Logo
१२ श्रावण २०८१, शनिबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस जागरण अभियान : एक महिलासहित ३ जनाले मात्रै सम्बोधन गर्ने, माला र ब्याज प्रतिबन्ध

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आज (बुधबार) बाट राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ । पहिलो चरण अन्तर्गतको एक महिने जागरण अभियान सञ्चालनका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । कांग्रेसले नेपाली राजनीतिमा एकै स्वरुपको प्रथम कार्यक्रमका रुपमा अभियान भनेर दाबी गरिहरको जागरण अभियानको उद्घाटनका लागि पदाधिकारीहरु पनि खटाएको छ ।

जागरण अभियानको उद्घाटनका लागि कांग्रेसले १ नम्बर प्रदेशको सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, २ नम्बर प्रदेशको धनुषामा वरिष्ठ नेता रामचन्द्र पौडेल र ३ नम्बर प्रदेशको काठमाडौंमा सभापति शेरबहादुर देउवालाई खटाइएको जनाएको छ । यस्तै गण्डाकी प्रदेशको पोखरामा महामन्त्री पूर्णबहादुर खड्का, ५ नम्बर प्रदेशको रुपन्देहीमा महामन्त्री डा. शशांक कोइराला, कर्णाली प्रदेशको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव र सुदूरपश्चिम प्रदेशको धनगढीमा उपसभापति विलेन्द्र निधिले जागरण अभियानको उद्घाटन गर्ने भएका छन् ।

पदाधिकारी खटाइएका जिल्लामा पदाधिकारीले र केन्द्रीय प्रतिनिधि खटाइएका जिल्लामा प्रतिनिधिहरुले बुधबार एक साथ जागरण अभियानको उद्घाटन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहमा गरिने मन्तव्यमा महिला सहभागिता सुनिश्चित गर्न ७७ वटै जिल्लालाई परिपत्र गरेको छ ।

पूर्वनिर्धारित मन्तव्यको कार्यक्रमलाई संशोधन गरेर सभापति शेरबहादुर देउवाले बैशाख २१ गते महिला सहभागिता अनिवार्य गर्न जिल्ला कार्यसमितिहरुलाई परिपत्र गरेका हुन् । प्रवक्ता शर्माका अनुसार एकसाथ उद्घाटन हुने कार्यक्रममा स्वागत र समापनबाहेक केवल तीन जनामात्रै वक्ता रहने छन् ।

‘‘हामीले जागरण अभियानबाट आसन ग्रहणमा परम्परागत शैलीको अन्त्य गर्दै स्वागत र विसर्जनबाहेक केवल तीन वक्ताले मात्रै मन्तव्य राख्ने कार्यतालिका बनाएका छौं,’’ उनले भने, ‘‘जसअनुसार विषय प्रवेश, महिला वक्ताको मन्तव्य र प्रमुख अतिथिको मन्तव्य हुने छ ।’’ कांग्रेसले जागरण अभियानबाट नेताहरुलाई फूलका माला पहिराउने र ब्याच लगाउने परम्पराको पनि अन्त्य गर्ने घोषणा गरेको छ ।

‘‘यसअघि विभिन्न दलका नेताहरुलाई सानादेखि कयौं किलोसम्मका माला लगाउने प्रचलन देखिदै आइएको थियो । अभियानबाट हामीले माला नलगाउने र ब्याच प्रयोग गर्ने परम्पराको अन्त्य गर्न लागेका छौं,’’ प्रवक्ता शर्माले भने, ‘‘हामीले खादा पनि नलगाउने भनेका थियौं तर केही समुदायको परम्परागत संस्कृति भएकाले त्यसलाई भने त्यग्न नसकिने देखिएको छ ।’’

नेपाली राजनीतिमा एकै स्वरुपको प्रथम कार्यक्रमका रुपमा प्रारम्भ हुन लागेको दाबी गरिएको अभियानका विभिन्न १५ उद्देश्य रहेका छन् । यो अभियान स्वदेशसँगै विदेशका ३३ देशमा सञ्चालन हुने छ । अभियानको समापन हुने जेठ २५ गते अलग–अलग प्रदेशका जिल्लामा प्रमुख नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता शर्माले बताएका छन् ।

कांग्रेसले जागरण अभियानका लागि १२ भाषामा जागरण गीत तयार पारेको छ । प्रवक्ता शर्माले मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषामा जागरण गीत तयार पारिएको जानकारी दिए । ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको अभियान पहिलो चरण अन्तरगत लोकतन्त्र दिवसको अवसर पारेर बैशाख ११ गतेबाट सुरु गर्ने भनिएको थियो ।

तर, पार्टीका पूर्व कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनको शोकमा कांग्रेसले अभियानको तिथि परिवर्तन गरेको हो । प्रवक्ता शर्माले पहिलो चरण अन्तरगत जागरण अभियानका लागि खटाइएका केन्द्रीय प्रतिनिधिहरु एक महिनासम्म जिल्लामा बस्ने भएका छन् । ‘‘७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसक्नुभएको छ । उहाँहरुले एक महिना जिल्लामा बसेर निर्धारित कार्यक्रमहरु सम्पन्न गराउनु हुनेछ,’’ उनले भने ।

कांग्रेसले भदौ २४ गते वीपी जयन्तीको अवसर पारेर असोज ७ गतेसम्म दोस्रो चरण अन्तरगत १५ दिने जागरण अभियान चलाउने छ । दोस्रो चरणको अभियानमा पनि कांग्रेसले तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रहरुमा केन्द्रीय प्रतिनिधि खटाएर कार्यक्रमहरु सम्पन्न गर्नेछ ।प्रवक्ता शर्माले तेस्रो चरण अन्तरगत पुस ७ गते सुरु हुने १० दिने जागरण अभियान राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर समापन गरिने जानकारी दिए ।

उनका अनुसार पार्टीले देशभरका सात सय ५३ स्थानीय तहमा केन्द्रीय प्रतिनिधिहरु खटाएर तेस्रो चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नेछ । ‘‘सात सय ५३ वटै स्थानीय तहमा केन्द्रीय प्रतिनिधि पुग्नु हुनेछ । १० दिन सम्बन्धित क्षेत्रमा बस्नु हुनेछ । निर्धा्रित कार्यक्रमहरु सम्पन्न गर्नु गराउनु हुनेछ’’ प्रवक्ता शर्माले भने ।

यी हुन ‘राष्ट्रिय जागरण अभियान’ का उद्देश्यहरु : 

(१) नेपाली कांग्रेस पार्टीको महासमिति वैठकवाट पारित निति, कार्यक्रम र संशोधित विधान बारे पार्टीको स्थानिय तहसम्म साथीहरु एवं आम शुभचिन्तकलाई ब्यापक ढंगले सूसुचित गर्न ।

(२) राष्ट्रव्यापी रुपमा पार्टी पक्तिमा नविन ढंगको एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्न पार्टी सुदृढिकरणका विविध गतिविधि अघि बढाउदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्न ।

(३) नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनैतिक उपलव्धी एवं समृद्धिको दिशामा गरिएका काम नागरिक पंक्तिमा ब्यापक ढंगले सम्प्रेषण गर्न ।

(४) वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायत विसँगतिपूर्ण जनविरोधि कृयाकलाप बारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले प्रष्ट्याउन । (बुढी गण्डकी, वाइड वडी लगायतका)

(५) नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणाली बारेकै विमतिहरु समेतलाई राष्ट्रिय एकताको सुत्रमा गाँस्न आवश्यक छलफल र बहष विभिन्न स्तरमा अघि वढाउन ।

(६) जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरुबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनसंवाद मार्फत् जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई थप समर्पित गराउन ।

(७) तराई–मधेश लगायत मुलुकको कतिपय भू–भागमा रहेका असन्तुष्टिहरुको समाधान सूत्र विगतमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो, भन्ने तथ्यलाई आम नागरिकबीचमा प्रस्ट्याउँदै त्यसका लागि आवश्यक जनमत र वातावरण निर्माण गर्न ।

(८) कम्युनिष्ट पार्टीको सरकार बनेपछि कुटनैतिक क्षेत्रमा प्रस्तुत अपरिपक्वता, शेयर बजारप्रतिको नकरात्मक व्यवहार र उव्जिएको प्रतिकुल परिणाम, वौद्धिक समुदायप्रतिका अवौद्धिक टिप्पणीहरु र कतिपय अपमानजनक घटना, चिकित्सा शिक्षा क्षेत्रमा बढेको राज्य संरक्षीत वेथीति, आदि सन्दर्भले मुलुकको छविलाई पारिरहेको असर बारे नेपाली बौद्धिक क्षेत्रसँग विशेष अन्तरक्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउन ।

(९) तिनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्वन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वास बमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाव बढाउन ।

(१०) नेपाली समाजमा केही समय यता भइरहेका “निर्मला पन्त” प्रकरण झै महिला हिंसाका अनेक घटना र प्रवृतिका विरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्नरगराउन ।

(११) भुकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपदमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुनस्र्थापना अभियानलाई सघाउन तथा यस्तो सम्भावित विपद सामना गर्ने सर्तकता साथ काम गर्ने “स्वयंसेवी समुह” निर्णण गर्न ।

(१२) स्वदेशसँगै विदेशमा रहेका पचास लाखभन्दा बढी नेपालीसँग आफ्नो मातृभूमिमा लोकतन्त्रको रक्षा, संघीयताको सम्बद्र्धन र समृद्धिमा सहभागीताका लागि विशेष संवाद र जागरुकता अभिवृद्धि गर्न तथा तिनको मताधिकार प्रवन्ध गर्न सर्वोच्च अदालतले सरकारलाई गरेको आदेश कार्यान्वयनका लागि दवाव बढाउन ।

(१३) वैदेशिक रोजगारीका क्रममा पछिल्लो समय बढेका बेथितीहरु अन्त्यका लागि दबाब बढाउँदै र श्रमिक नेपाली युवाहरुको पीडामा मल्हम लगाउन ।

(१४) कम्युनिष्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गर्ने अनेक प्रयत्न आदिका विरुद्ध नेपाली प्रेस जगतसंग सहकार्य गर्दै प्रमुख प्रतिपक्षी दलका नाताले प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्न ।

(१५) नेपाली कांग्रेसको सदस्यता वितरण र विस्तार व्यापक ढंगले गर्दै पार्टीको केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, गाउँरनगर टोलसम्म व्यापक ढंगले प्रशिक्षणका कार्यक्रमहरु संचालन गर्न ।

कांग्रेसले अभियानको समयावधि भरी पार्टी केन्द्रीय समितिदेखि सवै तहको नेतृत्व र सदस्यहरुको सम्पूर्ण रुपले सहभागिता र सकृयता रहने बताएको छ । अभियानमा पार्टीका सम्पूर्ण भातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समितिहरु, काठमाण्डौंस्थित जिल्ला सम्पर्क समिति तथा शुभचिन्तकसमेत सवैलाई जागरण अभियानमा ऐक्यवद्ध ढंगले सहभागी र क्रियाशिल गराइने प्रवक्ता शर्माले जानकारी दिए ।

कांग्रेसले अभियानका क्रममा सवै तहको नेतृत्व र सदस्यहरुको ‘साझा र संगठित एउटै आवाज’ आम रुपमा अभिव्यक्त हुने पनि जनाएको छ । कांग्रेसका भातृ सस्थाले दोश्रो दिन, शुभेच्छुक संस्थाले तेश्रो दिन र विदेशस्थित जनसम्पर्क समितिले अभियान प्रारम्भपछिको पहिलो अथवा दोस्रो आइतवार वा शुक्रवार आफ्नो अनुकुलतामा र काठमाडौंस्थित जिल्ला सम्पर्क समितिहरुले अभियान प्रारम्भ पछिको पहिलो र दोश्रो शनिवार मध्ये अनुकुल बार छनौट गरेर अभियान प्रारम्भ गर्ने छन् ।

कांग्रेसले राष्ट्रिय जागरण अभियानबाट असमिति संख्याको आशन ग्रहणको परम्पराको अन्य गर्ने पनि उद्घोष गरेको छ । प्रवक्ता शर्माले अभियानका क्रममा सभापति, प्रमुख अतिथिपछि सबैलाई सामुहिक आसन ग्रहण गराइने जानकारी दिए । उनले अभियानको उद्घाटन पनि समान शैलीमा गरिने जानकारी दिए ।

‘‘यो अभियानमा कार्यक्रमको उद्घाटन पनि समान शैलीमा गरिने छ । दीर्घ जीवन रहने कुनै वृक्ष जस्तै वर, पिपल, स्वमी या यस्तै कुनैमा जल सिंचन अथवा पानसमा दिप प्रज्ज्वलन गरेर उद्घाटन गर्छौं,’’ प्रवक्ता शर्माले भने । उनले उद्घाटनमा जल सिंचन गरिएको वृक्षलाई सुरक्षित स्थानमा वृक्षारोपण गरिने पनि जानकारी दिए ।

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्