Logo
८ जेष्ठ २०८१, मंगलबार
(May 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामसङले भारतमा २५०० सय करोडको लगानी गर्दै

नयाँ दिल्ली :  दक्षिण कोरियाको दिग्गज इलेक्ट्रोनिक्स कम्पनी सामसङले भारतमा आफ्नो ग्लोबल बिजनेसका लागि कम्पोनेन्ट सप्लाइ केन्द्र बनाउने भएको छ । यो कार्यका लागि कम्पनीले २५०० करोड रुपैयाँ लगानी गर्नेछ । कम्पनीका दुई सिनियर एक्जेक्युटिभले यो जानकारी दिएका हुन् ।

सामसङ ग्लोबलले भारतमा दुईवटा नयाँ कम्पोनेन्ट म्यान्युफ्याक्चरिङ युनिट-सामसङ डिस्प्ले कम्पनी र सामसङ एसडीआई इन्डिया खोलेका छन् । यी युनिटले क्रमशः मोबाइल फोन डिस्प्ले र ब्याट्री उत्पादन गर्नेछन् । सामसङको भेन्चर क्यापिटल युनिट (सामसङ भेन्चर इन्भेस्टमेन्ट कर्प)ले पनि भारतमा एलेक्ट्रोनिक्स हार्डवेयर तथा सफ्टवेयर स्टार्टअपका लागि लगानी गर्न सुरु गरेको छ ।

कम्पोनेन्ट कम्पनीहरुका तर्फबाट सामसङ इन्डिया तथा त्यस्ता स्मार्टफोन बिक्रेतालाई पार्टपुर्जा बेचिने छ जसले अहिले नै सामसङको विदेशी युुनिटबाट यस्ता सामान खरिद गरिरहेका छन् । कम्पोनेन्ट बिजनेसबाट राम्रै सफलता पाउने सामसङले विश्वास गरेको छ । किनकि, भारत सरकार ‘मेक इन इन्डिया’ अभियानमा जोड दिइरहेको छ ।

यही अभियानका कारण विदेशबाट आयात हुने मोबाइल फोन कम्पोनेन्टमाथि आयात शुल्क वृद्धि भइरहेको छ । कन्ज्युमर इलेक्ट्रोनिक्स सेगमेन्टमा पनि सरकार स्थानीय उत्पादनलाई प्रोत्साहन गरिरहेको छ ।

सामसङ डिस्प्लेका लागि उत्तर प्रदेश सरकारसँग १५०० करोडको प्लान्ट स्थापना गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । मोबाइल फोन डिस्प्ले बनाउने यो प्लान्ट आगामी वर्षको अप्रिलसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । अधिकारीहरुका अनुसार यो प्लान्ट नोएडामा बन्नेछ ।

सामसङ एसडीआई इन्डिया पनि भारतमा लिथियम आयन ब्याट्री प्लान्ट निर्माण गर्ने तयारीमा छ । सामसङले अघिल्लो महिनामात्र यो कम्पनी गठन गरेको थियो । भारतमा सामसङ एसडीआईले ९०० देखि १००० करोड रुपैयाँ लगानी गरिसकेको अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा चलिरहेको निर्वाचनलगत्तै सामसङले सरकारसँग छलफल गरी आफ्नो योजनालाई अगाडि बढाउने बताएको छ ।

अघिल्लो वर्षमात्र भारतमा सामसङले सबैभन्दा ठूलो म्यान्युफ्याक्चरिङ प्लान्टको उद्घाटन गरेको थियो । यसको निर्माण आगामी वर्षसम्ममा सम्पन्न हुने कम्पनीले बताएको छ । यो प्लान्टमा कुल ४९१५ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ ।

एक अधिकारीले भने, ‘‘सामसङ भारतमा कम्पोनेन्ट म्यान्युफ्याक्चरिङमा जति लगानी गरिरहेको छ, त्यो फिनिस्ड प्रडक्टमा उसले गरेको लगानीभन्दा बढी हुनेछ । वास्तवमै एउटा गुणस्तरीय कम्पोनेन्ट बिजनेसमा पर्याप्त लगानी आवश्यक पर्छ नै । सामसङको कम्पोनेन्ट कम्पनीहरु भारतमा उत्पादन सुरु गर्न निकै उत्साहित छन् ।’’

भारत सरकारले विदेशबाट आयात हुने मोबाइल टेलिभिजनलगायत सबैखाले विद्युतीय उपकरणमा कर लगाउने निश्चित भएको छ । यही कारण पनि सामसङ भारतमा लगानी बढाउन उत्सुक भएको ती अधिकारीको भनाइ छ ।

प्रकाशित मिति: May 3, 2019

प्रतिक्रिया दिनुहोस्