Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत र चीनमा मदिरा सेवनको प्रयोग व्यापक रुपमा

द गार्जियनबाट  :  दुई देश भारत र चीनमा मदिरा सेवनको दर व्यापक रुपमा वृद्धि भएसँगै विश्वमा ३० वर्ष अगाडिको भन्दा ७० प्रतिशत धेरै मदिरा उपभोग भइरहेको नयाँ अनुसन्धानले जनाएको छ । यसरी अर्को दशकसम्म सो तथ्याङ्क प्रतिव्यक्ति १७ प्रतिशतले अझ बढ्न सक्ने रिपोर्टमा उल्लेख गरिएको छ ।

२०३० मै विश्वका आधा भन्दा धेरै वयश्कहरुले मदिरा पिउन थाल्ने र पूरै जनसङ्ख्यामा एक चौथाइले महिनामा एकपटक भएपनि सेवन गर्ने १८९ देशहरुमा गरिएको सर्वेक्षणपछि पत्ता लागेको हो । अनुसन्धानकर्ताहरुले विश्वभर हानिकारक मदिराको उपभोग कम गराउने लक्ष्य धेरै टाढा पुगिसकेको बताउँदै कर वृद्धि वा तिनको विज्ञापनमाथि प्रतिबन्धलगायतका आक्रामक उपाय अपनाउन अपील गरेका हुन् ।

१९९० भन्दा अघि उच्च आय दर भएका राष्ट्रहरुले मात्र धेरै मदिरा सेवन गर्ने गरेका थिए जसकारण युरोपमा यसको उपभोग दर सबैभन्दा माथि रहेको थियो । तर विस्तारै यसमा परिवर्तन देखा परिरहेको जर्मनीका प्रमुख अध्ययनकर्ता जेकब म्यान्थे बताउँछन् ।

उनका अनुसार अहिले पूर्वी युरोपमा ठूलो सङ्ख्यामा मदिरा सेवन गर्नेहरु घटिरहेका छन् भने अर्कोतर्फ मध्यम आयदर भएका देश जस्तै चीन, भारत र भियतनाममा धेरै ठूलो वृद्धि देखा परिरहेको छ ।

जस्तै चीनमा पुरुषहरुले वार्षिक ११ लिटर भन्दा धेरै शुद्ध मदिरा पिउने गरेका छन् । यसरी १९९० पछि चीनको मदिरा उपभोग ७० प्रतिशतले वृद्धि भएको हो । रिपोर्टका अनुसार चीनमा ७७ प्रतिशतले एकपटक त मदिरा सेवन गरेकै हुन्छन् । त्यसैगरी यता भारतमा भने ४० प्रतिशत पुरुष र २२ प्रतिशत महिलाले मदिरा सेवन गर्ने गरेका छन् ।

औसतमा उनीहरुले वार्षिक ६ लिटर शुद्ध मदिरा सेवन गरेको बताइएको छ जुन तुलनात्मक रुपमा कम देखिएपनि सो तथ्याङ्क १९९० पछि दुई गुणाले वृद्धि भएर त्यति पुगेको हो । यस्तोमा वैज्ञानिकहरुले अब २०३० सम्म भारतमा मदिराको उपभोग ५० प्रतिशतले वृद्धि हुने अनुमान गरेका छन् ।

यता मध्यपूर्व र उत्तर अफ्रिकामा भने मदिराको उपभोग प्रति वर्ष प्रति व्यक्ति एक लिटर भन्दा कम रहेको छ । यसरी विश्वभर उपभोग गरिने मदिरामा १५ प्रतिशत बियरका रुपमा र १२ प्रतिशत वाइनका रुपमा सेवन गर्ने गरिएको बताइएको छ ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्