Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अब देशलाई भरपर्दो विकल्पको लागि राजा सहितको प्रजातन्त्र नै ठिक हुनेछ’

रोल्पा : कम्युनिष्ट उद्गम थलो रोल्पामा राजसंस्थाको माग बूलन्द हुनु बद्लिदो राजनीतिक चाहनाको रुपमा ग्रहण गरिएको छ । राजा सहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्रको पक्षमा नारा लगाएर राप्रपा (संयुक्त) समर्थकहरुले बजार परिक्रमा गर्दा यस्तै विश्लेषणहरु सतहमा आएका छन् ।

राप्रपा (संयुक्त) रोल्पा जिल्ला कार्य समितिको आयोजनामा सम्पन्न आमसभामा २७ जनाले नेकपा र नेका परित्याग गरी पार्टी प्रवेश समेत गरे । नयाँ नेपालमा नेता मात्र मोटाउने काम गर्यो भन्दै राष्ट्रवादी आन्दोलनले विकल्प दिन्छ भन्ने विश्वास लिएर राप्रपा (संयुक्त) मा प्रवेश गरेको नवप्रवेशीहरुको भनाई थियो ।

‘विद्यमान व्यवस्थाले जनतालाई जन्मे देखिनै ३३ हजार रुपैयाँ ऋण बोकाएको छ । प्रजातन्त्र, मानव अधिकारमाथि नियोजित आक्रमण भइरहेको छ । यसरी मुलुक, अर्थतन्त्र चल्न सक्दैन । देशले भरपर्दो विकल्प खोजेको छ, राजा सहितको प्रजातन्त्र नै त्यो विकल्प हुनेछ,’ राप्रपा (संयुक्त) कार्य सम्पादन समितिका सदस्य राजाराम श्रेष्ठले आमसभालाई सम्बोधन गर्दै भने ।

जनताको अपेक्षा राप्रपा (संयुक्त) ले पूरा गर्नेछ भन्दै कार्य सम्पादन समिति सदस्य राजेन्द्र गुरुङले भने, ‘नेता मोटाउने, जनता दुब्लाउने बेथिति निमिट्यान्न पार्दै राजा सहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र देशमा कायम गर्नु अपरिहार्य भएको छ । जनअपेक्षा बमोजिमको विकल्प राष्ट्रवादी आन्दोलनले दिनेछ ।’ माओवादी जनयुद्धको उद्गम थलो रोल्पामा जनताले धेरै दुख र कष्ट भोगेका छन् । जनयुद्धको नारा दिने नेता र परिवार बेस्सरी मोटाएका छन् । नयाँ नेपालले देशलाई हित गरेन भन्ने विचार स्थानीयबाट सुन्न पाइयो भन्दै द्वन्द्व पिडितको पिडा सम्बोधन गर्ने प्रण नेता रुपसिंह थापाले गरे ।

सम्बोधनकै क्रममा उनले भने, राष्ट्रवादी आन्दोलनमा आन्दोलन भित्रबाटै सत्ता, डलर र यूरोमा बिकेर विगतमा धोका भएकोले होशियारी अपनाउनु पर्दछ । स्वार्थीहरुबाट राष्ट्रवादीहरु हच्किएका छन् । अवाञ्छित तत्व अहिले पनि सलबलाएका छन् । त्यसैले विश्वासिलो परीपाटी र नेता आवश्यक भएको हो । समयले काँचुली फेर्दै छ । क्रान्तिको नाममा जनताले धोका पाए, त्यसैले ठोस निकास खोजेका छन्, जिल्ला अध्यक्ष अमर बहादुर थापाले भने । ‘समयको गति बुझेर हामीले विकल्प दिनु पर्दछ । हिजो जस्तो सत्तामा लोभिने प्रवृतिले काम दिदैन । रत्नपार्कको चटके जस्तो हैन, राष्ट्र, जनता र राष्ट्रियताप्रति समर्पित अभियान आवश्यक छ,’ उनले भने ।

युवा नेता गोपी ढकालले गणतन्त्रको संविधानलाई उत्कृष्ट भन्दै कुर्सीमा लोभिने कामले राष्ट्रवादी आन्दोलन तुहाउने काम भयो । नत्र भने, जनताले चाहेको राजा सहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र स्थापित भइसक्ने थियो । ‘कार्यकर्ताको भावना लत्याएर, नेतृत्वले ठूलो धोका र षड्यन्त्र गरे । सौदाबाजीमा सिद्धान्त बेच्ने दुभार्गपूर्ण काम गरे ।’

सोही अवसरमा लुङ्ग्री गाउँपालिकास्थित राप्रपा (संयुक्त) को जिल्ला कार्य समितिको कार्यालयको उद्घाटन गरिएको थियो । बजार परिक्रम गर्दे र्याली आमसभामा परिणत भएको थियो । राप्रपा (संयुक्त) को शक्ति प्रदर्शनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राजसंस्था सहितको प्रजातान्त्रिक व्यवस्थाप्रति बढ्दो आकर्षणको रुपमा हेरिएको छ । बद्लिदो राजनीतिक परिवेशको संकेत भन्ने बुझाई छ ।

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्