आज विश्व मजदुर दिवस : राष्ट्रपतिदेखि प्रचण्डसम्मले दिए यस्तो शुभकामना
काठमाडौँ : आज विभिन्न कार्यक्रम गरी १३० औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाइदैछ ।
यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइदैछ । यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले शुभकामना शन्देश दिएका छन् ।
नेपाली श्रमिकको अवस्थामा सुधार आउने राष्ट्रपतिको विश्वास
राष्ट्रपति भण्डारीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा आएकाले नेपाली श्रमिकको अवस्थामा महत्वपुर्ण सुधार आउने विश्वास व्यक्त गरेकी छन् । ‘सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा सङ्कल्प सार्थक तुल्याउन श्रम क्षेत्रको सुधारका दिशशामा सरोकारवाला पक्षहरु केन्द्रीत हुनेमा म विश्वस्त छु । यसस अवसरमा संघीयता कार्यान्वयनमा श्रमिकले खेल्दै आएको अहम् भुमिकाका लागि हार्दिक धन्यवाद दिन चाहान्छु’ राष्ट्रपतिले आफ्नो शुभकामना शन्देशमा भनेकी छन् ।
श्रमशक्तिलाई दक्ष र व्यवसायिक बनाऊ : उपराष्ट्रपति
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजीवी वर्गको आर्थिक सामाजिक जीवनमा सकारात्मक परिवर्तन नआएसम्म समृद्धि सम्भव नभएको बताएका छन् ।
उपराष्ट्रपति पुनले समृद्ध नेपाल सुखी नेपाली अभियानका लागि सवै श्रमजीवी वर्ग समृद्ध, सुखी र खुशी हुनुपर्नेमा जोड दिएका छन् । उनले प्रत्यक श्रमिकलाई उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको भन्दै देशको मुख्य सामाजिक आर्थिक शक्तिका रुपमा रहेको श्रमशक्तिलाई दक्ष र व्यवसायिक बनाउन र स्वदेशमै रोजगारी अभिबृद्धि गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मे १ गौरवमय दिन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्न प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । आजको दिन हरेक वर्ष संसारभरका मजदूरहरुले विशेष उत्सव मनाउने गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले मे १ लाई गौरवमय दिनको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले सन्देशमा यस गौरवमय दिनको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीवहिनी एवं दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना प्रकट गरेका छन् ।
नेपालको राजनीतिक र सामाजिक परिवर्तनका लागि मजदुर वर्गले गरेको योगदानको प्रधानमन्त्री ओलीले उच्च सम्मान प्रकट गरेका छन् । ‘राजनीतिक-सामाजिक परिवर्तनको ध्येयका साथ भएका नेपालका हरेक संघर्षको घडीमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका छन्’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ, ‘मे दिवसको यस अवसरमा म नेपालको लोकतान्त्रिक आन्दोलनमा काँधमा काँध मिलाउँदै युगान्तकारी राजनीतिक-सामाजिक परिवर्तन हासिल गर्न श्रमजीवी वर्गले पु¥याएको योगदानप्रति उच्च सम्मान प्रकट गर्दछु ।’
सरकारले श्रमजीवीहरुको हक-अधिकार सुनिश्चित गर्दै श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयन गराउने क्रममा श्रमिकहरुको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशतले वृद्धि गरी सकेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । ‘श्रम ऐनकै व्यवस्थावमोजिम श्रमिकहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी नियमावली र कार्यविधिसमेत तयार भइसकेको छ’, प्रधानमन्त्री ओलीको सन्देशमा भनेका छन् ‘पूर्व प्रतिवद्धताअनुरुप सरकारले आगामी आर्थिक बर्ष देखि लागु हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा गरिसकेको छ ।’
समाजवादको आधार तयार गर्न प्रचण्डको जोड
त्यस्तै १३० औं विश्व मजदुर दिवसको अवसरमा नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश जारी गर्दै देश विदेशमा रहेका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष मई १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइन्छ ।
नेपालमा वि।स। २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, १० वर्षे महान् जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनको प्रतिफल नै वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र हो ।
‘परिवर्तन पछिको वर्तमान सरकार र हाम्रो पार्टीले संवैधानिक र कानुनी पूर्वाधार तयार गर्दै विकास र समृद्धिलाई उच्च प्राथमिकतामा राखेको छ । श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिष्ट सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको छ’ प्रचण्डको शुभकामना शन्देशमा उल्लेख छ ।
उनले अबको लक्ष्य भनेको नै देशको समृद्धिसँगै कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषण सहित समाजवादको आधार तयार पार्नु भएको बताएका छन् ।