असिना पानीसँगै चट्याङ, ८ जना घाइते
काठमाडौं : हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा ८ जना घाइते भएका छन् ।
आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन् ।
घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए । उनीहरुलाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर आइतबार साँझ नै जिल्ला अस्पतालमा ल्याइएको थियो ।
घाइतेमध्ये खेमकुमारीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।