Logo
१२ श्रावण २०८१, शनिबार
(May 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यानाडामाथि फिलिपिन्सको दबाब, फिर्ता बोलाइए राजदूत

एजेन्सी : फिलिपिन्सले क्यानाडामा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउनुका साथै क्यानाडास्थित नियोगको दर्जा कटौती गरेको छ । क्यानाडाले फिलिपिन्समा छ वर्षअघि थुपारेको फोहोर फिर्ता नलगेसम्म क्यानाडाको आफ्नो कुटनीतिक नियोगको दर्जामा पुनर्विचार नगरिने फिलिपिन्सका विदेश सचिव टिओडोरो लोक्सीनले बताए ।

सन् २०१३/२०१४ मा क्यानाडाले फिलिपिन्सको तटीय इलाकामा सयौं टन फोहोर फालेको थियो । फिलिपिन्सले उक्त फोहोर जतिसक्दो चाँडो फिर्ता लैजान क्यानाडामाथि दबाब दिँदै आएको छ । विदेश सचिव लोक्सीनले ट्वीटमा भनेका छन्, क्यानाडाले फोहोर लैजाने मे १५ को समयसीमा नाघेको छ । तत्काल क्यानाडाले काम शुरु नगरे हामी कुटनीतिक दर्जालाई घटाउनेछौं । उनले क्यानाडामा रहेका फिलिपिन्सका राजदूतलाई तत्काल क्यानाडा छाड्न आदेश दिइएको पनि बताए ।

मनिलास्थित क्यानाडेली राजदूतावासले उक्त विषय सुल्झाउन काम गरिरहेको जनाएको छ । क्यानाडाले सन् २०१३/२०१४ को अवधिमा १०३ सिपिङ कन्टेनर फोहोर फिलिपिन्स पठाएको थियो । हालसम्म ३४ वटा कन्टेनरको फोहोर मात्र नष्ट गरिएको र बाँकी ६९ कन्टेनर फोहोर त्यतिकै राखिएको छ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले क्यानाडाले फोहोर तह लगाउने सन्दर्भमा पर्याप्त कदम नचालेको भन्दै ती कन्टेनर क्यानाडा फिर्ता पठाइदिने बताएका छन् ।

गत साता राष्ट्रपति डुटर्टेले फिलिपिन्स आइपुगेको फोहोर फिर्ता लैजान मे १५ को समयसीमा तोकेको थियो । फिलिपिन्सको एक अदालतले गत अप्रिल २४ मा फिलिपिन्स पुगेको फोहोर क्यानाडा नै फर्काउन आदेश दिएको थियो ।

प्रकाशित मिति: May 16, 2019

प्रतिक्रिया दिनुहोस्