Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीमा तस्करको समाचार लेखेलगत्तै पत्रकारकी छोरी अपहरण

बुटवल : रुपन्देहीमा गोरु तस्करको समाचार लेखेको रिसमा स्थानीय एक पत्रकारकी छोरीलाई अपहरण गरि झण्डै १० घण्टापछि नेपाल भारत सिमा क्षेत्रमा हात खुट्टा बाँधेर छाडिएको अवस्थामा फेला पारिएको छ । रुपन्देहीको लुम्बिनी क्षेत्रबाट पत्रकारिता गर्दै आएका पत्रकार विन्दु चौहानकी १८ वर्षीया छोरी ममता चौहान बुधबार बिहान नेपाल भारत सिमानमा पर्ने लुम्बिनी साँस्कृतिक नगरपालिका–११ को गहुँबारीमा फेला परेकी हुन् ।

उनी हिँड्न र बोल्न नसक्ने सुस्त मनस्थितिकी किशोरी हुन् । राती करिब १ बजेसम्म उनी बाबुआमा नजिकैको खाटमा सुतेकी थिइन् । खुल्ला गोठ जस्तो घर भएकोले उनलाई तस्करहरुकै समूहले अपहरण गरेको परिवारले दाबी गरेका छन् । गएराती खाटमा सुताएकी छोरी बिहान नभेटेपछि खोजी कार्य सुरु भएको थियो ।

उनलाई कसैले अपहरण गरेको चौहान परिवारको दाबी छ । उनी आफै हिँडेर वा घर्सेरसमेत त्यस स्थानसम्म पुग्न नसक्ने चौहान परिवारले भनाई छ । पत्रकार चौहानले लुम्बिनी क्षेत्रमा रहेर निरन्तर नेपालबाट भारततर्फ हुने गोरु तस्करीको समाचार लेख्दै आएका छन् । सोही कारण तस्करहरुले पटक-पटक पत्रकार चौहानलाई धम्की दिँदै आएका थिए । चौहानलाई मानसिक रुपले तर्साउन अपाङ्ग छोरीलाई अपहरण गरेको अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी प्रमुख शंकर पोखरेलले उनलाई भारतीय सिमानाको गहुँखेतमा फेला पारि स्वास्थ्य जाँचका लागि अस्पतालमा पठाइएको बताए । रुपन्देही जिल्ला प्रहरी प्रमुख एसपी ह्दय थापाले घटनाबारे अहिले नै अपहरण भन्न नमिल्ने भन्दै अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति: Apr 3, 2019

प्रतिक्रिया दिनुहोस्