Logo
६ जेष्ठ २०८१, आईतबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानको फाइभ स्टार होटलमा आक्रमण, गोली लागेर सुरक्षा गार्डको मृत्यु

इश्लामाबाद :   पाकिस्तानको बलुचिस्तानस्थित फाइभ स्टार होटल जाभर पर्ल कन्टिनेन्टलमा शनिबार अपरान्ह बन्दुकधारीहरुले आक्रमण गरेका छन् ।

पाकिस्तानी अधिकारीहरुका अनुसार गोली चल्नासाथै होटलमा रहेका अतिथीलाई बाहिर निकालिएको थियो । यद्यपि रमादान पर्व चलिरहेका कारण होटलमा धेरै अतिथी भने थिएनन् । एक जना सुरक्षा गार्डको गोली लागेर मृत्यु भएको बताइएको छ ।

त्यस्तै केही आक्रमणकारीपनि मारिएका छन् । सुरक्षाकर्मी र कट्टरपन्थीबीच राति अबेर सम्म गोली हानहानको अवस्था रहेको थियो । पछि सम्म केही कर्मचारी होटलभित्रै रहेका थिए ।

बलुचिस्तानका मुख्यमन्त्री मीर जियाउल्लाहले बीबीसीलाई बताएअनुसार प्रहरी, फ्रन्टियर कोर र अन्य सुरक्षा एजेन्सीले होटललाई आफ्नो घेरामा लिएका छन् । उनका अनुसार आक्रमणको समयमा कोही पनि विदेशी नागरिक त्यहाँ थिएनन् । उनका अनुसार बलुचिस्तानमा आत्मघाती आक्रमणकारी आएको रिपोर्ट पहिला नै थियो ।

यद्यपि ग्वादरमा यस खालको कुनै हमला पहिला भएको थिएन । बलुचिस्तान लिबरेसन आर्मीको माजिद ब्रिगेडले यो हमलाको जिम्मेवारी लिएको छ ।

ग्वादरमा पछिल्लो महिना चरमपन्थीले ११ सुरक्षाकर्मी समेत १४ जनाको हत्या गरेका थिए । यो इलाकामा कैयौं चरमपन्थी संगठन सक्रिय रहेका छन् । जसमा पाकिस्तान तालिवान,बलुचिस्तान लिबरेसन आर्मी तथा सुन्नी मुश्लिम चरमपन्थी समूह लश्कर ए झाँग्वी सामेल रहेका छन् ।

ग्वादर चीन र पाकिस्तानकाबीच इकोनोमिक कोरिडरको मुख्य केन्द्र हो । जहाँ चीनका कैयौं इन्जिनियर तथा अन्य कर्मचारी रहन्छन् । आक्रमणमा परेको होटलपनि चिनियाँ सहयोगमा बनेको हो । पाकिस्तानस्थित चिनियाँ दुतावासले होटलमा भएको आक्रमणको निन्दा गरेको छ । ग्वादरको पश्चिमी सीमा इरानसँग जोडिन्छ ।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्