Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामुदायिक विद्यालय अभिभावकको मन जित्दै : तीन वर्षमा थपिए तीन गुणा बढी विद्यार्थी

पोखरा : अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका अवस्थामा पोखरा महानगरपालिका-१३ आर्वास्थित रतन पाण्डे माध्यमिक विद्यालयले भने गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी अभिभावकको मन जित्दै गएको छ । विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाइका साथै आवश्यक भौतिक पूर्वाधार समेतको उचित व्यवस्थापनका कारण विद्यालयप्रतिको आकर्षण बढ्दै गएको हो ।

विद्यार्थी सङ्ख्या घट्दै जानथाले पछि शैक्षिक वर्ष २०७४ मा जम्मा ८२ विद्यार्थी रहेको विद्यालयमा गुणस्तरीयता अभिवृद्धि, अङ्ग्रेजी माध्यमलगायतका कारणबाट २०७५ मा उक्त सङ्ख्या बढेर १८० पुगेको थियो । विद्यालयमा यस वर्ष थप १०० विद्यार्थी थप्ने लक्ष्य राखिएको प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिए । ‘विद्यालयमा शिक्षाको गुणस्तरीयता वृद्धिका साथै भौतिक पूर्वाधार निर्माण समेतलाई जोड दिएका छौँ,’ उनले भने, ‘विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठनका साथै कम्प्युटर विषयको कक्षा सञ्चालन गरिएको छ ।’

विद्यालयबाट अघिल्लो वर्ष सम्पूर्ण विद्यार्थीलाई निःशुल्क विद्यार्थी पोशाक वितरण गरिएको र यस वर्ष पनि पोशाक प्रदान गर्ने लक्ष्य राखिएको छ । विद्यालयमा भारत सरकारको सहयोगमा निर्मित २४ कोठे पक्की भवनका साथै पुस्तकालय, नेट इन्टरनेटको सुविधासहितको कम्प्युटर ल्याब, विज्ञान प्रयोगशालाका साथै अध्यापनका लागि प्रोजेक्टरको व्यवस्था गरिएको छ ।

विद्यालयले बाल विकास कक्षाका विद्यार्थीलाई लक्षित गरी निःशुल्क खाजाको व्यवस्थासमेत गरेको जानकारी दिँदै उहाँले गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको बर्ताए । विद्यार्थीको सुविधालाई लक्षित गरी यसै वर्षदेखि विद्यालयमा बसको व्यवस्था गरिएको छ । ‘पोखरा बजारबाट जम्मा ६ किमी दूरीमा विद्यालय रहेकाले बजारमा आर्थिक अभावका कारण पढ्नबाट वञ्चित विद्यार्थीलाई समेत पढ्ने अवसर प्रदान गर्ने हाम्रो लक्ष्य छ’, उनले भने, ‘आवासीय रुपमा नै पढ्न चाहने विद्यार्थीका लागि विद्यालयमा छात्रावास सञ्चालन गर्ने दीर्घकालीन योजना छ ।’

विद्यालयका विद्यार्थी समाजका विभिन्न स्थानमा उच्च ओहोदामा पुगिसकेका छन् । राजनीतिक क्षेत्रमा पूर्वसभामुख तारानाथ रानाभाटदेखि प्रशासकीय निकायका उच्च ओहोदामा विद्यालयका विद्यार्थी पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराज बरालले जानकारी दिए ।

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्