Logo
१२ श्रावण २०८१, शनिबार
(May 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चावहिल-साँखु सडकखण्ड : अहिलेसम्म कालोपत्रे नभएपछि सर्वसाधारणको विरोध प्रदर्शन

बौद्ध :  लामो समयदेखि निर्माणाधीन रहेको काठमाडौंको चावहिलसाँखु सडकखण्डमा बिहीबार स्थानीय व्यवसायी र सर्वसाधारणले विरोध प्रदर्शन गरेका छन् ।

सडक निर्माणदेखि कालोपत्रेको काममा समेत ठेकेदारले लापरवाही गरेको भन्दै स्थानीय बिहीबार विहान सडकमै प्रदर्शन गरेका हुन् । सडकखण्ड तत्काल कालोपत्र गरी धुँवा-धुलोबाट मुक्त हुनुपर्ने मागसहित स्थानीयले प्रदर्शन गरेका हुन् ।

विगत ४ वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे हुँदा सयौँ व्यवसायी विस्तापित भएको स्थानीय व्यवसायी तथा बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले दुखेसो पोखे । व्यापारी लक्ष्मण दुलाल सरकारले नागरिकको समस्याप्रति बेवास्ता गरिरहेकाले आफूहरुले विरोध गर्नुपरेको बताउँछन् । लामो समयदेखि सडकमा पानी हालेर धुलो कम गर्ने गरिरहेको बौद्ध व्यापार सङ्घले सो क्रममा पानी किन्न मात्र करीब ८० लाख खर्चिएको दाबी गरेको छ ।

सडकको कालोपत्र गर्नका लागि नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्वअधयक्ष सकुन्तलाल हिराचनको कम्पनीले ठेक्का पाएको थियो । बाटो कालोपत्र गर्ने विषयलाई लिएर धेरै पटक स्थानीय नेतासहितको टोली मन्त्रालय र सडक विभाग कार्यालय पुगिसकेको छ । तर मन्त्रालयले सडक विभाग, सडक विभागले ठेकेदार र ठेकेदारले स्थानीयवासीले मुद्दा हालेका कारण अदालतलाई दोष लगाउँदै पन्छिने काम मात्र गरिरहेका छन् । सरकारले यथास्थितिमा तत्काल सडक कालोपत्र गर्न निर्देशन दिएको थियो ।

सरकारले २०७२ मा चावहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा ४ निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी ५ ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले पूर्णता पाउन सकेको छैन ।

प्रकाशित मिति: May 9, 2019

प्रतिक्रिया दिनुहोस्