श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको संख्या २९० पुग्यो, ३७ जना विदेशी नागरिक

बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा २४ जनालाई पक्राउ गरेको छ । शोकमा डुबेको श्रीलङ्कामा एक दशकपछि भएको यस्तो शक्तिशाली बिस्फोटमा संलग्न रहेकाहरुको बारेमा जानकारी सार्वजनिक गरेको छैन । र कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएका छैनन् ।
राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली बिस्फोट भएको थियो । बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट जनधनको ठूलो क्षति भएको बताएका छन् ।
बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए । दश दिन अगाबै चेतावनी दिइएको थियो श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महत्वपूर्ण चर्चहरुमा आत्मघाती आक्रमण हुनसक्ने भन्दै चेतावनी (अलर्ट) जारी गरेका थिए ।

एनटीजे श्रीलङ्कामा सक्रिय अतिवादी मुस्लिम सङ्गठन हो र यो सङ्गठनका बारेमा गत वर्षमात्र जानकारी आएको थियो । यस सङ्गठनले गत वर्ष बौद्धमूर्तिहरुको तोडफोड गरेको पाइएको थियो । श्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आक्रमणको पूर्व सूचना पाएर पनि सुरक्षा निकायले पर्याप्त सतर्कता अपनाउन नसकेकामा सुरक्षा निकायको आलोचना गर्नुभएको छ । तर उहाँले अहिले सरकारको पहिलो दायित्व मृतक र घाइतेको उचित व्यवस्थापन तथा शान्ति सुरक्षाको प्रबन्ध रहेको बताउनुभयो । (रासस-एएफपी)
