओवादी)का केन्द्रीय उपाध्यक्ष तथा अखिल नेपाल किसान महासङ्घको केन्द्रीय अध्यक्षसमेत भएर कृषि क्षेत्रमा योगदान पुर्‍याउनुभएका पोष्टबहादुर बोगटीको विसं २०७१ भदौ ३० गते हृदयाघातका कारण निधनको भएको थियो । पार्टीमा निष्ठावान् तथा इमान्दार नेताका रुपमा छवी बनाउनुभएका उहाँले पुर्‍याएको योगदानको जनस्तरसम्म स्थापित गराउन पार्टीले विसं २०७२ असोज २८ गते ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’ गठन गरेको थियो ।

करीब ५० हजार अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको मेलाको सहआयोजक रहेको ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताउनुभयो ।

 

प्रकाशित मिति: May 19, 2019

प्रतिक्रिया दिनुहोस्