Logo
२४ बैशाख २०८१, सोमबार
(May 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इरान र अमेरिकाबीचको शत्रुता एक पटक पुनः सतहमा

इरान र अमेरिकाबीचको शत्रुता एक पटक पुन: सतहमा आएको छ । अमेरिकाले इरानमाथि चौतर्फी आर्थिक प्रतिबन्ध लगाइराखेको छ । यसले इरानको अर्थव्यवस्था सम्पूर्ण रुपमा प्रभावित बनेको छ ।अमेरिकाले इरानको रिभुल्युसनरी गार्ड कोर (आईआरजिसी)लाई विदेशी आतंकवादी संगठन घोषणा गरिदिएको छ ।

अमेरिकाले विश्वका कुनै पनि देशलाई इरानसँग व्यापार गर्न दिएको छैन । ट्रम्प सत्तामा आएपछि दुई देशबीच शत्रुता उल्लेख्य बृद्धि भएको छ । तनाव बढिरहँदा बुधबार इरानी राष्ट्रपति हसन रुहानीले विश्वका शक्ति राष्ट्रले आफ्नो प्रतिबद्धता पुरा गर्दैनन् भने उनको देशको परमाणु कार्यक्रम पुन: शुरु हुने बताए । अर्कोतर्फ अमेरिकाले इरानबाट सिर्जना हुनसक्ने खतराको सामना गर्न भन्दै मध्य-पूर्वमा लडाकु विमान र बमवर्षक पठाउन लागेको छ ।

यसको घोषणा सबैभन्दा पहिले अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आइतबार गरेका थिए । यसको पुष्टि अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले गरे । आखिर अमेरिका र इरानको सम्बन्ध यस्तो शुत्रपूर्ण किन छ ? यसको ऐतिहासिक पुष्ठभूमि के हो ?

इरानी क्रान्तिको ४० औँ वर्षगाँठ पश्चिमी शक्तिका लागि ‘आत्ममन्थन गर्ने एउटा सुनौलो अवसर’ को रुपमा हेरिँदैछ । इस्लामिक गणतन्त्र इरानसँग चार दशक लामो असहमतिका बावजुद न त इरानले घुँडा टृक्यो न मध्यपूर्वमा शान्ति स्थापना भयो । अहिले आएर ट्रम्प राष्ट्रपति बनेपछि त शत्रुता झनै बढेको छ ।

अवस्था सधैँ यस्तै शत्रुतापूर्ण भने थिएन । सन् १९७१ मा युरोस्लाभियाका तत्कालिन राष्ट्रपति जोसेफ ब्रोज टिटो, मोनाकोका राजकुमार रेनिअर र राजकुमारी ग्रेस, अमेरिकाका उपराष्ट्रपति सिप्रो अग्नेयु र सोभियत संघका राजनेता निकोलाई पोगर्नी इरानी शहर पर्सेपोलिसमा भेला भएका थिए । सबैजना एउटा भोज आयोजना भएको थियो । यो भोजको आयोजना इरानी शाह रेजा पहल्वीले गरेका थिए ।

त्यसको आठ वर्ष बित्दा नबित्दै इरानको सत्ता अयतोल्लाह रुहोल्लाह खुमेनीको हातमा पुग्यो । सत्तामा आएपछि खुमेनीले माथि उल्लेखित पार्टीलाई ‘शैतानको उत्सव’ संज्ञा दिए । सन् १९७९ मा इरानमा इस्लामिक क्रान्तिभन्दा अघि खुमेनी टर्किस, इराक र पेरिसमा निर्वासित जीवन बाँचिरहेका थिए । खुमेनीले राजा पहल्वीको नेतृत्वमा इरानमा भइरहेको पश्चिमीकरण र अमेरिकामाथि बढिरहेको निभरतालाई निशाना बनाएर सत्तामा आएका थिए ।

सन् १९५३ मा अमेरिका र बेलायतले इरानमा लोकतान्त्रिक प्रक्रियाबाट चुनिएका प्रधानमन्त्री मोहम्मद मोसादेगलाई अपदस्थ गरी सम्पूर्ण अधिकार पहल्वीलाई सुम्पेका थिए । मोहम्मद मोसादेगले नै इरानको तेल उद्योगलाई राष्ट्रियकरण गरेका थिए र उनी राजाको अधिकार कम गर्न चाहन्थे ।

कुनै विदेशी नेतालाई शान्तिपूर्ण समयमै अपदस्थ गर्ने काम अमेरिकाले पहिलो पटक इरानमा गरेको थियो । तर त्यो अन्तिम थिएन । त्यसपछिका वर्षमा उक्त अभ्यास एक हिसाबले अमेरिकाको विदेश नीतिको एक हिस्सानै बन्यो ।

सन् १९५३ मा इरानमा अमेरिकाले जसरी सत्ता परिवर्तन गर्यो त्यसको नतिजा थियो १९७९ को क्रान्ति । त्यसपछिको ४० वर्षमा इरान र पश्चिमबीच द्वन्द्व अन्त्य भएन ।

इरानमा क्रान्तिपछि बढेको रुढीवादको विषयमा जर्मन दार्शनिक हना एरेन्टको एक टिप्पणी सान्र्दभिक देखिन्छ । उनले भनेकी छिन्, “धेरै जसो ‘उग्र–क्रान्तिकारी’ क्रान्तिपछि रुढीवादी रुपान्तरित हुन्छन् ।”

खुमेनीमा पनि यही भएको बताइन्छ । सत्ता आरोहणपछि खुमेनीको उदारतामा अचानक परिवर्तन आयो । उनले आफूलाई वामपन्थी आन्दोलनबाट अलग्याए । उनले विरोधी आवाज दबाउन शुरु गरे । त्यसपछिका दिनमा नयाँ स्थापित सत्ता र लोकतान्त्रिक आवाजमा एक प्रकारको दुरी निर्माण हुन सुरु भयो ।

क्रान्ति लगतै इरान र अमेरिकाबीच विगतमा रहेको राजनीतिक सम्बन्ध तोडियो । तेहरानमा इरानी विद्यार्थीको एक समूहले अमेरिकाकी दुतावासलाई कब्जामा लिए । तिनले ५२ अमेरिकी नागरिकलाई ४ सय ४४ दिनसम्म बन्धक बनाएर राखे । यी सबै खुमेनीको मौनसमर्थन रहेको बताइन्छ ।

विद्यार्थीको माग अमेरिकामा निर्वासित इरानका पूर्व राजा पहल्वीलाई इरान फर्काउनु पर्ने भन्ने थियो । निर्वासित राजा पहल्वी न्युयोर्कमा क्यान्सरका उपचार गराइरहेका थिए । अमेरिकामा नयाँ राष्ट्रपति रेगन नआएसम्म बन्धक रिहा गरिएन ।

पछिल्ला वर्षहरुमा खुमेनीले सत्तामाथि पकड बलियो बनाउनको लागि धर्मको सहारा लिए । यी सबबीच छिमेकी इराकका शासक सद्दाम हुसेनले सन् १९८० मा इरानमाथि आक्रमण गरे । इरान र इराकबीच ८ वर्षसम्म युद्ध चल्यो । यो युद्धमा अमेरिकाले सद्दामलाई सघायो । यहाँसम्म कि अन्तर्राष्ट्रिय युद्धमा सधैँ अमेरिकाभन्दा फरक पक्षसँग उभिने सोभियत संघले पनि यो युद्धमा हुसेनलाई ने सघायो ।

पाँच लाखको मृत्यु भएको युद्ध एक सम्झौतासँगै समाप्त भयो । सो युद्धमा इराकले इरानमाथि रसायनिक हतियार प्रयोग गरेको र त्यसको असर इरानमा लामो समयसम्म रहेको बताइन्छ । त्यही समयबाट इरानले परमाणु अस्त्रको सम्भावना विचार गर्न सुरु गर्यो । राजा पहल्वीको शासनमा अमेरिका आफैले उर्जाको प्रयोगको लागि इरानमा परमाणु संयन्त्र बनाउने प्रयास भएको थियो ।

इरानले आफ्नो परमाणु कार्यक्रममा अन्तर्गत गरेका काम सन् २००२ सम्म कसैले थाहा पाएनन् । तर त्यो बेलासम्म अमेरिका र सद्दाम हुसेनको सहकार्य अन्त्य भएको मात्र होइन, दुई शत्रु भए सकेका थिए । सोही शत्रुताको कारण अमेरिकाले इराकमाथि आक्रमण गर्यो ।

रमाइलो कुरा अमेरिकाले गरेको बमबारिबाट सद्दाम हुसेन अपदस्थ हुँदा त्यसको सबैभन्दा ठूलो फाइदा अमेरिकाको अर्को शत्रु राष्ट्र इरानलाई पुग्यो । इरानको परमाणु कार्यक्रम विश्वले थाहा पाएपछि युरोपले त्यसलाई बन्द गर्न वार्ता सुरु गर्यो । वार्ताको लागि युरोपेली संघको एक प्रतिनिधि नै खटाएको थियो ।

आणविक कार्यक्रमलाई रोक्ने विषयमा वार्ता सन् २००५ बाटै सुरु भए पनि सन् २०१३ पछि बल्ल यो परिणाममुखी हुने दिशामा बढ्यो । लामो प्रयासपछि ओबामा प्रशासनको विशेष सक्रियतामा सन् २०१५ मा ‘ज्वाइन्ट कम्प्रिहेन्सिव प्लान अफ एक्सन’ म सहमति भयो । यसलाई ठूलो कुटनीतिक सफलताका रुपमा हेरिन्छ ।

तर ट्रम्प आए लगतै एकतर्फी फैसला गर्दै सो सम्झौता रद्द गरिदिए । त्यसपछि ट्रम्प प्रशासनले इरानमाथि थप नयाँ प्रतिबन्ध लगाए । ट्रम्पले इरानसँग व्यापार गर्ने कुनै पनि देशले अमेरिकासँग व्यापारिक सम्बन्ध राख्न नपाउने धम्की दिएका छन् ।

यसको परिणाम स्वरुप इरानको विषयमा अमेरिका र युरोपबीच स्पष्ट मतभिन्नता बाहिर आएको छ । युरोपेली संघ इरानसँग भएको पमारणु सम्झौता मान्नुपर्छ भन्नेमा छ तर ट्रम्पले त्यसलाई स्वीकार गरेका छैनन् ।

अमेरिकाले छिट्टै पोल्याण्डको राजधानी वार्सामा मध्य-पूर्व विषयमा एउटा सम्मेलन गर्दैछ । त्यसमा अमेरिकी प्रशासन इरान विरोधी गठबन्धन बनाउने दाउमा छ । त्यसमा इजरायल, साउदी अरब, संयुक्त अरब एमिरेट्ससँग सँगै युरोप सिन सहभागी होस् भन्न चाहन्छ । यी प्रयास हेर्दा इरान पुनः संकटमा घेरिएको देखिएको छ ।

पछिल्लो ४० वर्षमा इरानले कैयौँ संकट देख्यो । यस पटकको संकट कम दुखदायी छैन । कयैन विशेषज्ञ ट्रम्पको शत्रुतापूर्ण नीतिले यस क्षेत्रमा शान्ति स्थापित हुन नसक्ने बरु इरानसँग वार्ता अगाडि बढाउनु पर्ने बताउँछन् ।

-बीबीसी हिन्दीबाट

प्रकाशित मिति: May 9, 2019

प्रतिक्रिया दिनुहोस्