Logo
८ असार २०८२, आईतबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार र विप्लव समूह आमने–सामने : सरकार नियन्त्रण गर्ने विप्लव प्रतिकार गर्ने

काठमाडौं : विप्लव समूहप्रति आक्रामक बनेको सरकारले चैत महिनाभित्र विप्लव समूहका गतिविधिलाई नियन्त्रणमा लिएरै छोड्ने दाबी गरेको छ। आइबार प्रतिनिधिसभालाई सम्वोधन गर्दै र सोमबार नेकपाको संसदीय दलको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी ओलीले विप्लव समूहको अतिवादी विध्वंसात्मक गतिविधि सरकारलाई सैह्य नहुने चेतावनी दिए।

विप्लव समूहले प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालगायतका नेतालाई मार्ने योजना बनाएको बन्दै सरकारले विप्लव समूहमाथि फागुन २८ गते प्रतिबन्ध लगाएको थियो।

सरकारी प्रतिवन्धपछि विप्लवका नेता तथा कार्यकर्ता पक्राउ पर्न थालेका छन्। पछिल्लो पटक मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वलीसहितका नेताहरु समेत पक्राउ परेका छन् ।सोमबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपाले हिंसा परित्याग नगरे नियन्त्रणमा लिने सरकारको नीति रहेको जनाए।

उनले चन्द नेतृत्वको नेकपालाई राष्ट्रिय राजनीतिको मुल धारमा ल्याई छाड्ने प्रतिवद्धता जनाए। त्यसका लागि सो समूहले हिंसा परित्याग नगरे सरकारले नियन्त्रण गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।तर विप्लव समूहले आफूमाथि  आफूमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा गरेको छ । उसले चैतभित्र प्रतिबन्ध हटाउन माग गरेको छ । नभए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने उसको चेतावनी छ ।

सोमबार  विप्लवले वक्तव्य जारी गर्दै पक्राउ परेका आफ्ना नेता कार्यकता रिहाईको माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन्।
१४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द गर्ने विप्लवको विज्ञप्तिमा उल्लेख छ । विप्लव समूहले १९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने बताएको छ । ‘चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रमविरुद्ध प्रबिन्ध र आम हड्तालको तयारी’ विप्लवको वक्तव्यमा भनिएको छ।

विप्लवले आफूमाथि लगाएको प्रतिबन्ध फुकुवा नगरे कडा आन्दोलनका कार्यक्रम घोषणा गरेपनि विप्लव समूह यतिबेला रक्षात्मक अवस्थामा पुगेको छ। विप्लवका नेता कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् भने सरकारको मनोवल उच्च भएको छ।

प्रकाशित मिति: Mar 26, 2019

प्रतिक्रिया दिनुहोस्