Logo
२३ भाद्र २०८१, आईतबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१९ गतेसम्मका लागि चीनको राजकीय भ्रमणमा राष्ट्रपति, विमानस्थलमा बिदाई गर्नेको लर्को (फोटोफिचर)

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री र गृहमन्त्रीले बिदाइ गर्नुभयो ।

सो अवसरमा मन्त्रिगण, सांसद, सरकारका विशिष्ट कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो । भ्रमणका क्रममा राष्ट्रपति बेइजिङमा आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुनुहुनेछ । साथै राष्ट्रपति भण्डारीले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका अवसरमा नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । राष्ट्रपति भण्डारीले वरिष्ठ चिनियाँ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेइजिङ प्रस्थान गर्ने क्रममा राष्ट्रपतिले सान्सी प्रान्तको राजधानी सियानको भ्रमण गर्नुहुनेछ भने स्वदेश फर्कदा चीनको स्वशासित क्षेत्रको राजधानी ल्हासाको भ्रमण गर्नुहुनेछ । उहाँले ती दुवै प्रान्तका राजनीतिक नेताहरूसँग भेटवार्तासमेत गर्नुहुनेछ ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी हुनुहुन्छ । राष्ट्रपति भण्डारी यही वैशाख १९ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ।

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्