Logo
२४ बैशाख २०८१, सोमबार
(April 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसभा चुनाव : सीमावर्ती नाका बन्द, भारतीय मतदाता काँकडभिट्टामा अलपत्र

भद्रपुर (झापा) :  झापालगायत पूर्वी नेपालका विभिन्न जिल्लामा अस्थायी रुपमा बसोबास गर्ने र मजदुरी पेशामा आवद्ध भारतीय नागरिक भद्रपुर नाकाबाट धमाधम घर फर्किंदैछन्। काकँडभिट्टा नाकाबाट भने उनीहरुलाई जान रोक लगाइएको छ।

झापासँग जोडिएको भारतको पश्चिम बंगाल र बिहारको सीमावर्ती जिल्लामा बिहीबार (अप्रिल १८ तारिक) मा हुने लोकसभा निर्वाचनमा मतदान गर्न नेपालमा रहेका भारतीय नागरिक घर फर्किन थालेका हुन्। निर्वाचन हुनु ४८ घण्टाअघि नै नेपाल-भारत जोड्ने झापाका सीमावर्ती नाका मंगलबार बेलुकादेखि शिलबन्दी गरिएको छ। काँकडभिट्टा र भद्रपुर नाकाको मेची पुलबाट आवतजावत बन्द गरिएको छ। काकँडभिट्टा पश्चिम बंगालसँग जोडिएको छ भने भद्रपुर पश्चिम बंगाल र बिहारसँग जोडिएको नाका हो।

यता भद्रपुर नाकाबाट भारतीय सुरक्षाकर्मीकै सहकार्यमा बुधबार बिहान नेपालबाट भारत फर्किने भारतीय नागरिकलाई पेन कार्ड, आधार कार्ड वा मतदाता परिचय पत्रको आधारमा भारत जान दिइएको छ। ‘हामी प्लाइउड उद्योगमा काम गर्छौं,’ भारतीय नागरिक मोहम्मद आलमले भने, ‘लोकसभा निर्वाचनमा मतदान गर्न घर फर्किन लागेका हौँ, बोर्डर बन्द भएको बिषयमा थाहा छैन।’ साहुले छुट्टी नदिएकाले बुधबार घर फर्किन लागेको उनले थपे। ‘मेची पुलबाट कुनै पनि सवारीसाधन आवतजावत गर्न दिएका छैनौँ,’ प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले भने, ‘भारतीय प्रहरीको आग्रह बमोजिम भारतीय नागरिकलाई परिचयपत्र हेरेर पुलबाट पैदल जान दिइरहेका छौ।’ बिहीवार निर्वाचनका दिन आवतजावतमा पूर्ण रुपमा बन्देज लगाइने उनले भने।

भद्रपुर-गलगलिया नाकामा तैनाथ भारतीय सुरक्षाकर्मीले पनि अति आवश्यक नागरिकलाई परिचय पत्रको आधारमा आउन दिइरहेको देखियो। उता काँकडभिट्टा नाका पश्चिम बंगलासँग जोडिएकाले शिलबन्दी गरिएको छ। ‘भारतीय नागरिकले परिचयपत्र देखाए पनि प्रवेश गर्न नदिने भारतीय सुरक्षाकर्मीले जानकारी गराएकाले मेची पुलबाट आवतजावत गर्न दिएका छैनौँ,’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले भने, ‘नेपाली नागरिक भारतमा अलपत्र परेका छन्।

मतदान गर्न हिँडेका भारतीय नागरिक काँकडभिट्टामै अलपत्र परेका छन्।’ ‘ अघिल्लो बर्षहरुमा चुनावको एक दिनअघि परिचयपत्रको आधारमा भारतीय नागरिकलाई जान दिने चलन रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए। तर, यसबर्ष भारतीय सुरक्षाकर्मीले नै रोक लगाएको छ। बिरामी बोकेका एम्बुलेन्सलाई मात्र भारत जान दिने भारतीय सुरक्षाकर्मीको सहमति जनाएको छ।

प्रकाशित मिति: Apr 17, 2019

प्रतिक्रिया दिनुहोस्