Logo
३१ बैशाख २०८१, सोमबार
(May 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्नपूर्ण बेसक्याम्पका व्यवसायीको गुनासो : पर्यटक आई हाले राख्न सक्ने अवस्था छैन

पोखरा : ट्रेकिङका लागि विश्वकै चर्चित मानिन्छ अन्नपूर्ण बेसक्याम्प । विशेष गरि चैत, वैशाख, असोज, कात्तिक र मंसिरलाई पदमार्गको लागि उपयुक्त समय मानिन्छ । जुन समयमा दैनिक चारदेखि पाँच सय आन्तरिक तथा बाह्य पर्यटक अन्नपूर्ण बेसक्याम्प पुग्ने गर्छन् ।

अन्नपूर्ण बेसक्याम्पमा ४ वटा होटल सञ्चालनमा छन् । गएको फागुन १५ गते आएको हिमआँधीले अन्नपूर्ण बेसक्याम्पमा रहेका ती सबै होटल भत्किएका छन् । होटल पूर्ण रुपमा ध्वस्त छन् । हिमआँधीका कारण मानवीय क्षति भने भएको थिएन ।

भारी हिमपातका कारण तत्कालै पुनःनिर्माण गर्न पनि नसकेको स्थानीय व्यवसायी बताउँछन् । पुनःनिर्माण गर्न नसक्दा पर्यटकको बुकिङ पनि रद्द गर्नुपरेको व्यवसायी जगनराज गुरुङले बताए । उनका अनुसार हिमआँधीले अन्नपूर्ण पदमार्ग समेत ध्वस्त भएको छ, पुन निर्माणका लागि सामग्री लैजान पनि गाह्रो छ ।

तर, सरकारी तवरबाट पुनःनिर्माणका लागि कुनै पहल भएको छैन । ‘पर्यटकहरु आई हाले भने राख्न सक्ने अवस्था छैन,’ उनले भने, ‘नेपालको अर्थतन्त्रको ठुलो हिस्सा पर्यटनले ओगटेको छ । त्यसमध्ये पनि नेपाल घुम्न आउने अधिकाशं पर्यटक अन्नपूर्ण बेसक्याम्प पुग्ने गरेको तथ्याँकमा छ । बेसक्याम्प यस्तो अवस्थामा पुग्दासमेत पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले चासो नदिँदा हामीलाई दुःख लागेको छ ।’

बेसक्याम्पमा पर्यटक जान नसक्ने अवस्थामा पनि नेपाल सरकार र पर्यटन मन्त्रालय बेखबर रहेको उनले गुनासो गरे । ‘मन्त्रालय त बेखबर रह्यो नै । स्थानीय र प्रदेश सरकारले पनि खासै चासो देखाएको छैन,’ उनले थपे ।

अहिले स्थानीयवासीकै पहलमा पुन निर्माणको काम थालेको उनले सुनाए । पुननिर्माणको लागि आवश्यक सामग्री हेलिकप्टर र भरियामार्फत ७५ प्रतिशत पुगिसकेको उनले जानकारी दिए । ‘आवश्यक सामग्री लगभग पुगिसकेको छ । आउँदो साउनसम्ममा पुननिर्माणको काम सक्ने लक्ष्य छ,’ उनले भने ।

प्रकाशित मिति: May 14, 2019

प्रतिक्रिया दिनुहोस्