Logo
२४ बैशाख २०८१, सोमबार
(May 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः आसिया बीबीले पाकिस्तान छाडेर क्यानडामा लिइन् शरण

पाकिस्तानमा इश्वर-निन्दाको आरोपमा ८ वर्षसम्म मृत्युदण्डको मुद्धा लडेकी आसिया बीबीले देश छाडेकी छिन् । पाकिस्तान छाडेर उनी क्यानडा पुगेकी छिन् । पहिलेदेखि उनको परिवारले क्यानडामा शरण लिइरहेको छ ।

८ वर्ष लामो न्यायिक कारबाहीपछि अघिल्लो वर्ष देशको सर्वोच्च अदालतले आसियालाई दोषी-मुक्त घोषणा गरेको थियो । तर धार्मिक कट्टरपन्थीले फैसलाको उग्र-विरोध गरेपछि उनलाई देश छाड्न रोक लगाइएको थियो । आसियाको क्यानडास्थीत उनको परिवारसँग पुनरमिलन भएको उनका वकिलले जानकारी दिए ।

“आसियाले पाकिस्तान छाडेकी छिन् । उनको क्यानडामा रहेको परिवारसँगका पुनरमिलन भयो । उनले न्याय पाएकी छिन् ,” आसियाका वकिल सैफूल मलूकले भने ।

ब्रिटिश पाकिस्तान क्रिश्चियन एशोसियनका विल्सन चौधरीले क्यानडामा पनि आसिया र उनको परिवारले सुरक्षालाई लिएर सतर्क भएको बताए । उनका अनुसार आसियाको परिवार परिचय बदलरेर सुरक्षा प्रवन्धका साथ बसेका छन् । ‘समयसँगै तनाव कम भएपछि तिनले सुरक्षाबीनाको सामान्य जीवन पाउने मेरो विश्वास छ,’ विल्सनले भने ।

आसिया क्यानडा पुगेसँगै उनीसँग जोडिएर पाकिस्तानमा ९ वर्षसम्म चलेको लामो विवादको अन्त्य भएको छ । आसियाले मुसलमान धर्मका प्रवर्तक मोहम्मदको अपमान गरेको आरोपबाट सुरु भएको यो विवाद एक प्रादेशिक गर्भनर र एक क्याविनेट मन्त्रीको हत्याको कारण बन्यो । ती दुवैले आसियाको मृत्युदण्डको सजायँको विरोध गरेका थिए ।

अक्टोबर ३१ मा पाकिस्तानको सर्वोच्च अदालतले उनलाई दोषी मुक्त फैसला गर्दा पाकिस्तानका प्रमुख सहरमा ठूलो विरोध प्रदर्शन भएको थियो । जनवरीमा आसियाको मृत्युदण्डको सजायँ उल्टाउनु पर्ने भन्दै पुनरावेदन पर्दा पनि अदालतले आफू पुरानै निर्णयमा अडिग रहेको फैसला गरेको थियो । अक्टोबरमा जेल मुक्त भएदेखिनै आसियालाई कडा सुरक्षा प्रदान गरिएको थियो ।

उनलाई सन् २००९ जुनमा पानी पिउने विषयमा विवाद हुदाँ मोहम्मदको अपमान गरेको आरोप लागेको थियो । उक्त विवादको ५ दिनपछि एक स्थानीय मस्जिदले माइकबाट उनको आरोप घोषणा गरेको थियो । त्यसपछि उनलाइ भिडले उनको घरबाट घिसारेर सार्वजनिक स्थानमा कुटपिट गरेको थियो । प्रहरीले उनलाई भिडबाट छुटाएर हिरासतमा राख्यो ।

त्यसपछि उनीमाथि परेको इश्वर निन्दाको मुद्धामा पाकिस्तानको तल्लो अदालतले उनलाई मृत्युदण्ड सुनायो । आशीयाको मृत्युदण्डको सजायँको फैसलाले राष्ट्रव्यापी चर्चा, वहस र विवादको सिर्जना गरेको थियो । पाकिस्तानमा इश्वर निन्दा निक्कै विवादित मुद्धा रहदैं आएको छ ।

पाकिस्तानमा इस्लामको अपमान गरेको आरोपकै आधारमा मानिसलाई भीडले कुटेर मारेका थुप्रै घटना छन् । मानव अधिकारकर्मीका अनुसार त्यहाँ व्यक्तिगत रुपमा रिसिवी साध्नको लागि समेत इश्वर निन्दाको आरोप लगाउने गरेको पाइएको छ ।

प्रकाशित मिति: May 9, 2019

प्रतिक्रिया दिनुहोस्