Logo
१७ बैशाख २०८१, सोमबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली चलचित्र जगतका यी ६ चर्चित लभ बर्ड्स जो छुट्टिदैनन् एकछिन पनि

काठमाडौँ :  हलिउड-बलिउडझैं नेपाली चलचित्र उद्योगमा पनि सेलिब्रेटीहरूको लभ- रोमान्स तथा ब्रेकअपको श्रृंखला चलिरहन्छ । कुनै एउटा चलचित्रमा सँगै काम गर्नेबित्तिकै रोमान्समा परेको गसिप बन्नु तथा दोस्रो चलचित्रमा त्यही जोडी दोहोरिएन भने ब्रेकअप भएको अनुमान गर्दै पुन: अर्को गसिप बन्नु नौलो कुरा रहेन ।

यद्यपि हामीले भ्यालेन्टाइन्स डेको अवसर पारेर ६ वटा त्यस्ता जोडीका बारेमा सामग्री तयार पारेका छौं, जो रियल लाइफमै रोमान्स गरिरहेका छन् ।

प्रियंका कार्की र आयुष्मान देशराज जोशी

नेपाली चलचित्र क्षेत्रकी नम्बर एक अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज जोशीको जोडी अहिले चर्चामा छ । करिब २ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले विवाहको रूप दिने निर्णय गरिसकेका छन् । केही महिनाअघि नै इन्गेज्मेन्ट गरेर उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई औपचारिक रूप दिइसकेका छन् । पारिवारिक रूपमै सहमति गरेर इन्गेज्मेन्ट गरेका प्रियंका र आयुष्मानले आफ्नो प्रेम सम्बन्धलाई थप मजुबत बनाउँदै लगेका छन् ।

प्रियंका र आयुष्मानको प्रेम सम्बन्ध छोटो समयका लागि हो भन्नेहरूलाई उनीहरूले गरेको इन्गेज्मेन्टले ठूलै जवाफ दिएको छ । उनीहरूले आगामी असार महिनामा विवाह गर्ने घोषणा नै गरिसकेका छन् । त्यसो त प्रियंका र आयुष्मानको प्रेम सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी तथा ट्रोलको बाढी नै चल्छ ।

प्रियंकाको अघिल्लो वैवाहिक सम्बन्ध असफल भएको तथा उनी आयुष्मानभन्दा उमेरले जेठी भएका कारण यो सम्बन्ध दिगो नहुने आशयका टिप्पणीहरू पनि सार्वजनिक भएका छन् । यता प्रियंका र आयुष्मानले हालै मात्र आयंका फाउन्डेसनको घोषणा सभामा जीवनभर साथ रहने ‘कसम’ नै खाएका छन् । उनीहरूले प्रेममा जात तथा उमेरले फरक नपार्ने समेत बताएका छन् ।

पल शाह र आँचल शर्मा

हुन त अभिनेता पल शाह तथा अभिनेत्री आँचल शर्माले आजका मितिसम्म आफूलाई ‘जोडी’ भएको औपचारिक घोषणा गरेका छैनन् । यद्यपि आमदर्शकमाझ मात्र होइन चलचित्रवृत्तमा समेत उनीहरू ‘कपल’ हुन् भन्ने कुराको जानकारी छ ।

‘आँप’ जोडीका रूपमा समेत चर्चित यो जोडीले दर्जनौं भिडियोमा जोडीकै रूपमा अनस्क्रिन रोमान्स गरिसकेको छ भने केही चलचित्रमा पनि उनीहरूले जोडीकै रूपमा अभिनय गरेका छन् । काठमाडौंमा हालै आयोजित एउटा सार्वजनिक समारोहमा अभिनेत्री आँचल शर्मा तथा एक सञ्चारकर्मीबीच भएको सवाल-जवाफपछि अभिनेता पल शाहले आँचलको बचाउ गर्दै लेखेको स्टाटसले उनीहरूको निकटता पुष्टि गरेको छ ।

विगत केही वर्षदेखि नै रोमान्समा रहेको यो जोडीले आफूलाई बेस्ट फ्रेन्ड मात्र बताइरहेको छ । यो जोडीले ३ वटा चलचित्रमा लगातार सँगै काम गरे पनि पछिल्लो समयमा आएर उनीहरूले केही चलचित्रमा अलग-अलग अभिनेता-अभिनेत्रीसँग काम गरेका छन् ।

दिवाकर भट्टराई तथा दीपिका प्रसाईं

हालै मात्र वैवाहिक सम्बन्धमा बाँधिएका निर्देशक दिवाकर भट्टराई तथा नायिका दीपिका प्रसाईं आफूहरू झन्डै ४ वर्ष अघिदेखि प्रेममा रहेको बताएका छन् । चलचित्र ‘ऐश्वर्य’ मार्फत रजतपटमा आएकी अभिनेत्री हुन्-दीपिका प्रसाईं ।

उक्त चलचित्रलाई दिवाकर भट्टराईले नै निर्देशन गरेका हुन् । वास्तवमा दीपिकालाई चलचित्रमा ल्याउने व्यक्ति दिवाकर नै हुन् । दीपिका अध्ययन पूरा गरेर बैंकिङ क्षेत्रमा करियर बनाउने योजनामा थिइन् । उनका प्रेमी दिवाकरले उनलाई चलचित्रमा सम्भावना देखाए अनि आफ्नै निर्देशनको चलचित्र ‘ऐश्वर्य’ डेब्यु गराए ।

दिवाकरको सपना साकार भयो । दीपिकाले पहिलो चलचित्रबाटै राम्रो सम्भावना देखिइन् । उनले दोस्रो चलचित्र छक्का पञ्जा–३ मा पनि उत्कृष्ट अभिनय गरिन् । लगातार दुईवटा चलचित्र सफल भएपछि दीपिका र दिवाकरले केही महिनाअघि आफ्नो प्रेम सम्बन्ध मात्र सार्वजनिक गरेनन्, इन्गेज्मेन्ट नै गरे । यतिबेला उनीहरू पनि विवाहको तयारीमा छन् यद्यपि दुवैले विवाहको मिति भने सार्वजनिक गरिसकेका छैनन् ।

सुदर्शन थापा र पूजा शर्मा

नेपाली चलचित्रमा एउटा त्यस्तो जोडी पनि छ, जो प्रेममा छ, यद्यपि खुलेर त्यो प्रेमलाई अभिव्यक्त गर्न रुचाउँदैन । उक्त जोडी हो- निर्देशक सुदर्शन थापा तथा अभिनेत्री पूजा शर्माको । पूजा र सुदर्शनले चलचित्र निर्माणमा सहकार्य गरेको धेरै भयो । पूजाले अभिनय गरेका अधिकांश चलचित्र सुदर्शनले नै निर्देशन गर्छन् । सुदर्शन पनि आफ्नो चलचित्रमा पूजालाई नै मुख्य अभिनेत्री बनाउँछन् ।

यतिबेला पूजा र सुदर्शन बेलायतमा छन् । उनीहरू चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकनका लागि त्यहाँ पुगेका हुन् । लामो समयदेखि सहकार्यमा रहे पनि उनीहरूले आफूलाई असल साथीबाहेक माथि राखेको कुरा व्यक्त गर्न चाहेका छैनन् । नजिकबाट चिन्नेहरूले भने उनीहरूलाई प्रेमी-प्रेमिकाकै रूपमा लिन्छन् । उनीहरूको जोडीले आधा दर्जनभन्दा बढी सफल चलचित्र दिइसकेको छ । अभिनय तथा निर्देशनको करियरमा दुवै एक-अर्काका परिपूरक भए पनि सार्वजनिक जीवनमा भने उनीहरूले आफूलाई प्रेमी-प्रेमिकाका रूपमा कहिले चिनाउने हुन् ? यसै भन्न सकिँदैन ।

सृष्टि श्रेष्ठ र सौगात मल्ल

अभिनेत्री सृष्टि श्रेष्ठ तथा अभिनेता सौगात मल्लको सम्बन्ध पनि निकै रोचक छ । प्रारम्भमा यो जोडीले आफ्नो प्रेम सम्बन्धलाई सार्वजनिक गर्न चाहेन । उनीहरूले आफूहरू असल साथीका रूपमा मात्र सीमित भएको बताइरहे ।

यद्यपि सञ्चारमाध्यमले लगातार पछ्याइरहेपछि उनीहरूलाई आफ्नो प्रेम सम्बन्ध स्वीकार गर्न करै लाग्यो । उनीहरू दुवैले आफ्नो प्रेम स्वीकार मात्र गरेनन्, लामो समयदेखि प्रेममा रहेको समेत बताइदिए । उनीहरूले फुर्सदको क्षण सँगै बिताउने बताइसकेका छन् । सृष्टि र सौगातले आफ्नो सम्बन्धलाई विवाहको रूप दिने विषयमा भने मुख खोलिसकेका छैनन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह तथा देवांश जंगबहादुर राणा

माथि उल्लेख गरिएका पाँच जोडीझैं अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह तथा देवांश जंगबहादुर राणा पनि प्रेममा छन् । यद्यपि माथिका चार जोडीझैं यिनीहरूले भने आफ्नो प्रेम सम्बन्धलाई सार्वजनिक गरेका छैनन् । उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई सार्वजनिक नगरे पनि पछिल्ला सार्वजनिक समारोहहरूमा उनीहरू प्रायस् सँगसँगै देखिएपछि सञ्चार माध्यमहरूले उनीहरूको प्रेम प्रसंग सार्वजनिक गरेका हुन् ।

भनिन्छ- उनीहरू पछिल्लो ८-९ महिनादेखि प्रेममा छन् । साम्राज्ञीका प्रेमी राणा उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा हुन् । यसअघि मयंक खड्कासँग प्रेम सम्बन्धमा रहेकी साम्राज्ञी उक्त सम्बन्ध बिग्रिएपछि देवांशसँग नजिकिएकी हुन् । साम्राज्ञी र देवांशको प्रेम सम्बन्ध चलचित्र निर्देशक रेनशा वान्तवा राईको बर्थडे पार्टीमा खुलासा भएको थियो ।

उक्त पार्टीमा उनीहरूले क्लोज अप सेल्फी मात्र होइन, अंगालोमा बाँधिएर नृत्य गरेको समाचार सार्वजनिक भएको थियो । साम्राज्ञीले त्यसयता सहभागिता जनाएका अधिकांश सार्वजनिक समारोहमा देवांशलाई आफूसँगै लाने गरेकी छिन् । देवांशले स्विट्जरल्यान्डबाट हस्पिटालिटी म्यानेज्मेन्टमा स्नातक गरेका छन् ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्