Logo
१२ श्रावण २०८१, शनिबार
(May 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन चोर्ने प्रधानाध्यापक प्रहरी हिरासतमा

सांकेतिक तस्बिर

मेलम्ची :  अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी २ तोलाभन्दा बढी सुन र नगद रु ३ हजार चोरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

लामो समयदेखि सोही स्कूलमा पढाउँदै आएकी जोशीले दिउँसो ३ बजेतिर माया घलेको घरमा पसेर दराजमा भएको सुन चोरेको पीडित घलेले बताए । सुन चोरेर भाग्ने क्रममा स्थानीयवासीको सहयोगमा बाटोबाटै नियन्त्रणमा लिएको घलेको भनाइ छ । आफ्नो औँठी लगाएको देखेपछि सुन चोरेको रहस्य खुलेको थियो । स्थानीयवासीको सहयोगमा चोरलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको थियो ।

अभियुक्त जोशी पटकपटक विभिन्न घटनामा संलग्न रहेको आरोप लाग्दै आएको मेलम्ची नगरपालिकाका शिक्षा शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । जोशी कहिले स्कूल जाने त कहिले नजाने गरी काम गर्दै आएको र स्कूल जाँदा पनि मादक पदार्थ सेवन गरेर जाने गरेको स्थानीयवासी गोविन्द घलेको भनाइ छ ।

जोशीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय मेलम्चीमा राखिएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

प्रकाशित मिति: May 17, 2019

प्रतिक्रिया दिनुहोस्