Logo
६ जेष्ठ २०८१, आईतबार
(May 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभरी चौतर्फी आलोचनापछि ब्रनाईका राजाले उल्ट्याए आफ्नै आदेश

बीबीसी :  ब्रनाईका राजा हसनल बोल्कियाहले आफ्नै एउटा आदेशलाई उल्ट्याउँदै देशमा समलिङ्गी र विवाहेत्तर सम्बन्धका कारण कसैलाई पनि मृत्युदण्ड नदिइने घोषणा गरेका छन् ।

यसवर्ष अप्रिलमा ब्रनाईमा समलिङ्गी र विवाहेत्तर सम्बन्ध राख्नेका लागि मृत्युदण्डको सजाय तोकिएको थियो । यसको संसारभरी आलोचना भएको थियो ।

अप्रिलमा यो दक्षिण पूर्वी एशियाली देशमा नयाँ इस्लामिक कानून घोषणा गरिएको थियो जसमा समलिङ्गी र विवाहेत्तर सम्बन्धका लागि ढुङ्गाले हानीहानी हत्या गरिने प्रावधान थियो । यसबाहेक नयाँ कानून अनुसार अन्य अपराधका लागि पनि कडा सजायको प्रावधान थियो । उदाहरणका लागि चोरी गरेको पुष्टि भए हात काट्ने सजाय ।

नयाँ कानूनको घोषणा गर्दै राजाले भनेका थिए, ‘म यो देशमा इस्लामिक शिक्षालाई थप बलियो भइरहेको हेर्न चाहन्छु ।’

संसारभरी विरोध :

एलजीबीटीक्यूआई (लेस्बियन, गे, बाइसेक्सुअल, क्वियर, इन्टरसेक्सुअल) समुदायका लागि काम गर्ने मानवाधिकार कार्यकर्ताले ब्रनाईको यो निर्णयको कडा आलोचना गर्दै यसलाई अमानवीय बताएका थिए । थुप्रै हलिउड सेलिब्रिटी जस्तै जर्ज क्लूनीले ब्रनाईका राजाको विलासी होटल र रेष्टुरेन्टमा लगानी नगर्न र यसको बहिष्कार गर्न अपिल पनि गरेका थिए ।

ब्रुनाईमा समलिङ्गी सम्बन्धमा रहनेलाई ढुङ्गा हानीहानी मृत्युदण्ड दिइने :

थुप्रै बहुराष्ट्रिय कम्पनीले ब्रुनईलाई पर्यटकीय स्थलको रुपमा प्रचार गर्न बन्द गरेका थिए । लण्डनमा ‘स्कूल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिज’ का विद्यार्थीहरुले स्कूल भवनको नाम ‘ब्रुनई ग्यालरी’ बाट परिवर्तन गरेर केही अन्य राख्न माग गरेका थिए ।

अन्तरराष्ट्रिय स्तरमा कडा विरोध र आलोचनापछि राजा हसनलले आइतबार टेलिभिजनमा राष्ट्रको नाममा सम्बोधन गर्दै कानून परिवर्तन गरेको र मृत्युदण्डको सजायमा रोक लगाउने घोषणा गरेका छन् ।

समाचार एजेन्सी (एफपी)का अनुसार राजा हसनलले पवित्र रमजान महिनाको सुरुवातमा टिभीमार्फत जनतालाई सन्देश दिएका हुन् । उनले भने, ‘मलाई थाहा छ कि शरिया कानून लागू गर्नका लागि विभिन्न प्रश्न र भ्रम छन् । शरिया कानूनमाथि कुनै शंका हुनु हुँदैन किनभने यसमा अल्लाहको बास हुन्छ ।’

प्रकाशित मिति: May 6, 2019

प्रतिक्रिया दिनुहोस्