Logo
४ आश्विन २०८१, शुक्रबार
(April 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको प्रदर्शनले विपी राजमार्ग सवारी आवागमन ठप्प

सिन्धुली : विपी राजमार्गसँगै जिल्लाभर शनिबार बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ। प्रहरीले दोषीलाई कारवाही नगरी छाडेको भन्दै नेपाली कांग्रेस सिन्धुलीले सवारी आवागमन बन्द गराएको हो।

तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने प्रतिबद्धता जनाएकामा गत राति नै छाडेकाले दोषीलाई कारवाहीको माग गर्दै सवारी आवागमन अवरुद्ध पारिएको नेपाली कांग्रेस सिन्धुलीका सचिव दीपककुमार घिमिरेले जानकारी दिए ।

दोषीलाई कारवाहीको माग गर्दै कांग्रेसका कार्यकर्ताहरुले प्रदर्शनमा उत्रिएपछि विपी राजमार्गअन्तर्गत भिमान, शान्तिनगरचोक, खुर्कोट, नेपालथोक र जिल्लाका भित्री सडक हरिहरपुरगढी गाउँपालिकाको झनझने, दुधौली, भिमस्थान, मध्यपहाडी लोकमार्गको ग्वालटारलगायतका दर्जनौं स्थानमा सवारी आवागमन अवरुद्ध भएको छ ।

दिउँसो यस विषयमा जिल्ला कार्यसमितिको बैठक बस्ने र थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने सचिव घिमिरेको भनाइ छ। नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता मधु भनिने सिद्धिबहादुर कटुवालमाथि गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षमै चैत २८ मा दुर्व्यवहारसहित हातपात गरेको आरोप लागेको छ ।

सडक निर्माण समिति तीनपाटन-१ बेलघारीमा अनियमतिता भएको गुनासो आएको र अनुगमनपश्चात समितिको पैसा निकासी हुने प्रक्रिया चलिरहँदा कटुवालले हातपात गरेको गाउँपालिका अध्यक्ष मगरको आरोप छ । कटुवाल उपभोक्ता समितिको सदस्यसमेत नरहेको र असम्बन्धित व्यक्तिले आफूमाथि आक्रमण गरेकाले कारवाही गर्न उनले शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरी आग्रह गरेका थिए।

प्रकाशित मिति: Apr 13, 2019

प्रतिक्रिया दिनुहोस्